मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १८ बुधबार ०६:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उडान क्षेत्रमा नयाँ सर्कुलर ल्याउने क्यानको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १८ बुधबार ०६:२५:००

देशमा हवाई दुर्घटना कम गर्ने उद्देश्यसहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षासम्बन्धी नयाँ सर्कुलर जारी गर्ने भएको छ । यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटना भएपछि नियमनकारी निकायले आन्तरिक उडानलाई थप सुरक्षित बनाउन बाध्यकारी नियम लागू गर्ने तयारी गरेको हो ।

आन्तरिक यात्रामा हवाई सुरक्षाको प्रत्याभूति बढाउन नयाँ सर्कुलर जारी गर्ने तयारी भइरहेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । अब वायुसेवा कम्पनीहरूसँग आवश्यक छलफल गरेर सर्कुलरलाई अन्तिम रूप दिइनेछ ।  क्यानले उडान सुरक्षालाई ध्यानमा राखेर तयार गरेको नयाँ सर्कुलर महानिर्देशक अधिकारीले पारितसमेत गरेको स्रोतको भनाइ छ ।

हरेक महिनाको अन्तिम साता हवाई क्षेत्रका सम्बन्धमा विस्तृत समीक्षा हुने गर्छ । सोही बैठकले वायुसेवा कम्पनीसहित सबै उड्डयन सरोकारवालाले तत्काल प्रभावकारी रूपमा लागू गर्ने गरी नयाँ निर्देशन जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो । पोखराको दुर्घटनाका सम्बन्धमा देश तथा विदेशका विज्ञसँग छलफल हुँदा नयाँ नियम बनाएर लागू गर्ने विषयमा छलफल भएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । अहिले सर्कुलरका विषयमा आन्तरिक रूपमा छलफल मात्र भएको उनको भनाइ छ ।

नयाँ नियममा पहाडी तथा हिमाली भेगका सट टेक अफ ल्यान्डिङ (स्टल) एयरपोर्टमा उडान गर्दा जहाज जमिनको सतहबाट पाँच सय फिटभन्दा माथि हुनुपर्ने व्यवस्था गरिँदै छ । त्यस्तै, सुगम क्षेत्रमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान गर्दा जहाज जमिनको सतहभन्दा एक हजार फिटमाथि हुनुपर्ने व्यवस्था गरिँदै छ ।

हाल स्टल रुटमा हुने उडानमा जहाज कति उचाइमा हुनुपर्ने भनेर स्पष्ट व्यवस्था छैन भने ट्रंक रुटमा उडान गर्दा जहाज जमिनको सतहबाट पाँच सय फिट माथि हुनुपर्ने व्यवस्था छ । यस्तै, क्यानले इन्टुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रविधिजडित विमानस्थलमा भिजुअल फ्लाइट रुल (भिएफआर) उडान गर्न रोक लगाउने भएको छ । आइएफआर भएका विमानस्थलमा उड्ने सबै जहाजले अनिवार्य आइएफआर उडान गर्नुपर्ने बाध्यकारी नियममा बनाइँदै छ । अहिले बाध्यकारी नहुँदा वायुसेवाहरूले मौसम सफा हुँदा सबै विमानस्थलमा भिएफआर उडान गर्दै आएका छन् । 

अहिले दुईवटा अन्तर्राष्ट्रियसहित आठवटा विमानस्थलमा आइएफआर उडान उपकरण जडान गरिएको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थल रहेका छन् । १७ पुसदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै आइएफआर उडान उपकरण सञ्चालनमा ल्याएको छैन ।

 नयाँ नियममा वायुसेवा कम्पनीका सबै परीक्षक पाइलटहरूले सम्बन्धित जहाज निर्माता कम्पनीमा गएर सीप परीक्षण गर्नुपर्ने व्यवस्था गरिँदै छ । यस्तै, सम्भावित उडान चालकदलको थकान जोखिमबाट बच्न विस्तारित उडान कर्तव्य समयसीमाको प्रावधानसमेत खारेज गर्ने तयारी हुँदै छ । पाइलटले दैनिक आठ घन्टा वा आठ अवतरण गर्न मात्रै पाउने नियम बनाइँदै छ । हाल दैनिक १० घन्टा वा १० वटासम्म अवतरण गर्न पाउने व्यवस्था छ ।

गत शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा हवाईविज्ञले आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढेको बताएका थिए । नेपाल वायुसेवा निगमका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले आइकाओको मापदण्ड पूर्ण पालना गर्न सकेमा हवाई दुर्घटना घट्दै जाने ठोकुवा गरे । क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरूको दक्षता वृद्धि हुनुपर्ने र संरचनागत सुधारका कामहरू पनि तुरुन्तै गर्नुपर्ने बताए ।