मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १२ बिहीबार ०८:०१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफले गण्डकीको सामना गर्ने

Read Time : > 1 मिनेट
२०७९ माघ १२ बिहीबार ०८:०१:००

तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिपअन्तर्गत महिलाको भलिबल सेमिफाइनलमा नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको महिलातर्फ सबै लिग चरण समाप्तिसँगै एपिएफ र गण्डकीबीचको सेमिफाइनल भिडन्त पक्का भएको हो । लिग चरणमा सबै खेलमा जितेको एपिएफ ९ अंकका साथ शीर्ष स्थानमा रह्यो । गण्डकीले लिग चरणका सबै खेलमा पराजित भएको थियो ।

यसैगरी, अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी र न्यु डाइमन्डबीच हुनेछ । ६ अंकसहित लिगको दोस्रो स्थानमा रहेको आर्मी क्लबले तीन अंक जोडेको न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । बुधबारको खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । खेलमा एपिएफकी निरुता ठगुन्नाले प्लेयर अफ दी म्याच र सरस्वती चौधरी बेस्ट स्पाइकर घोषित भइन् ।

आयोजकमाथि न्यु डाइमन्डको कठिन जित
महिलातर्फको अर्को खेलमा न्यु डायमन्डले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको गण्डकी त्यसपछिका तीन सेटमा पराजित भयो । एक सेटले खेलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै न्यु डायमन्डले २५–१५, २५–१४ र २५–११ ले बाजी मार्‍यो । खेलमा डायमन्डकी सलिना बुढा प्लेयर अफ दी म्याच र बाल्मिका आचार्य बेस्ट स्पाइकर घोषित भएकी थिइन् । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा तीन भारतीय खेलाडीसहित मैदानमा उत्रेको गण्डकीले लिग चरणमा एक खेल पनि जित निकाल्न सकेन । 

प्रतियोगिताअन्तर्गत बुधबार पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै गण्डकीले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मी त्यसपछिका तीन सेटमा पराजित भएको थियो । गण्डकीले तेस्रो सेट २५–२३ चौथो सेट २५–२२ र अन्तिम सेट १५–१३ ले जित्यो । गण्डकीले तीन अंक जोड्न सफल भयो । खेलमा गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दी म्याच र रवि केसी बेस्ट स्पाइकर घोषित भए ।