मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १९ बिहीबार १०:२१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई के खुवाउने, के नखुवाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १९ बिहीबार १०:२१:००

बालबालिकाको मानसिक तथा शारीरिक विकासका लागि पौष्टिक आहार महत्वपूर्ण हुन्छ । खासगरी, पाँच वर्षमुनिका बालबालिकाका लागि झनै महत्वपूर्ण छ । यो अवधिमा मस्तिष्कको विकास तीव्र रूपमा हुने भएकाले पोषण भएका आहार खुवाउनुपर्छ । प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त खानेकुरा आवश्यक पर्छ । 

डा. अनिलराज ओझा, बालविकास विशेषज्ञ पाटन अस्पताल

फलफूल र सागसब्जी
फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ । केमिकल फर्टिलाइजर प्रयोग नगरी उत्पादन गरिएका सागसब्जी तथा अर्गानिक फलफूल खान उपयुक्त हुन्छ । फलफूल भिटामिनको राम्रो स्रोत हो । 
अन्न
चामल, गहुँ, मकै, जौ र कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ । यसले शारीरिक विकास छिटो हुने हुन्छ । बजारबाट किनेर जंकफुड खुवाउनु हुँदैन । 

दूधजन्य पदार्थ
बच्चाको मस्तिष्क विकासका लागि दूधजन्य खाद्यवस्तु एकदमै लाभदायी हुन्छन् । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ, दिमागको संकेत लिने र तत्काल प्रतिक्रिया जनाउने क्षमता बढाउँछ । दहीमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ ।

प्रोटिन
प्रोटिनयुक्त खानेकुरा जस्तै– माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । यसले मांसपेशी बलियो बनाउँछ । 

स्वस्थ पेयपदार्थ
पानीको उपयुक्त प्रयोगले बच्चाको पाचन प्रकिया सहज राख्छ । बच्चालाई उमालेको शुद्ध पानी खुवाउनुपर्छ । धेरै चिसो पानी पनि खुवाउनु हुँदैन । 

के नखुवाउने ?
- बालबालिकाले फास्टफुड र जंकफुड खान रुचाउँछन् । तर, यस्ता खानेकुराबाट बच्चालाई टाढा राख्नुपर्छ । किनकि, यस्ता खाद्यान्नमा अत्यधिक नुन, स्याचुरेटेड फ्याट, चिनी, कम मात्रामा मात्र फाइबर र पौष्टिक तत्व पाइने भएकाले बच्चाको वृद्धिविकासमा असर पुग्छ । 

- कोल्डड्रिंक्स र बजारमा किनिएको चिनी मिसिएको जुसले बालबालिकाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । तसर्थ, बच्चालाई यस्ता पेय पदार्थबाट टाढा राख्नुपर्छ । 

- बढी चकलेट तथा अस्वस्थ खानाले दाँतमा किरा लाग्ने तथा आन्द्राको रोग लाग्ने सम्भावना हुन्छ । स्वस्थ खानेकुरा मात्रै खुवाउनुपर्छ ।