मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १७ मंगलबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुर्घा मालिका मन्दिर निर्माण, धार्मिक र कृषि पर्यटन विकासको सम्भावना

Read Time : < 1 मिनेट
२०७९ माघ १७ मंगलबार १६:०६:००

गुल्मीको मुसिकोट नगरपालिका- ६ को प्रसिद्ध कुर्घा मालिका मन्दिर निर्माण गरिएको छ। मुसिकोट नगरपालिका र लुम्बिनी प्रदेश सरकारको साझेदारीमा ६६ लाखमा मन्दिर निर्माण गरिएको हो।

मन्दिरको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरे। सोही अवसरमा विष्टले संघ र प्रदेशबाट कुर्घा मालिकालगायतका धार्मिक पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण, जीर्णोद्धारसहितको विकासमा थुप्रै काम गरिरहेकाले स्थानीय तहले कृषि र पर्यटनलाई जोडेर उद्यम सिर्जना गर्नुपर्नेमा जोड दिए।

केही वर्षअघिसम्म धार्मिक महत्व बोकेको कुर्घा मालिकासम्म सडकको पहुँच नभए पनि अहिले सडक पुगिसकेको छ। संघीयतापछि कुर्घा मालिका संरक्षण र विकासको आशा जागेको स्थानीयहरू बताउँछन्। खरले छाएको मन्दिरमा अहिले करोडौँका काम भएको मुसिकोट नगरपालिका- ६ का वडाध्यक्ष खडगबहादुर खड्काले बताए। उनका अनुसार ११ करोडको डिपिआर गरेर मन्दिर, वाल, पार्किङ, वृक्षारोपणलगायतका काम भएकाे छ।

मालिकानजिकै जिल्लामै पहिलो स्वाँरा गुरुङ होमस्टे पनि छ। कुर्घा मालिकासँगै मुसिकोट दरबार, सालिमेलगायतका धार्मिक स्थल र कफीसँग जोडेर कृषि पर्यटनलाई अगाडि बढाउने योजना रहेको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले बताए।
 
चिच्याएर वर माग्ने धार्मिक स्थल
मालिकाका बारेमा कतिपय पुराणहरूमा चर्चा गरिएको छ। स्थानीयका अनुसार मालिका मन्दिर द्वापर युगको अन्त्यतिर स्थापना भएको हो। मालिका भगवती प्रकट भएर माल्याश्री नामका ऋषिलाई बरदान दिएपछि मालिकाको उत्पति भएको बताइन्छ। अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्याश्री ऋषिको आश्रम रहेको विश्वास छ।

पहाडको भित्र मालिका भगवती भएको धार्मिक विश्वाससहित अहिले पनि यहाँ आएर चिच्याएर वर माग्ने चलन छ। यस मन्दिरमा बैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्रम बस्ने, भजनकिर्तन गर्ने, सुनीमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको मालिकाका जानकार त्रिभुवन माविका शिक्षक दधिराम शर्मा पंगेनीले बताए।