मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १८ बुधबार ०६:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मोबाइल बैंकिङ, वालेट तथा क्युआर असारभित्रै अन्तरआबद्ध हुनुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १८ बुधबार ०६:१७:००

अब मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल वालेट, क्युआरलगायतका विद्युतीय भुक्तानीका उपकरणहरूले असार मसान्तभित्र एक–आपसमा अन्तरआबद्धता कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब विदेशबाट गरिने विद्युतीय कारोबारबारे बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै निगरानी गर्नुपर्ने भएको छ । नेपालीहरू विदेश जाँदा मोबाइल बैंकिङलगायतका उपकरण प्रयोग गर्दै आए पनि नियमन गर्ने छुट्टै व्यवस्था थिएन ।  

भुक्तानी कारोबारको कार्यमा प्रयोग हुने सम्पूर्ण कम्प्युटर तथा उपकरणमा अडिट ट्रायलको व्यवस्था गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले विद्युतीय कारोबार र प्रणालीलाई सुरक्षित बनाउन समयअनुसार नयाँ निर्देशन जारी गरेको बताए । 

रेमिट्यान्स कम्पनीहरूलाई स्वदेशी कारोबारमा पूर्ण रूपमा रोक लगाइएको छ । यसअघि रेमिट्यान्स कम्पनीहरूले स्वदेशभित्र एक दिनमा प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म रेमिट्यान्स कारोबार गर्न पाउँथेँ । तर, अब त्यस्ता कम्पनीले स्वदेशभित्र रेमिट्यान्स कारोबार गर्न नपाउने कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।  

 डिजिटल कारोबारको सीमा बढाइयो 
अब मोबाइल बैंकिङबाट एक दिनमा तीन लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । यसमा पहिला दुई लाख रुपैयाँको सीमा थियो । इन्टरनेट बैंकिङबाट भने दैनिक २० लाख रुपैयाँ कारोबार गर्न सकिने पुरानै व्यवस्था कायम राखिएको छ । यस्तै, अब बैंक खाताबाट वालेटमा दैनिक दुई लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने भएको छ । यस्तै, वालेटबाट पनि बैंक खातामा दैनिक एक लाख रुपैयाँ नै ट्रान्सफर गर्न सकिनेछ । पहिला यी दुवैमा ५० हजार रुपैयाँको सीमा थियो ।

 अन्तरएटिएम कारोबार शुल्क घटाइयो 
राष्ट्र बैंक अन्तरएटिएम कारोबारमा लाग्ने शुल्क पनि १५ रुपैयाँ मात्रै लाग्ने भएको छ । पहिला फरक बैंकको एटिएम बुथबाट नगद झिक्दा प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्थ्यो । तर, महिनामा दुईपटकसम्म निःशुल्क रूपमा अन्तरएटिएम कारोबार गर्न पाइने सुविधा हटाइएको छ ।