मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १८ बुधबार ११:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा 

Read Time : > 1 मिनेट
२०७९ माघ १८ बुधबार ११:४३:००

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ। शाहीले तत्कालीन स्वास्थ्य कार्यालय जुम्लाको प्रमुख हुँदा औषधि खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख शाहीसहित जिल्लाका  अन्य कार्यक्रममा सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद तथा दाखिला आदेश तयार गरी बिल मात्र खरिद गरी कार्यालयको सञ्चालन बजेट खर्च गरेको भन्ने उजुरी परेको थियो । 

सो उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख शाही र स्टोर किपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्ससमेतका मेडिकल सामग्री खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ । 

मेडिकल सामग्रीहरू खरिद गरेको झुट्टा बिल भर्पाई कागजातहरू तयार गरी भुक्तानी लिने–दिने कार्य गरेको पुष्टि हुन गएको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ। आरोप दायरपत्रमा भनिएको छ, ‘निजहरू कार्यालय प्रमुख शाही र स्टोर किपर खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएको देखिएको छ। 

उनीहरूलाई बिगो ८१ हजार आठ सय २२ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐनको दफा ८ (१) बमोजिम नै बिगो असुलउपर गर्न माग दाबी गरिएको छ। 

तत्कालीन कार्यालय प्रमुख शाहीले खरिद नगरेको उक्त औषधि स्टोरमा दाखिलासमेत गरेको देखिएपछि स्टोरकिपर खनाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ।

मुद्दा दायर भएसँगै प्रमुख शाही पदबाट निलम्बनमा परेका छन्। उनी १३ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन्। स्रोतका अनुसार उनी मुद्दा लाग्नेबित्तिकै काठमाडौं गइसकेका छन् ।