मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
इस्मा गाउँपालिकाको केन्द्र इस्मा गाउँपालिका ५ रातामाटामा निर्माण गरिएका भवन।  
२०७९ माघ १४ शनिबार १५:५३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

इस्मा गाउँपालिका : ८० लाखका भवन अलपत्र, घर र विद्यालयबाट कार्यालय सञ्चालन !

अख्तियारमा उजुरी, अदालत धाउँदा दुई लाख २५ हजार खर्च

Read Time : > 2 मिनेट
२०७९ माघ १४ शनिबार १५:५३:००

इस्मा गाउँपालिकाको केन्द्र इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको रातामाटाका दुई भवन डेढ वर्षदेखि अलपत्र परेका छन्। १७ मंसिर ०७७ को गाउँसभाले केन्द्र टुंगो लगाएपछि तत्काल कार्यालय सञ्चालन गर्न भवन निर्माण भएका थिए।

भवनको लागि आर्थिक वर्ष ०७७-७८ मा ४० लाख र आर्थिक वर्ष ०७८-७९ मा ४० लाख गरेर ८० लाख विनियोजन गरिएको गाउँपालिकाका सूचना अधिकारी नारायण महतले जानकारी दिए। तर, केन्द्र विवादमा चार वर्ष बित्यो। 

आर्थिक वर्ष ०७७-७८ को ४० लाख जोगमाँ बिल्डर्स र आर्थिक वर्ष ०७८-७९ मा ४० लाख स्थानीय उपभोक्ता समितिमार्फत खर्च गरिएको महतले बताए। भवन निर्माण भएको डेढ वर्ष हुँदा पनि उपयोग नभएकाले भत्किन थालेका छन्। 

केन्द्रको आस : पालिकालाई जग्गा पास

गाउँपालिकाको केन्द्र निर्धारण भएपछि कार्यालय व्यावस्थापनको लागि स्थानीयले निःशुल्क जग्गासमेत दिएका छन्। तर, भवन निर्माण भएको लामो समयसम्म कार्यालय सञ्चालन नुहँदा स्थानीय आक्रोशित बनेका छन्। 

भवन निर्माणपछि सञ्चालन नभए पनि संरक्षणको अभावमा फुट्न र भत्किन थालेको इस्मा गाउँपालिका ५ की ५५ वर्षीया जिबी जिसीले गुनासो गरिन्। 

उनले नेताहरूले गाउँपालिका केन्द्र र कार्यालयको सपना देखाएपछि आफूहरूले जग्गा काटेर दिए पनि भवन अलपत्र पारेकोमा दुःख व्यक्त गरिन्।

‘अब कार्यालय सञ्चालन नभए भैँसी लगेर बाँध्छौँ। किनकि नेताले जग्गा दिएर दिएजस्तो गरेनन्,’ उनले भनिन्, ‘हामीलाई मात्रै भ्रममा पारेनन् सरकारको पैसा दुरुपयोग गरियो।’

स्थानीय आठजनाको दश रोपनी जग्गा इस्मा गाउँपालिकालाई दिएका छन्। एकजनाको बढीमा दुई रोपनीसम्म जग्गा परेको स्थानीय अगुवा रामबहादुर बिष्टले बताए।

उनले अनेक दल र व्यक्तिका स्वार्थको कारण केन्द्र व्यावस्थापन र पालिका कार्यालय सञ्चालन नगरेर भाडामा बस्नु निकै लज्जाको विषय भएको बताए।

घर, विद्यालय र वडाबाट कार्यालय सञ्चालन

इस्मा गाउँपालिकाको केन्द्रमा ८० लाखका कार्यालय सञ्चालन गर्ने भवन अलपत्र परेका डेढ वर्ष भए। तर, गाउँपालिकाले व्यक्तिको घरमा मासिक ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ। 

कार्यालयमा सेवाग्राही सजिलै उभिएर सेवा लिने कोठाहरू छैनन्। एक दर्जन पाहुना कार्यकक्षमा आए प्रमुख तथा उपप्रमुख उठ्नुपर्ने स्थिति छ। 

त्योबाहेक आनन्दपुर माविका कोठाहरुबाट पनि कार्यालयका शाखाहरू सञ्चालन गरिएको छ। माविको ब्लकमा शिक्षा, स्वास्थ्य, प्राविधिक, कृषि तथा पशु र विपत् शाखा छन्। वडा नं ५ को वडा कार्यालयबाट पञ्जीकरण र प्रधानमन्त्री रोजगार शाखा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदम अधिकारीले बताए।

अख्तियारमा उजुरी, अदालत धाउँदा २ लाख २५ हजार खर्च 

तत्कालीन लक्ष्मण बिष्ट नेतृत्वको कार्यपालिकाले मुस्किलले केन्द्र टुंगो लगाए पनि कार्यालय सार्न पाएन। उनले पूरै कार्यकाल भाडाकै भवनबाट काम चलाए।  

वर्तमान गाउँपालिका प्रमुख भगतसिंह खड्कासहितको नेतृत्व निर्वाचित भएको पनि १० महिना भए। तर, केन्द्र भएकै स्थानबाट कार्यालय सञ्चालनको सक्रियता देखिएको छैन। 

खड्काका अनुसार भवन वन क्षेत्रमा परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरी परेको छ। त्यसका विषयमा कार्यालयका कर्मचारीहरूले स्पष्टीकरण पनि दिइरहेकाले कार्यालय सञ्चालन गर्न समस्या भएको इस्मा गाउँपालिका प्रमुख खड्काले बताए। 

त्यस्तै, इस्मा गाउँपालिकाको केन्द्र विवाद दलहरूको स्वार्थ बल्झिँदै आएको छ। पहिलो नेतृत्वको गाउँ सभामा एमालेको बहुमत भए पनि सोही पार्टीकै जनप्रतिनिधि र नेताहरूमा भूगोलको स्वार्थ देखिएपछि केन्द्र विवादले चार वर्ष सकियो। 

पछिल्लो समय बहुमत गाउँसभाले इस्मा गाउँपालिकाको केन्द्र इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको रातामाटामा निर्धारण गर्यो। तर, सर्वोच्चमा मुद्दा परेकाले उजुरी उपर कार्यालय अदालत धाउँदा दुई लाख पच्चीस हजार रकमसमेत खर्च भएको छ। तर, मुद्दाको किनारा लागेको छैन। 

गुल्मीका पाँच पालिका अझै पनि भाडाका घरका बस्दै आएका छन्। उनीहरूले बर्षेनि ४२ लाख ६९ हजार कार्यालय भाडामै खर्च गर्दै आएका छन्। जिल्लाको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी, इस्मा र गुल्मी दरबार गाउँपालिका भाडाको भवनबाट कार्यसम्पादन गरिरहेका छन्। 

चन्द्रकोट गाउँपालिकाले सबैभन्दा धेरै मासिक ९७ हजार, कालीगण्डकी गाउँपालिकाले मासिक ९० हजार, गुल्मी दरबार गाउँपालिकाले मासिक ७४ हजार, मुसिकोट नगरपालिकाले मासिक ६२ हजार र इस्मा गाउँपालिकाले भाडामा मासिक ३० हजार तिर्दै आएको छ। 

अधिकांश पालिकाका भवन निर्माणाधीन छन्। कसैले ट्रस, सभाहल र केहीले साबिकका वडा कार्यालय तथा कृषि सेवा केन्द्रका कार्यालयबाट सेवा प्रवाह गरिरहेका छन्।