मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ माघ १७ मंगलबार ०८:३२:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

डायनाको गाउन ६ लाख डलरमा बिक्री

Read Time : > 1 मिनेट
२०७९ माघ १७ मंगलबार ०८:३२:००

 बेलायतकी पूर्वराजकुमारी स्वर्गीय डायनाको प्रतिष्ठित बैजनी रङको मखमली गाउन लिलामीमा ६ लाख डलरमा बिक्री भएको छ । राजकुमारीको पोसाकले पूर्वअनुमानित मूल्यको पाँच गुणाभन्दा बढी मूल्यांकन प्राप्त गर्दै सबैभन्दा महँगो लिलामीमा बिक्री भएको शाही गाउनको कीर्तिमान बनाएको छ । 

लिलामी न्युयोर्कस्थित सोथबाइजले आयोजना गरेको थियो । ‘प्रिन्सेस अफ वेल्स’ डायनाले यो गाउन सन् १९९१ मा आधिकारिक शाही तस्बिरका लागि र सन् १९७७ मा भ्यानिटी फेयर फोटोसुटमा लगाएकी थिइन् । सोथबाइजको वेबसाइटमा उल्लेखित विवरणअनुसार यो गाउन वेल्सकी राजकुमारी डायनाको स्पेनिस–पोर्चुगिज शैलीको पहिरन संग्रह हो । घन्टीफुल आकारको रेशमदार मखमली यो विनाबाहुले स्कर्टमा पछाडि ढाडको भागमा तीनवटा बटम राखिएका छन् । यो पहिरनको डिजाइन भिक्टर एडेलस्टेनले गरेका थिए । 

लिलामीघरको वेबसाइटमा गाउनको अनुमानित मूल्य ८० हजार डलरदेखि एक लाख २० हजार डलर राखिएको देखिन्छ । लिलामीमा चार बोलपत्रकर्ताले प्रतिस्पर्धा गरेका थिए । अन्ततः यो गाउन सबैभन्दा धेरै ६ लाख चार हजार आठ सय डलरको बोली सकार्नेलाई बेचिएको सोथबाइजलाई उद्धृत गर्दै फोब्सले लेखेको छ ।

ब्रिटिस डिजाइनर भिक्टर एडेलस्टेनले यो पोसाक आफ्नो सन् १९८९ को शरद ऋतु संस्करणकै एक हिस्साका रूपमा डिजाइन गरेका थिए । मूल डिजाइनको स्केचमा यो पोसाक मुकुटको आकार थियो, जसले यो विशेषतः राजकुमारी डायनाकै लागि बनाइएको जनाउँछ । भिक्टर एडेलस्टेन लामो समय राजकुमारी डायनाको फेसन डिजाइनर रहेका थिए ।

उनले डायनाका लागि सन् १९८२ देखि सन् १९९३ सम्म पोसाक बनाएका थिए । गाढा बैजनी रङको यो मखमली पोसाक पहिलोपटक सन् १९९७ मा २४ हजार १५० डलरमा लिलामी भएको थियो । साँझको पार्टीमा लगाउने यो पोसाक बेच्ने निर्णय राजकुमारीले सोही वर्ष गरेकी थिइन् । भ्यानिटी फेयरका अनुसार लिलामीबाट आएको पैसा एड्स क्राइसिस ट्रस्ट र रोयल मार्सडेन अस्पताललाई गएको थियो । 

सोथबाइजको फेसन एवं एसोसरिजहरूको विश्वव्यापी प्रमुख तथा वरिष्ठ उपाध्यक्ष सिन्थिया होल्टका अनुसार पोसाकले सन् १९८० को दशकको फेसनलाई प्रतिनिधित्व गर्छ । ‘यो गाउन कतिपय हिसाबले १०० वर्ष पहिले लगाइने गाउनसँग मिल्दोजुल्दो देखिन्छ, र यो गाउनका केही संस्करण छन्, जुन आज पनि ठ्याक्कै उस्तै छ,’ सोथबाइजले उनको भनाइ उद्धृत गर्दैै आफ्नो बेइसाइटमा लेखेको छ ।