न्युयोर्क सहरका मेयर ल गार्डिया आफ्नो सहृदयता तथा सुशासनका लागि चर्चित थिए । अपराधसँग सम्बन्धित मुद्दामा उनको निकै चासो थियो । यसबाट आफ्नो नगरको वास्तविकता थाहा पाइन्छ भन्ने उनको बुझाइ थियो । यस्ता मुद्दामा हुने बहसमा उनी कहिल्यै अनुपस्थित हुँदैनथे ।
एक दिन प्रहरीले एउटा चोरलाई पक्राउ गरेर उनीसामु पेस गर्यो । उसलाई रोटी चोरेको आरोप लगाइएको थियो । जब उसलाई चोरी गर्नुको कारण सोधियो, उसले जवाफ दियो– मेरो परिवार भोकै थियो । म बेरोजगार छु । परिवारमा कमाउने अर्को कोही छैन । त्यसैले मैले रोटी चोरी गर्नुपर्यो । एउटा चोरले यति प्रस्टसाथ आफूले चोरी गरेको स्विकारेको देख्दा मेयर गार्डिया निकै प्रभावित भए । यसअघि कुनै पनि चोरले यति सजिलै अपराध स्विकारेको उनले देखेका थिएनन् ।
मेयरले दुवै पक्षका कुरा ध्यानपूर्वक सुने । आरोपीले चोरी गरेको स्विकारेको हुनाले अन्त्यमा मेयर गार्डियाले उसलाई १० डलरको जरिवाना सुनाए । साथै, उनले तत्कालै खल्तीबाट १० डलर निकालेर आरोपीलाई दिँदै भने– ल यो रकम लिएर तिमी भर्खरै मैले तोकेको जरिवाना चुक्ता गर । साथै, एउटा निर्दोष मानिसले भोक शान्त पार्न रोटी चोर्न बाध्य हुनुपर्ने समाजमा बस्ने अपराध गरेको हुनाले यहाँ उपस्थित सबैले राज्यलाई ५० सेन्ट जरिवाना तिर्नुपर्ने फैसलासमेत गर्छु ।