मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ ९ सोमबार ०६:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका नदीमा हिउँदभर पानीभन्दा फोहोर धेरै

सडकको फोहोर उठाए पनि नदी क्षेत्रको फोहोर व्यवस्थापनमा बेवास्ता, कुनै पनि खोलामा बग्दैन सङ्लो पानी

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ ९ सोमबार ०६:५८:००

हिउँद लागेसँगै उपत्यकाका अधिकांश नदी फोहोर र दुर्गन्धित बनेका छन् । नदी व्यवस्थापनको जिम्मेवारी लिएका काठमाडाैं महानगरपालिका, उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायत निकायको बेवास्ताका कारण सहरी सभ्यता बोकेका यी नदी तथा खोलामा फोहोर थुप्रिने क्रम बढेको हो । 

महानगरले सडक तथा चोकको फोहोर उठाए पनि नदी र करिडोर क्षेत्रको फोहोर उठाउँदैन । काठमाडौं उपत्यकाभित्र मुख्य ११ वटा नदी छन् । यी अधिकांश नदीमा हिउँदभर पानीको मात्रा निकै कम हुन्छ । कतिपयमा त पानी बगेको छ कि ढल, छुट्याउनै कठिन छ । नदीमा यसवेला पानी कम हुने हुँदा सफाइ गर्न सहज हुन्छ, तर सम्बन्धित निकायको बेवास्ताले दुर्गन्धित बनिरहेका छन् । 

बागमतीलाई उपत्यकाको प्रमुख नदीका रूपमा लिइन्छ । यसको धार्मिक महत्व पनि उत्तिकै छ । तर, यो नदीको गोकर्णदेखि तल्लो भाग निकै फोहोर तथा दुर्गन्धित बनिरहेको छ । नदीमा पानीको वहाब निकै कम छ, सर्वसाधारणले फालेको फोहोर पानीमा तैरिरहेको देखिन्छ । 

 कहाँ–कहाँ छ धेरै फोहोर ?
उपत्यकाका ११ वटै नदीमा पानीको वहाब निकै कम छ । सबैतिर खोलाको गहिराइ र चौडा भाग देखिन्छ । पानी बग्ने ठाउँमा ढल तथा फोहोर बगिरहेको छ । कतै–कतै घाँस उम्रिएको छ । बागमती, मनोहरा, टुकुचा, नख्खु खोला, खहरे खोला, विष्णुमती, धोबी खोला, भक्तपुरको हनुमन्ते, ललितपुर हात्तीवनको कर्मनासालगायत ११ वटा खोलामा पानीको मात्रा निकै कम छ ।

जलविद् मधुकर उपाध्या भन्छन्— हिउँदभर यहाँका खोलामा पानीभन्दा धेरै ढल बग्छ । खोलाको अधिकांश खण्ड बस्तीबीचबाट बग्ने भएकाले बस्तीको ढल खोलामा पुग्छ । ढलको पानी घुमाएर खोलामै मिसाइएको छ । ढल राम्ररी व्यवस्थापन गर्न नसके खोलाको अस्तित्व रहँदैन । अहिले बाँकी रहेका केही खोला पनि पछि ढलमा परिणत हुन सक्छन् । 

यीमध्ये कुनै पनि खोलामा सङ्लो पानी बग्दैन । बर्सातका वेला भेल र बाढीका कारण खोला बढेको देखिए पनि हिउँद लागेसँगै खोलामा पानीको मात्रा निकै कम छ । धोबी खोलाको अनामनगर, बिजुलीबजार, रातोपुललगायत क्षेत्र निकै फोहोर छ । यस्तै, बागमतीको गोकर्णदेखि थापाथलीसम्म पानीभन्दा धेरै ढल बगेको देखिन्छ । विष्णुमती, हनुमन्ते र कर्मनासामा पनि ढल मिसिएको धमिलो पानी देखिन्छ । 

जलविद् मधुकर उपाध्याका अनुसार हिउँदभर यी खोलामा पानीभन्दा धेरै ढल बग्छ । खोलाको अधिकांश खण्ड बस्तीबीचबाट बग्ने भएकाले बस्तीको ढल खोलामा पुग्ने गरेको उनले बताए । ‘अहिले उपत्यकाका खोला ढलमय बनेका छन्, खोलाबाट पानी होइन, ढल बग्छ, ढलको पानी घुमाएर खोलामै मिसाइएको छ,’ उनले भने, ‘ढल राम्ररी व्यवस्थापन गर्न नसके खोलाको अस्तित्व रहँदैन, अहिले बाँकी रहेका केही खोला पनि पछि ढलमा परिणत हुन सक्छन् ।’ 

 पशुपति क्षेत्रमा ढल राख्न माग 
फोहोर तथा दुर्गन्धित बनेको भन्दै गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्म बागमती नदीका दुवै किनारामा ढल राख्न स्थानीयले माग गरेका छन् ।नदीआसपासको बस्तीबाट बग्ने फोहोर पानी मिसिएको भन्दै बागमती सफाइ अभियन्ताहरूले ढल राख्न सुविधासम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग माग गरेका हुन् । जतिपटक नदी सफा गरे पनि आसपासको ढल तथा फोहोर पानीका कारण दुर्गन्धित बनेको अभियन्ता किशोरसिंह शाहीले बताए । उनले बागमती नदीमा फोहोर पानी, ढल र फोहोर मिसिन दिन नहुने बताए । ‘आसपासको बस्तीको फोहोर पानी र ढल रोक्न ह्युमपाइप राख्नुपर्छ,’ उनले भने ।

 सालीनदी मेला भद्रगोल
स्वस्थानीको मेला लागिरहेको साँखुस्थित सालीनदी क्षेत्र आयोजक र स्थानीयको लापरबाहीले फोहोर र दुर्गन्धित बनिरहेको छ । पूजाआजा र स्नान गर्न पुग्नेहरू फोहोर पानी प्रयोग गर्न बाध्य छन् । धार्मिक हिसाबले पवित्र मानिने सालीनदी र आसपासको फोहोर व्यवस्थापन नहुँदा नदी क्षेत्र फोहोर र प्रदूषित बनेको हो ।

स्नान गर्न भक्तजनहरूको भिड लागिरहेका वेला नदीको माथिल्लो भागमा भने जताततै फोहोर फ्याँकिएको छ । माधवनारायण मन्दिरबाट करिब २० मिटर पर नदीमा फोहोर फ्याँकिए पनि त्यही पानीमा व्रतालुहरूले स्नान गर्ने गरेका छन् । 

व्रतालु तथा दर्शनार्थीहरूको अत्यधिक भिडभाड हुने भएकाले विभिन्न व्यापार–व्यवसायका लागि यहाँ प्लाास्टिकको छाप्रो र अन्य टहराहरू निर्माण गरिएको छ । जसका कारण भक्तजनलाई ओहोरदोहोरमा सास्ती हुने गरेको छ । ‘धार्मिक हिसाबले पवित्र मानिने सालीनदीमा हरेक वर्ष एक महिनासम्म मेला लाग्छ, लाखौँ भक्तजनको भिड लाग्ने त्यो ठाउँ कति फोहर,’ कपनका गोपाल पोखरेलले भने, ‘यहाँको व्यवस्थापन कति अव्यवस्थित छ, तपाईं सोच्नै सक्नुहुन्न, एकापट्टि महिला नदीमा डुबुल्की मारेर नुहाउँदै छन्, २० मिटरमाथि फोहोरको डंगुर नदीमै छ ।’