मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ माघ १५ आइतबार १९:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजस्व अनुसन्धान अधिकृत रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ माघ १५ आइतबार १९:४२:००

विशेष अदालतले राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ६ महिना कैद सजाय सुनाएको छ। उनलाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गर्दै जरिवानासमेत तोकिएको हो। 

विशेषको आइतबारको इजलासले उनको सम्पत्तिमध्ये ४५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको छ। 

विशेषका अध्यक्ष श्रीकान्त पौडेलका साथै सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले दिएको आदेशमा अधिकृत रिजाललाई ६ महिना कैद सजाय तोकिएको हो। ‘४६ लाख ४८ हजार रुपैयाँ बिगो असुलउपर गर्ने र सोहीबमोजिम बिगो भराउने फैसला भएको छ,’ विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले भने। 

रिजालमाथि ६ फागुन २०७५ मा विशेष अदालतमा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेकोमा ४ वर्षपछि फैसला आएको हो। उनी विभिन्न कार्यालयमा कार्यरत रहँदा झन्डै ३ करोड रुपैयाँ गैरकानुनी तवरले आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। 

रिजालले कात्तिक २०४० देखि सरकारी सेवा प्रवेश गरी पुस २०७५ सम्म विभिन्न पदमा रही काम गरेका थिए। उनले खानेपानी तथा ढल निकास विभाग, भूमि सुधार तथा व्यवस्था मन्त्रालय, राजस्व अनुसन्धान विभागलगायतमा काम गरेका थिए।

सो अवधिमा उनको वैध आय १ करोड ९६ लाख ८६ हजार रुपैयाँ रहेकोमा उनको विभिन्न स्थानमा लगानी र सम्पत्ति ४ करोड ९४ लाख रुपैयाँभन्दा बढी देखिएको थियो। 

यसरी आयभन्दा व्यय २ करोड ९७ लाख बढी देखिएपछि सोबमोजिमको बिगो र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको थियो। तर, अदालतले भने साढे ४६ लाख रुपैयाँ मात्र अवैध आर्जन भएको ठहर गरेको छ। उनकी पत्नी स्वस्थानी रिजाललाई पनि जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो।