मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तेजराज भट्ट काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०८:५६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिक उन्मुक्तिका सांसद चौधरी आगजनी मुद्दाका दोषी रहेको खुलासा

Read Time : > 2 मिनेट
तेजराज भट्ट, काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०८:५६:००

फौजदारी कसुरमा ६ महिना कैद सजाय पाएका चौधरी फरार सूचीमा, पक्राउ गर्न प्रहरीलाई दबाब

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी आगजनीसम्बन्धी मुद्दामा अदालतले तोकेको सजाय भुक्तान नगरी फरारको सूचीमा रहेको खुलेको छ । कैलाली जिल्ला अदालतले आगजनी मुद्दामा करिब १० वर्षअघि नै चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद हुने फैसला गरेको पाइएको छ । 

तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले ९ वैशाख ०७० मा गरेको फैसलामा साबिक बलिया गाविस– ३, का अरुणकुमार चौधरी, परशुराम चौधरी र कोटातुल्सीपुर गाविस– १, का वीरबहादुर चौधरीलाई कैद सजायसँगै कुल आठ लाख १९ हजार चार सय २३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको थियो । दोषी ठहर भएकामध्ये वीरबहादुरलाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको हो । उनी गत ४ मंसिरमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् ।

साबिक बलिया गाविस– ५, का महादेव बजगाईंले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै तीनजनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो । बजगाईंले ५ भदौ ०६७ मा किटानी जाहेरी दिएका थिए । तर, उनीहरू पक्राउ परेनन् । आगजनी फौजदारी कसुरअन्तर्गतको सरकारवादी मुद्दा भएकाले सरकारी वकिलको कार्यालयले २ भदौ ०६७ मा उजुरीमा किटान गरेका तीनैजनालाई विपक्षी बनाएर जिल्ला अदालतमा मुद्दा अभियोजन गरेको थियो । 

५ भदौ ०६७ मा ट्रयाक्टरमा आगजनी गरेको अभियोग लागेका अरुणकुमार चौधरीसहित तीनजनाविरुद्धको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद र आठ लाख बिगो असुल्ने सजाय गरेको थियो, तीनैजना सुरुदेखि नै फरार थिए

म्याद तामेलीसमेत नबुझेका प्रतिवादी बहसका क्रममा अदालतमा हाजिर पनि नभएको देखिएको जिल्ला अदालतका अधिकृत नवराज पाण्डेयले बताए । कैलालीको चिसापानीस्थित गोरांगे खोलाबाट ढुंगा लिएर लम्की जाने क्रममा बजगाइको लु.२त २११ नम्बरको ट्रयाक्टरमा स्थानीय धोबेनी खोलानजिक आगजनी गरिएको मुद्दाको विवरणमा रहेको उनले जानकारी दिए ।

पक्राउ परेका वीरबहादुरले बिगोसँगै कैदबापतको रकम तिर्न अदालतमा गत बिहीबार निवेदन दिएका थिए । तर, नैतिक पतन भएको फौजदारी मुद्दा भएकाले उनलाई कारागार पठाइएको जिल्ला अदालतका अधिकृत नवराज पाण्डेयले बताए । अदालतले फैसला कार्यान्वयन गर्न प्रहरीलाई पठाउने गरेको र दोषी ठहर भएकालाई पक्राउ गर्ने–नगर्ने प्रहरीको विषय भएको उनले बताए । यो मुद्दामा प्रतिवादी हाजिर नभएपछि सरकारी वकिलले मात्र बहस गरेको पाण्डेयले बताए । 

पटक–पटक चुनाव लडे, उजुरी परेन
फैसलाबारे जानकारी नहुँदा गत मंसिरमा भएको चुनावको क्रममा चौधरीको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेन । पीडित महादेव बजगाईंले समेत फैसलाबारे आफू यसअघि अनभिज्ञ रहेको बताए । लम्की–चुहा नगरपालिकाका निवर्तमान मेयर रहेका बजगाईंले अहिले सार्वजनिक भएपछि मात्र आफूले उजुरी दिएका तीनजनालाई सजाय भएको जानकारी पाएको बताए । ‘मेरो ट्रयाक्टरमा आगजनी गरिएपछि ५ भदौ ०६७ मा मैले किटानी जाहेरी दिएको थिएँ । बहसका क्रममा त्यतिवेला म एकपटक अदालत पनि पुगेँ, तर फैसला भएको मलाइ थाहा थिएन,’ बजगाइले नयाँ पत्रिकासँग भने, ‘अदालतले पनि जानकारी दिएन । अहिले सार्वजनिक भएपछि मात्र थाहा पाएँ ।’ 

०७४ को निर्वाचनमा एमालेका उम्मेदवार बजगाईंसँग फोरम लोकतान्त्रिकबाट चौधरीले मेयरमा प्रतिस्पर्धासमेत गरेका थिए । त्यही वर्ष उनी कांग्रेसको उम्मेदवारका रूपमा कैलाली २ को प्रदेश सभा निर्वाचन क्षेत्र (२) बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । तर, पराजित भए । गत ४ मंसिरमा भने उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर विजयी भए । 

सांसद चौधरीले फैसलाविरुद्ध उच्च अदालत दिपायलमा पुनरावेदन गर्न लागेको उनीनिकट स्रोतले जनाएको छ । पटक–पटक सम्पर्क गर्दा सांसद चौधरीले भने फोन उठाएनन् । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले मुद्दाबारे कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीमा छलफल गर्ने बताए । ‘मुद्दाबारे यसअघि जानकारी थिएन, अब कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीमा छलफल गर्छौँ ।’ उनले भने । 

प्रहरी भन्छ– अध्ययन गर्दै छौँ
जिल्ला अदालतले भने म्याद तामेलीमा अभियुक्त हाजिर नभएकाले यो मुद्दा पुनरावेदन हुन नसक्ने दाबी गरेको छ । जिल्ला अदालतका अधिकृत नवराज पाण्डेयले मुद्दा दर्तापछि अदालतले हाजिर हुन दिएको ३० दिनको समयभित्र प्रतिवादी उपस्थित नभए फैसलाको पुनरावेदन गर्ने व्यवस्था त्यसवेला नरहेको बताए ।

सांसद नै फरारको सूचीमा रहेको खुलेपछि पक्राउ गर्न प्रहरीलाई दबाब परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले सांसद जोडिएको विषय भएकाले कसरी अगाडि बढ्ने भन्नेबारे केन्द्रमा समन्वय भइरहेको बताए ।