मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पवन तिमिल्सिना काठमाडाैं
२०७९ माघ १२ बिहीबार ११:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खराब कर्जा बढ्दै जाँदा बैंकहरूलाई ऋण उठाउन सकस

Read Time : > 1 मिनेट
२०७९ माघ १२ बिहीबार ११:२९:००

४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा करिब ९८ अर्ब 

वाणिज्य बैंकहरूलाई कर्जा उठाउन सकस परेको बैंकरहरूले गुनासो गर्न थालेका छन् । मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तक्र्रियामा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले खराब कर्जा बढ्दै जाँदा बैंकको आम्दानी घट्न थालेको बताएका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले ६ महिनाको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा खस्किएको बताए । कृषि विकास बैंक घाटामा गएको उल्लेख गर्दै उनले पहिलोपटक वाणिज्य बैंक नोक्सानमा गएको बताए ।

चालू आर्थिक वर्षको ६ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकरूमध्ये कृषि विकास बैंक १२ करोड रुपैयाँ नोक्सानमा गएको छ । यस बैंकको खराब कर्जासमेत बढेर ४.८ प्रतिशत पुगेको छ । ‘अप्ठ्यारो स्थितिमा पनि काम गरिरहेका छौँ,’ उनले भने, ‘कोभिडको समयमा पनि हामीले काम गरेकै हौँ । पहिलोपटक ६ महिनामा कृषि विकास बैंक घाटामा गएको छ । गत आर्थिक वर्षमा ३१ अर्बको कर तिर्‍यौँ, हामी पारदर्शी भएकाले तिरिएको छ ।’ 

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल)बाहेक सबै वाणिज्य बैंकहरूको ६ महिनाको प्रतिवेदन सार्वजनिक भइसकेको छ । अधिकांश बैंकहरूको नाफामा गिरावट आएको उनले बताए । त्यस्तै, साना क्षेत्रमा जाने कर्जाको किस्ता असुलीमा समेत समस्या भएको उनले जानकारी दिए । केसीले भने, ‘अहिले साना तथा मझौला कर्जाहरूको समेत ऋण असुल नहुने अवस्था आएको छ ।’ अहिले संसारभर नै आर्थिक गतिविधि संकुचित भएकाले त्यसको असर नेपालमा समेत परेको उनको भनाइ छ । वाणिज्य बैंकहरूको औसत खराब कर्जाको दर बढे पनि अन्य मुलुकहरूको तुलनामा भने कमै रहेको उनले बताए । 

कृषि विकास बैंकको वार्षिकोत्सवमा पनि केसीले कर्जा असुलीमा समस्या भइरहेको बताएका थिए । उनले कर्जा तिर्नुनपर्ने असाधारण माग राख्दै एउटा समूह लागिपरेको समेत बताएका थिए । 

संघका उपाध्यक्ष सन्तोष कोइरालाले अहिले देखिएको खराब कर्जा व्यवस्थापन गर्न भने सकिने खालको रहेको जानकारी दिए । उनले भने, ‘घरजग्गा, सहकारीलगायत अन्य व्यवसायमा देखिएको मन्दीको असर बैंकमा पनि नपर्ला भन्न सकिन्न, तर अहिलेसम्मको अवस्था हेर्दा यो समाधान गर्न सकिने स्तरमै रहेको हाम्रो मूल्यांकन छ ।’

४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा औसतमा २.२९ प्रतिशत पुगेको छ । अर्थात्, ९७ अर्ब ९६ करोड रुपैयाँबराबरको कर्जाको साँवा र किस्ता तीन महिनादेखि नउठेर खराब भएको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको औषत निष्क्रिय कर्जा १.०६ प्रतिशत थियो । 

वाणिज्य बैंकहरूको नाफा गत चार आर्थिक वर्षकोभन्दा कम देखिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ३० अर्ब ८१ करोड नाफा रुपैयाँ कमाएका बैंकहरूको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३० अर्ब १९ करोड रुपैयाँमा सीमित छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा भने बैंकहरूको नाफा ३४ अर्ब २१ करोड थियो । ‘विगत ६ महिनामा बैंकहरूको ब्याज आम्दानी ६८ प्रतिशतले बढ्दा ब्याज खर्च भने ८४ प्रतिशतले बढेको छ,’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘बैंकहरूले गत वर्षसम्म औसत १४.३ प्रतिशतसम्म लाभांश दिइरहेका थिए । यस वर्ष १०.७६ प्रतिशतबराबर मात्र दिन सफल भएका छन् ।’ 

बैंकहरूको सेयरमा प्रतिफल (आरओई)समेत आर्थिक वर्ष ०६९/७० मा २४.४२ प्रतिशतसम्म रहेकोमा हाल ११.७३ प्रतिशतमा सीमित भएको छ । आगामी वैशाखमा कर्जा र निक्षेपको ब्याजअन्तर ४.२ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि त्यसअनुसार व्यवस्थापन गर्दा ब्याजदर नबढ्ने हुन सक्ने बैंकरहरूको भनाइ छ । ब्याजदरको उतारचढावबाट सुरक्षित हुन ऋणीहरूले समेत स्थिर ब्याजदरलाई स्वीकार गर्नुपर्नेमा त्यसो नभइरहेको उनीहरूको भनाइ छ ।