मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १५ आइतबार ११:१५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

लालुपाते सहकारीका अध्यक्षविरुद्ध ठगी मुद्दामा कारबाही गर्न निर्देशन

Read Time : > 2 मिनेट
२०७९ माघ १५ आइतबार ११:१५:००

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवं उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउने वा असुलउपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष ०७७/०७८ को लेखापरीक्षण गर्ने क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको रु. आठ करोड ४६ लाख ८९ हजार ६ सय ७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउन वा असुलउपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो ।

कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरूले साबिकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाहीका सबै प्रक्रिया गर्ने, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर गर्ने वा मालपोत कार्यालयमा रोक्का राख्ने प्रक्रिया गर्न, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजानेलगायतका १६ बुँदे निर्देशन पठाएको छ ।

कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न विनाधितो ऋण असुलउपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रक्रिया अघि बढाउन, आवश्यक परे दोषी भएकाहरउपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्का गर्न, पुरानो सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिलाई बोलाइ हिनामिना छानबिन र विनाधितो ऋण लगानी सुरक्षित गर्ने कामका लागि सहजीकरण गर्न, कोपोमिसको पासवर्ड लिई वित्तीय विवरण अद्यावधिक गर्नेलगायतका विषय उल्लेख छन् ।

संस्थाका कर्मचारीलाई कार्यालय खोलेर बस्ने वातावरण सिर्जना गर्ने, सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वयको वातावरण सिर्जना गर्न, आर्थिक वर्ष ०७८/८९ को लेखापरीक्षण सम्पन्न गरी साधारणसभा वा विशेष भेला बोलाएर हिनामिना र ऋण असुलीको प्रक्रिया गर्न, समितिले गरेका प्रगति मासिक रूपमा रजिस्ट्रार कार्यालयलाई र नगरपालिकामा पठाउन, संस्था सुधारको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई सोको मासिक प्रगति समीक्षा गर्नेलगायतका बुँदाहरू सञ्चालक समितिलाई दिइएको निर्देशनमा उल्लेख छ ।

लेखापरीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको रु. नौ करोड ११ लाख १७ हजार ६ सय ७८ मध्ये सहकारी/बैंकले धितो लिलाम गरेर आफ्नो रु. ८० लाख असुलउपर गरेको थियो । यस्तै, पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप रु. १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ ।

गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ ०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

जोशीको कोभिड– १९ को संक्रमणका कारण ०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्दा बचत अपचलन भएको विषय बाहिरिएको हो । 

सहकारीको नाममा खरिद गरिएको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको जनाइएको छ ।

सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । सहकारीका तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि बन्द रहेको सहकारीले आफूहरूको रु. सात करोड बढी बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरू चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरूको बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवं बचतकर्ता धनीराम नछुङले बताए । ‘बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन । सम्बन्धित निकायले चासो नदिएपछि हाम्रो अन्तिम विकल्प आन्दोलनबाहेक रहेन,’ उनले भने, ‘संघर्ष समितिले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत सञ्चालक समितिको घर घेराउ गर्ने, ठगी मुद्दा हाल्ने र उनीहरूको चलअचल सम्पत्ति रोक्का गर्नेसम्मको कार्यक्रम छ ।’

चार हजार पाँच सय बचतकर्ता रहेको सहकारीका बचतकर्ताले गत सोमबार नारा–जुलुससहित दिक्तेल बजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । ‘हाम्रो बचत फिर्ता गर, सञ्चालक समिति भाग्न पाउँदैन, ऋणीहरू होसियार, सहकारीका प्रबन्धक रुकु जोशीलाई सार्वजनिक गर, अध्यक्ष अनिल जोशी मर्दा संस्था मर्दैन’जस्ता प्लेकार्डसहित बचतकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।