मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ माघ ९ सोमबार ०७:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भद्रपुर भन्सारबाट आयात मात्र

साढे चार वर्षमा भारतबाट झन्डै तीन अर्बको आयात हुँदा निर्यात शून्य

Read Time : > 1 मिनेट
२०७९ माघ ९ सोमबार ०७:५९:००

झापाको भद्रपुरस्थित भारतसँग जोड्ने मेची पुल निर्माणपछि भद्रपुर भन्सारलाई ‘छोटी भन्सार’बाट मूल भन्सारमा रूपान्तरण गरियो । भारतको पश्चिम बंगाल र बिहारको संगमस्थल मेची नदीमा पुल बनेपछि नेपाल–भारत व्यापारमा कायापलट हुने महत्वाकांक्षाका साथ छोटी भन्सारलाई ०७५ भदौमा मूल भन्सार बनाइयो । मूल भन्सारमा रूपान्तरण भएको साढे चार वर्षमा पनि यसले छोटीकै काम गरिरहेको छ ।

नेपालले यो नाका भएर कुनै पनि नेपाली सामग्रीले निर्यातको अनुमति पाउन सकेको छैन । झापामा मेची भन्सार र भद्रपुर भन्सार गरी दुई भन्सार छन् । मेची भन्सार काँकडभिट्टा भएर तेस्रो देशसँग पनि व्यापार भइरहेको छ, तर भद्रपुर भन्सारले भने छोटी भन्सारजस्तै आयात मात्र गरिरहेको

छ । यो नाकाबाट साढे चार वर्षमा दुई अर्ब ८९ करोड ७१ लाखबराबरको सामग्री आयात हुँदा निर्यात भने शून्य छ ।  स्थापनापछि पहिलो आर्थिक वर्ष ०७५/७६ मा भद्रपुर भन्सारबाट ५९ करोड ९२ लाखको सामग्री आयात भएको थियो । यस्तै, आर्थिक वर्ष ०७६/७७ मा ५१ करोड ७९ लाखको, आर्थिक वर्ष ०७७/७८ मा ९१ करोड र आर्थिक वर्ष ०७८/७९ मा भद्रपुर भन्सार भएर ८० करोडबराबरको सामग्री भित्रिएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ८८ हजारको मात्र आयात भएको छ । भद्रपुर भन्सारलाई छोटीबाट मूल भन्सारमा स्तरोन्नति गरिए पनि व्यवहारमा स्तरोन्नति हुन नसकेको भद्रपुर भन्सारका भन्सार अधिकृत अमित तिवारीले बताए । ‘छोटीबाट ठूलो भन्सार त बनाइयो, तर भन्सार ठूलो हुन सकेन,’ उनले भने, ‘यहाँबाट आयात मात्र हुन्छ, निर्यात हुन सकेन । आयात पनि ठूलो मात्रामा छैन । काँकडभिट्टामा भन्सार भएकाले दमक, बिर्तामोड, धुलाबारीलगायतका बजारमा मेची भन्सारबाट नै आउँछ ।’

भारतको बिहारस्थित ल्यान्ड कस्टम स्टेसन गलगलिया ‘छोटी भन्सार’कै रूपमा रहेका कारण नेपालबाट सामग्री निर्यात गर्न नसकिएको तिवारीले बताए । भद्रपुर भन्सारबाट आयात–निर्यात हुन नसक्दा व्यवसायी मर्कामा परेको भद्रपुरस्थित झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले बताए । यो भन्सार कागजमा मात्र मूल भन्सार भएको उनको भनाइ छ । भद्रपुर भन्सारलाई सरकारले चासो दिने हो भने बंगलादेश र भारतका बिहार क्षेत्रका विभिन्न ठाउँमा नेपालले व्यापार गर्न सक्ने उनी बताउँछन् । 

उनले भने, ‘भन्सारलाई चलाउनका निम्ति सरकारले नेपालतर्फ पनि केही गरेको छैन । इमिग्रेसन बनाउने काम, आयात–निर्यातका लागि सहज बनाउने काम यतिका वर्षसम्म हुन सकेन । भारततर्फ लबिङ गरेर सञ्चालन गर्ने काममा त चासो नै दिएन ।’ भद्रपुर भन्सारलाई विकास गर्न सके यो क्षेत्रको विकासको मेरुदण्ड बन्न सक्ने भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताए । हुलाकी राजमार्ग पनि यहीँबाट भएका कारणले भद्रपुर भन्सारको भविष्यमा राम्रो सम्भावना रहेको उनले बताए ।