मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १२ आइतबार
  • Sunday, 26 March, 2023
२०७९ माघ १४ शनिबार १४:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको माघी होमस्टेमा लाटोकोसेरो उत्सव हुने

Read Time : > 1 मिनेट
२०७९ माघ १४ शनिबार १४:२२:००

कैलालीको घोडाघोडी नगरपालिका– ४ स्थित माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिलउत्सव हुने भएको छ । लाटोकोसेरो चराको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले चरा संरक्षण सञ्जाल कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा २० र २१ माघमा उत्सव हुन लागेको हो ।

उत्सवस्थलमा राखिने लाटोकोसेरो तथा हुचिलको लघुसंग्रहालयमार्फत् लाटोकोसेरो तथा हुचिल चराबारे अवलोकनकर्तालाई जानकारी दिइने आयोजकले जनाएको छ । 

त्यस्तै, लाटोकोसेरोबारे तयार पारिएको वृत्तचित्रसमेत उत्सवमा प्रदर्शनी गरिने छ । उत्सवका अवसरमा चित्रकलासँगै मनोरञ्जनका लागि परम्परागत संस्कृति तथा परम्परागत खेलकुदहरू समेत प्रदर्शन गरिने प्रकृतिका साथीहरू संस्थाका अधिकारी राजु आचार्यले जानकारी दिए ।

कैलालीमा हुने १०औँ उत्सवमा करिब १० हजार जनाले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । 
‘किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो, हुचिलको संरक्षणका लागि हरेक वर्ष उत्सव गर्दै आएका छौँ,’ आचार्यले भने, ‘यस वर्ष कैलालीमा उत्सव गर्दैर्छौँ, यसले लाटोकोसेरो संरक्षणमा सचेतना अभिवृद्धिसँगै स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमले यहाँको पर्यापर्यटनमा पनि टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’

१० वर्षअघि धादिङमा पहिलो लाटोकोसेरो उत्सव भएको थियो । त्यसयता चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलरालगायत जिल्लामा उत्सव गरिएका थिए । यस वर्ष कैलालीमा हुने उत्सवमा भारतबाट पनि संरक्षकर्मी सहभागी हुने आयोजकले जनाएको छ । 

सुदूरपश्चिममा लाटोकोसेरोको चोरीशिकारी बढेकाले सचेतना फैलाउन यसपटकको उत्सव यहाँ गर्न लागिएको आयोजकले जनाएको छ ।

तथ्यांकअनुसार विश्वभरी पाइने दुई सय २५ प्रजातिका लाटोकोसेरोमध्ये नेपालमा २३ प्रजातिको लाटोकोसेरो पाइन्छ । तीमध्ये आठ प्रजाति संकटापन्न अवस्थामा रहेका छन् । 

चोरीशिकारीसँगै आगलागी, वनविनासका कारण पनि लाटोकोसेरो संकटमा परेको संरक्षणर्की बताउँछन् । संरक्षणर्की आचार्यले चोरीसिकार प्रतिबन्ध भए पनि नेपालमा वार्षिक करिब दुई हजार लाटोकोसेरो तथा हुचिन मारिने र विभिन्न मुलुकमा अवैध रूपमा पठाउने गरिएको बताए ।

राति सक्रिय हुने लाटोकोसेरोले मुसा खाने भएकाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ । अध्ययनअनसार लाटोकोसेरोको एक परिवारले एक सिजनमा तीन हजार वटासम्म मुसा खाने गर्छन् । 

तर, मासु तथा कतिपय अन्धविश्वासका कारण लाटोकोसेरोको चोरीशिकारी हुने गरेको चरा संरक्षण सञ्जाल कैलालीका अध्यक्ष डिआर चौधरीले बताए । लाटोकोसेरोको महत्वबारे सचेतना फैलाउन उत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनले दावी गरे ।