मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १८ बुधबार ०८:३५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सफ्टवेयरमा दैनिकजसो समस्या आउँदा सयौँ विद्यार्थी मारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १८ बुधबार ०८:३५:००

केही समययता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका कार्यालयका सफ्टवेयरमा दैनिकजसो प्राविधिक समस्या देखिने गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिन प्रयोग गर्दै आएको सफ्टवेयरमा दैनिकजसो समस्या आउने गरेको हो । प्राविधिक समस्याले सयौँ विद्यार्थी र सेवा प्रदान गर्ने कर्मचारीले सास्ती खेप्नुपरेको छ ।

‘नो अब्जेक्सन लेटर’का लागि अनलाइन फारम भर्ने र अनलाइनबाटै अप्रुभ गरी विद्यार्थीले रकम तिरेपछि एनओसी प्रिन्ट गरेर दिने व्यवस्था छ । तर, सफ्टवेयरमा समस्या हुँदा कहिले आवेदन भर्न नपाउने र कहिले कर्मचारीले डकुमेन्ट भेरिफाइड गर्न नसक्ने समस्या देखिने गरेको छ । यस्ता समस्याले सानोेठिमीस्थित एनओसी शाखामा सधैँ भिडभाड हुने गरेको छ । 

शाखा प्रमुख वासुदेव वस्तीले एनओसीको प्रगति विवरण हरेक दिन शिक्षा मन्त्रालयमा पठाउने गरेका छन् । ‘सफ्टवेयरमा अनलाइन फारम भर्दा समस्या आएकाले फारम भर्नेको संख्यामा भारी गिरावट आएको तथा यसबारे गुनासो गर्नेको संख्या बढेको छ,’ सोमबारको प्रगति विवरणमा भनिएको छ । सोमबार अनलाइन आवेदन भर्नेको संख्या २८५ थियो । मंगलबार पनि ११ बजेसम्म सफ्टवेयरमा समस्या आएको थियो । समस्याका कारण सोमबार साँझपछि मंगलबार बिहान ११ बजेसम्म जम्मा १७६ जनाले आवेदन भर्न सकेका थिए । सफ्टवेयरमा मर्मतपछि आवेदन भर्नेको संख्या धेरै बढेको छ । 

आइतबार पनि त्यस्तै समस्या देखिएको थियो । एनओसीको दैनिक प्रगति विवरणमा सफ्टवेयरको समस्याले दुई घन्टासम्म सेवा स्थगित गरेको उल्लेख छ । सफ्टवेयरको समस्याले अपेक्षित संख्यामा विद्यार्थीको आवेदन भेरिफाई गर्न नसकेको जनाइएको छ ।

गत शुक्रबार मन्त्रालयलाई पठाएको प्रगति विवरणमा समेत सफ्टवेयरकै गुनासो गरिएको छ । सफ्टवेयरको समस्याले बिहीबार बेलुका र शुक्रबार बिहान अनलाइन भेरिफिकेसनमा समस्या भएको गुनासो उल्लेख छ । केही दिनअघि सरकारी सर्भर डाउन भएयता यस्तो समस्या देखिन थालेको छ । 

टाइमकार्डले सेवा प्रवाहमा सुधार
विद्यार्थीहरूको निकै भिड हुन थालेपछि वैदेशिक अध्ययन अनुमति शाखाले विद्यार्थीलाई टाइमकार्डको व्यवस्था गरेको छ । एक सातादेखि कार्यान्वयनमा आएको यो व्यवस्थाले सेवामा सुधारसमेत आएको छ । शाखाबाट टाइमकार्ड लिएर आउने विद्यार्थीले सहज ढंगले आधा घन्टाको समयभित्र सेवा दिने गरेको प्रमुख वस्तीले बताए । अहिले सो शाखामा विद्यार्थीको भिड कम देखिन थालेको छ । सफ्टवेयरको समस्या नभएको अवस्थामा भने सहज रूपमा सेवा पाउन थालेका छन् ।