१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ १६ सोमबार १३:०७:००
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

पत्रकार दामोदर न्यौपानेको नवीनतम कृति ‘घरको शिक्षा’ लोकार्पण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ माघ १६ सोमबार १३:०७:००

पत्रकार दामोदर न्यौपानेको नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद् डा. विजय ज्ञवाली, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपानेलगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

अञ्जु भट्टराईले घर संस्कार सिकाइको पहिलो पाठशाला भएकाले शिक्षामा संस्कार जोडिनुपर्ने बताइन् । उनले भनिन्, ‘बालबालिकाले घरबाटै संस्कार सिक्छन् । यसका लागि अभिभावक नै सचेत हुनुपर्छ । पुस्तकको प्रमुख पात्र हार्दिक न्यौपाने मेरो आफ्नै विद्यार्थी हुनुहुन्छ । उहाँको बुबासँग सधैँ भेट भइरहन्छ । उहाँले हार्दिकको चाहना बुझ्दै सधैँ उहाँलाई सहयोग गर्नुहुन्छ । यसरी संवेगात्मक विकासमा सहयोग पुर्‍याउनु बालचाहनाअनुसार लेखिएकाले सबै वर्गका लागि उक्त पुस्तक पठनीय छ ।’

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले ‘घरको शिक्षा’ पुस्तक पुस्तकको रूपमा नभई दर्पणका रूपमा आएको अभिभावक, शिक्षक, विद्यार्थीका लागि अमूल्य रत्न रहेको बताए । उनले भने, ‘पुस्तक शिक्षक र अभिभावक सबैले पढ्नुपर्ने रहेछ । बच्चाको असीमित चाहना हुन्छ। यस्तो अवस्थामा बालबालिकासित हामीले कस्तो व्यवहार गरेका रहेछौँ, पुस्तकले आत्ममूल्यांकन गर्न सहयोग पुर्‍याउने रहेछ ।’

पुस्तकबारे बोल्ने क्रममा विजय ज्ञवालीले सबैले सुरक्षित मानिएको घर किन असुरक्षित छ भन्ने कुरा लेखकले अप्रत्यक्ष तरिकाले पुस्तकमा देखाएको बताए । ‘मैले पुस्तकलाई बाबाको आँखाबाट पनि पढेँ । यसले  बाबाको हृदय बुझ्न मद्दत पुर्‍याउने रहेछ । शिक्षक, अभिभावक र विद्यार्थी सबैले पढ्नुपर्ने रहेछ,’ उनको भनाइ थियो ।

प्राडा. विद्यानाथ कोइरालाले पुस्तकले किताब मात्रै बोक्ने प्रवृत्तिको निरुत्साहित गर्दै बालमनोविज्ञान बुझेर अभिभावकले बाल सिकाइमा अगाडि बढ्नुपर्ने बताए । ‘हामी बालबालिकामाथि आफ्नो इच्छा लादिरहेका हुन्छौँ,’ उनले भने, ‘तर, बच्चा चुलबुले हुन्छन् । उनीहरूको सिकाइ विशृंखलित हुन्छन् । तर, हामी एकोहोरो किताब रटाइरहेका हुन्छौँ। यस्तो अवस्थामा पुस्तकभन्दा आफ्नै तरिकाले सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट किताबभन्दा धेरै ज्ञान दिन सकिने रहेछ ।’

लेखक न्यौपानेले संस्कारहीनताको कारणले शिक्षा नीति असफल भएको बताउँदै संस्कारहीनताको कारणले समाज भाँडिएको र त्यसलाई ठीक ठाउँमा ल्याउन पुस्तक लेखेको बताए । ‘हामीले बालबालिकालाई घरबाटै संस्कार सिकाउनुपर्छ,’ उनले भने, ‘हिंसात्मक वातावरणमा हुर्काएका नानीहरू सामाजिक हुन सक्दैन ।’

यसअघि न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्मः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट सो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ र दासप्रथाको नयाँ रूप प्रकाशित छन् । हार्दिक न्यौपानेको आवरण रहेको उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो ।