Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार ०९:५३:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

उपत्यकाभित्र विकास निर्माण गर्दा समन्वय नगरे कारबाही

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार ०९:५३:००

भौतिक पूर्वाधारमन्त्री श्रेष्ठको प्रश्न– पिआइडी र विद्युत् प्राधिकरणले जिम्मेवारी पूरा किन गर्दैनन् ? 

चौडा सडकमा भर्खरै गरिएको कालोपत्रे टल्किएको छ । सवारीसाधन तीव्र गतिमा हुइँकिरहेका छन् । तर, त्यही सडकको दायाँ–बायाँ फुटपाथ भने गायब छन् । अलिअलि देखिएका फुटपाथमा पनि विद्युत् प्राधिकरणका अग्ला पोल, बक्सा र तार ठडिएका छन् । यो दृश्य हो, बाँसबारी बुढानीलकण्ठ सडकको । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा सडकको यो दुर्दशाले ठाउँ पाएको थियो ।

नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री

विद्युत् प्राधिकरण र पिआइडीले अहिले धेरै दुःख दिएको छ, न समन्वय गर्छ, न त राम्ररी काम गर्छ, उनीहरू बिगारिरहेका छन्, हामीले गाली खानुपरेको छ 

मन्त्रालयको सभाहलमा भएको छलफल तथा अन्तक्र्रियामा सडक विभागका प्रतिनिधिले डिस्प्लेमार्फत उक्त तस्बिर देखाएका थिए । हेर्दा चिल्लो र चौडा सडक, तर फुटपाथ नै अवरोध भएको तस्बिर देखेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ जिल्ल परे । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवानिवास जाने यो सडकको धेरै ठाउँको फुटपाथमा अवरोध छ । ‘सडकको दायाँ–बायाँ बटुवा कहाँबाट हिँड्ने ?’ मन्त्री श्रेष्ठले प्रश्न गरे, ‘अन्य निकायले सडक बनाउँछन्, विद्युत् प्राधिकरणले भत्काउने र धराप थाप्ने काम किन गर्छ ?’ 

कार्यक्रममा मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, महानगरका मेयर बालेन्द्र साह, सडक विभागका महानिर्देशन अर्जुनजंग थापा, बागमती सभ्यता एकीकृत विकास समितिका अध्ययक्ष उद्धव तिमिल्सिना, ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य, सडक डिभिजन काठमाडौंका नारायण न्हुरे, पिआइडीका आयोजना निरीक्षक राजेन्द्र सापकोटालगायतको उपस्थिति थियो । 

उत्यकाभित्रका विकास तथा पूर्वाधार निर्माणमा संलग्न सरकारी निकायबीच समन्वय नभएको भन्दै मन्त्री श्रेष्ठले सबै निकायका पदाधिकारी र कर्मचारीलाई मन्त्रालयमा बोलाएका थिए । उनीहरूलाई आ–आफ्नो क्षेत्रमा भएको काम र प्रगति विवरणसहित बोलाइएको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले सडकमा गरिने सबैखाले काममा समन्वय नभएको भन्दै सहभागी प्रतिनिधिहरूलाई र्‍याखर्‍याख्ती पारेका थिए । उनले त्यस्ता घटना नदोहोर्‍याउन चेतावनी दिए । विकासका काममा एक–अर्काबीच समन्वय हुनैपर्ने बताउँदै समन्वय नगर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिए । 

मन्त्री श्रेष्ठले उपत्यकाका अधिकांश सडकमा समस्या रहेको र आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडक, खानेपानी, विद्युत्, ढल, अवैध संरचनालगायत व्यवस्थित पार्न निर्देशन दिए । भौतिक मन्त्रालयका सचिव शर्माले सडक व्यवस्थित गर्न आनाकानी गरे मन्त्रालयले कडाइ गर्ने बताए । ‘सडकसँग सम्बन्धित कार्यमा धेरै तर्क–वितर्क नगरौँ, सबैले जिम्मेवारी पूरा गरौँ,’ उनले भने, ‘आरोप–प्रत्यारोप गरेर बस्ने वेला होइन ।’ 

समन्वयका लागि कर्मचारीको व्यवस्था गर्ने 
उपत्यकामा कुन निकायले के काम गरिरहेको छ ? सोको जानकारी लिन र समन्वय गर्न हरेक निकायले एक–एकजना प्रतिनिधि राख्नुपर्ने निर्णय बैठकले गरेको छ । कहाँ–कहाँ काम भइरहेको छ ? रिपोर्टिङ गर्ने, आवश्यक सहयोगका लागि पहल गर्ने काम एकजना छुट्टै प्रतिनिधिलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । सहभागी निकायका प्रतिनिधि पनि समन्वयकर्ता राख्न तयार भएका छन् । यसो गर्दा कहाँ, कसले काम गरिरहेको छ ? भन्ने जानकारी लिन र दिन सजिलो हुने मन्त्री श्रेष्ठको भनाइ थियो ।

दोहोर्‍याएर पाइप बिछ्याउँदा ललितपुरमा समस्यै–समस्या
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ललितपुरको आवासीय क्षेत्रमा पाइप बिछ्याउँदा गल्ती गरेको पाइएको छ । रिङरोडभित्रका भित्री बस्ती तथा गल्लीहरूमा पाइप बिछ्याउँदा कनेक्सनमा गल्ती गरेकाले दोहोर्‍याएर पाइप बिछ्याइएको पिआइडीले जनाएको छ । यसो गर्दा सबैतिर भित्री सडक बिग्रिएकाले त्यसलाई तत्काल व्यवस्थित गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । ललितपुरमा हाल १९ ठाउँमा मेलम्चीको पाइप फुटेको छ । लगनखेल र पाटनढोकामा पाइप फुट्दा सडक नै अवरोध भएको छ । 

पिआइडी र विद्युत् प्राधिकरणमाथि प्रश्नै–प्रश्न 
उपत्यकामा पछिल्लो समय सडकमा समस्या थप्ने निकाय पिआइडी र विद्युत् प्राधिकरण हुन् । यी निकायले आ–आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै बैठकमा मन्त्री श्रेष्ठले प्रश्न गरे । ‘विद्युत् प्राधिकरण र पिआइडीले अहिले धेरै दुःख दिएको छ,’ उनले भने, ‘न त समन्वय गर्छ, न त राम्ररी काम गर्छ, उनीहरू बिगारिरहेका छन्, हामीले गाली खानुपरेको छ ।’ उनले समन्वयविना अब सडक खन्न नदिइने बताए । सडक विभागलाई यसबारे थप निगरानी र समन्वय गर्न उनले निर्देशन दिए । हाल उपत्यकाका अधिकांश ठाउँमा विद्युत् प्राधिकरणले भूमिगत विद्युत् लाइन बिछ्याउने नाममा सडक अस्तव्यस्त पारेको छ । मन्त्री श्रेष्ठको भनाइमा काठमाडौं महानगरका मेयर बालेन्द्र साहले समेत सहमति जनाए । 

सडक बनाउन ३० करोडमा ठेक्का लगाइँदै 
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले महानगरभित्रका सडक व्यवस्थित गर्न ३० करोडको ठेक्का प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार हाल टेन्डर आह्वान भएको छ । यसअघि महानगरले पूर्वाधार एम्बुलेन्स ल्याए पनि त्यसबाट काम गर्न नसकिएको मेयर साहको भनाइ छ । ‘पूर्वाधार एम्बुलेन्सबाट सोचेजसरी काम भएन, अब हामी छुट्टै प्रक्रियाबाट सडक व्यवस्थित पार्दै छौँ,’ उनले भने । उनले विद्युत् प्राधिकरण र पिआइडीले गर्दा उपत्यकाका सडकमा समस्या देखिएको बताए । यी निकायले आ–आफ्नो काम गर्न सडक भत्काए पनि नबनाई छाडेको उनको भनाइ छ ।