मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ०७:१६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१ फागुनदेखि त्रिविमा पूर्ण रूपमा विद्युतीय हाजिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ०७:१६:००

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १ फागुनदेखि पूर्ण रूपमा विद्युतीय हाजिरी (इ–हाजिरी) को व्यवस्था गरेको छ । त्रिवि कार्यकारी परिषद्ले विद्युतीय हाजिरीसम्बन्धी व्यवस्था गरी शिक्षक–कर्मचारीले हस्तलिखित प्रणालीको सट्टा सूचना प्रविधि प्रयोग गरी हाजिरी गर्नुपर्ने व्यवस्था गरेको हो । १ फागुनदेखि हस्तलिखित हाजिरी पूर्ण रूपमा खारेज गर्ने परिषद्ले निर्णय गरेको छ । 

विद्युतीय हाजिरीको व्यवस्थाविपरीत तलब–भत्ता भुक्तानी गरे सम्बन्धित शिक्षक, कर्मचारी, भुक्तानी दिने तत्कालीन समयका लेखा प्रमुख र निकाय प्रमुखबाट असुल गर्ने निर्णय भएको छ । कस्ता कर्मचारीले दिनमा एकपटक वा दुईपटक हाजिर गर्ने भन्नेसमेत व्यवस्था छ । कार्यकारी परिषद्ले गत पुसमै यो निर्णय गरे पनि अहिले व्यवस्थाबारे सर्कुलर गरेको हो ।

आफ्नो क्याम्पस तथा कार्यालयमा हाजिरी भएको अवस्थामा शिक्षकहरूले सोही सिफ्टमा आफ्नै कार्यालयको अन्य काममा सहभागी हुन, परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयले तोकेका परीक्षासम्बन्धी र अन्य विविध काममा संलग्न हुन, विश्वविद्यालयका अन्य निकायका प्राज्ञिक कार्यमा सहभागी हुन, अध्ययन अनुसन्धानसम्बन्धी कार्यमा संलग्न हुन, सेमिनार, गोष्ठी, कार्यशालाजस्ता प्राज्ञिक कार्यमा संलग्न हुन पाउनेछन् । तर, अन्य निजी तथा सार्वजनिक संस्थाका काममा पूर्वस्वीकृतिविना संलग्न हुन नपाउने व्यवस्था छ । 
ल पदाधिकारीलाई पुरानै व्यवस्था

त्रिवि पदाधिकारीका लागि भने इ–हाजिरीको व्यवस्था अनिवार्य गरिएको छैन । हाजिरीसम्बन्धी व्यवस्थामा भनिएको छ, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कुलपतिबाट नियुक्त विश्वविद्यालयका पदाधिकारीले हाजिरी पूर्ववत् निकायबाटै वा इ–हाजिरीको माध्यमबाट गर्न सक्नेछन् ।’ निकाय प्रमुखले विद्युतीय मेसिन बिग्रेमा, काबुबाहिरको असहज परिस्थिति परेमा वा माथिल्लो निकायमा जानुपर्ने भई कार्यालयमा उपस्थित हुन नसक्ने वा अन्य औचित्यपूर्ण कारण परी इलेक्ट्रोनिक डिभाइसमा हाजिरी गर्न नसक्ने अवस्था भए सोको कारणसहित अभिलेखमा स्वयंले प्रमाणित गरी राख्नुपर्नेछ ।