मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १६ सोमबार १०:०७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

लालुपाते सहकारीका अध्यक्षविरुद्ध ठगी मुद्दा

सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले दियो कारबाहीको निर्देशन

Read Time : > 2 मिनेट
२०७९ माघ १६ सोमबार १०:०७:००

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवं उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउन वा असुलउपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष ०७७/७८ को लेखा परीक्षण गर्नेक्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ रुपैयाँ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउन वा असुलउपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो । 

सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सञ्चालक समितिका सबै सदस्यले साबिकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाहीका सबै प्रक्रिया गर्ने, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर गर्ने वा मालपोत कार्यालयमा रोक्का राख्ने प्रक्रिया गर्न, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजानेलगायतका १६ बुँदे निर्देशन पठाएको छ । 

कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न विनाधितो ऋण असुलउपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रक्रिया अघि बढाउन, आवश्यक परे हिनाहिनाको मस्यौटमा दोषी भएकाहरूउपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्का गर्न, पुरानो सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिलाई बोलाई हिनामिना छानबिन र विनाधितो ऋण लगानी सुरक्षित गर्ने कामका लागि सहजीकरण गर्न, कोपोमिसको पासवर्ड लिई वित्तीय विवरण अद्यावधिक गर्नेलगायतका विषय उल्लेख छ ।

लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको ९ करोड ११ लाख १७ हजार ६७८ रुपैयाँमध्ये सहकारी बैंकले धितो लिलाम गरेर आफ्नो ८० लाख रुपैयाँ असुलउपर गरेको थियो । यस्तै, पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप रु. १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ । 

गत पुस २३ देखि २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण १५ वैशाख ०७८ मा निधन भएको थियो । 

उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखेपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । 

सहकारीको नाममा खरिद गरिएको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष ०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको जनाइएको छ ।

सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । आफूहरूको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवं बचतकर्ता धनीराम नछुङले बताए ।

‘आफूहरूको बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलनबाहेक रहेन,’ उनले भने, ‘संघर्ष समितिले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत सञ्चालक समितिको घर घेराउ गर्ने, ठगी मुद्दा हाल्ने र उनीहरूको चलअचल सम्पत्ति रोक्का गर्नेसम्मको कार्यक्रम छ ।’ चार हजार पाँच सय बचतकर्ता रहेको सहकारीका बचतकर्ताले गत सोमबार नाराजुलुससहित दिक्तेल बजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।