१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २३ शनिबार ०९:०९:००
Read Time : < 1 मिनेट
अर्थ

साझा यातायात १ करोड  ७८ लाख घाटामा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २३ शनिबार ०९:०९:००

साझा यातायातले आर्थिक वर्ष ०७/७५ मा १ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि साझाले १ करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि साझा निरन्तर घाटामा गएको हो । 

साझा यातायात सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न १२औँ साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार साझाले गत वर्ष बस सञ्चालन गरेर १० करोड ११ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको देखिन्छ । त्यस्तै अन्य शीर्षकमा ३ करोड ४२ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, साझाको बस सञ्चालन खर्च मात्रै १३ करोड ५ लाख ६२ हजार रुपैयाँ रहेको छ । यसका साथै प्रशासनिक खर्च, ब्याज र ह्रास तथा कर गरेर कुल १५ करोड ३३ लाख ५८ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

०७० बाट पुनः सञ्चालनमा आएको साझा यातायातले पाँच वर्षमा दुई वर्ष मात्र नाफा कमाएको छ । आर्थिक वर्ष ०७०/७१ मा साझाले ३ करोड ६९ लाख २३ हजार घाटा व्यहोरेको थियो । ०७१/७२ मा ७२ लाख ६८ हजार नाफा गरेको साझाले ०७२/०७३ मा पनि १ करोड ९९ लाख ७२ हजार नाफा गरेको थियो । तर, ०७३/७४ मा साझा पुनः १ करोड ८२ लाख ६५ हजार घाटामा गएको थियो ।

०७० मा १६ बसबाट सेवा सञ्चालन सुरु गरेको साझासँग अहिले ५१ बस सञ्चालनमा छन् भने थप २० बस खरिद गर्ने तयारी भइरहेको अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । साझाले उपत्यकाका विभिन्न रूटसँगै लामो दूरीमा पनि बस सञ्चालन गर्दै आएको छ । साझाले अहिले काठमाडौं–बाग्लुङ, काठमाडौं–वीरगन्ज, काठमाडौं–भैरहवा र काठमाडौं–गोरखा गरी चार रुटमा लामो दूरीका बस सञ्चालन गर्दै आएको छ ।