मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०६:११:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१३ वर्षअघि नै कुष्ठरोग निवारण तर, बर्सेनि दुई हजारभन्दा बढी नयाँ रोगी 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०६:११:००

राष्ट्रियस्तरमा कुष्ठरोग निवारण गरिएको १३ वर्ष भइसक्दा पनि बर्सेनि दुई हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । जनस्वास्थ्य समस्याको रूपमा रहेको कुष्ठरोगलाई ५ माघ ०६६ मा प्रति १० हजारमा एकभन्दा कम व्यक्तिमा मात्रै देखिएको भन्दै निवारण भएको घोषणा गरिएको थियो । तर, हाल प्रति १० हजारमा ७.८१ जनामा देखिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी प्रति १० हजारमा १.४३ जनामा कुष्ठरोग पाइएको छ । ०७९/८० मा देशभर दुई हजार दुई सय ८५ कुष्ठरोगी थपिएकामा झन्डै ४० प्रतिशत अर्थात् नौ सय १० जना मधेस प्रदेशका छन् । मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिवेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेसकेन्द्रित रहेर जनचेतना तथा निवारणका कार्यक्रम गरिरहेका छन् । 

त्यस्तै, लुम्बिनी प्रदेशमा प्रति १० हजारमा १.१२ जनामा कुष्ठरोग पुष्टि भएको छ । तथ्यांकअनुसार लुम्बिनीमा पाँच सय ८१, प्रदेश १ मा तीन सय ४५, सुदूरपश्चिममा दुई सय पाँच र कर्णालीमा ६८ जनामा कुष्ठरोग पुष्टि भएको छ । गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलनामा कुष्ठरोगीको संख्या न्यून छ । 

अपांग भइसकेपछि मात्रै अस्पताल पुग्दा दीर्घकालीन समस्या 
समयमै उपचार गरे पूर्ण निको हुने भए पनि अपांगता भइसकेपछि मात्रै अस्पताल आउने बिरामीले दीर्घकालीन समस्या भोग्नुपरेको चिकित्सकहरू बताउँछन् । कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा. प्रसन्न नापितका अनुसार कुष्ठरोगबाट उच्च प्रभावित रहेका क्षेत्रहरूमा स्वास्थ्य तथा जनचेतनाका अभावले समयमै अस्पताल नपुग्दा केही बिरामीमा अपांगता देखिएको छ । गत वर्ष मात्रै दुई हजार दुई सय ८५ जनामा कुष्ठरोग पत्ता लागेकोमा ३.१९ प्रतिशत बिरामीमा अस्पताल पुग्दासम्म शारीरिक अपांगता देखिइसकेको थियो । 

‘कुष्ठरोगको प्रारम्भिक लक्षणलाई बेवास्ता गरेर उपचारका लागि पहल नगर्दा समस्या देखिएको छ । विशेषगरी कुष्ठरोगबाट प्रभावितलाई सामाजिक अपहेलना सहनुपर्ने भएकाले पनि रोगी खुल्न चाहँदैनन् । यसकारण अपांगता भएपछि मात्रै अस्पताल पुग्दा दीर्घकालीन समस्या बन्ने गरको छ,’ उनले भने ।

उपचारको पहुँचमा नपुग्नुको मुख्य कारणमध्ये कुष्ठरोग लाग्नबाट बचाउन दक्ष जनशक्ति, औषधि वा भ्याक्सिन उपलब्ध नहुनु पनि रहेको बताउँछन् डा. नापित । उनले भने, ‘रोग पत्ता लागेपछि उपचारका लागि प्रभावकारी औषधि हामीसँग उपलब्ध छन्, तर कुष्ठरोग मान्छेबाट मान्छेमा सर्ने भएकाले जोखिम समूहमा रोग लाग्नबाट बचाउन प्रभावकारी कुनै उपाय छैन । जसका कारण बिरामीको संख्या निवारण गर्न मुस्किल भइरहेको छ ।’ यसबाहेक संक्रमणको प्रारम्भिक चरणमै कुष्ठरोग पत्ता लगाउने र उपचारका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावका कारणसमेत कुष्ठरोग निवारण सफल बन्न नसकेको विज्ञ बताउँछन् । 

अझै कुष्ठरोगमुक्त हुन सकेनन् १६ जिल्ला
कुष्ठरोग निवारणका लागि निःशुल्क औषधि र जनचेतनाका कार्यक्रम चलिरहेका भए पनि १६ जिल्ला अझै प्रभावित छन् । झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोगमुक्त हुन नसकेका हुन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा हाल कुष्ठरोगका बिरामी रहेको तथ्यांक छ । 

अपांग भइसकेपछि मात्रै अस्पताल पुग्दा दीर्घकालीन समस्या : डा. प्रसन्न नापित, प्रमुख, कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा

कुष्ठरोगको प्रारम्भिक लक्षणलाई बेवास्ता गरेर उपचारका लागि पहल नगर्दा समस्या देखिएको छ । विशेषगरी कुष्ठरोगबाट प्रभावितले सामाजिक अपहेलना सहनुपर्ने भएकाले पनि रोगी खुल्न चाहँदैनन् ।

यसकारण अपांगता भएपछि मात्रै अस्पताल पुग्दा दीर्घकालीन समस्या बन्ने गरेको छ । रोग पत्ता लागेपछि उपचारका लागि प्रभावकारी औषधि हामीसँग उपलब्ध छन्, तर कुष्ठरोग मान्छेबाट मान्छेमा सर्ने भएकाले जोखिम समूहमा रोग लाग्नबाट बचाउन प्रभावकारी कुनै उपाय छैन । जसका कारण बिरामीको संख्या निवारण गर्न मुस्किल भइरहेको छ ।