मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ माघ ७ शनिबार ०९:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाका हिमालमा हिउँ पर्न छोड्यो

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ माघ ७ शनिबार ०९:४५:००

संखुवासभाको दुर्गम विकट उत्तरीक्षेत्र चीनको सिमावर्ती भोटखोला गाउँपालिका–१ किमाथांकाका स्थानीय ८० वर्षीय आप्टुक भोटे आँगनको डिलमानै बसेर दैनिकी बिताउँछन् । सधैझैँ यो माघको पहिलो साता बित्न लाग्दासमेत उनी आँगनको डिलमा गुन्द्री ओछयाएर दिनभर घाम ताप्दै बस्छन् ।

जीवनको उतराद्र्धमा उनी सामान्य आफ्नो काम भन्दा अरु काम गर्न सक्दैनन् । विगतमा कात्तिकदेखि ह्वात्तै चिसो बढ्ने र मंसिरदेखि हिउँ परेर बाहिर निस्कननै सक्दैनथे । घर वरपर गाउँमानै बाक्लो हिमपात हुन्थ्यो भने किमाथांका गाउँका माथि–माथि डाँडामा चार फिटसम्म हिउँ जम्थ्यो । तर, यो पटक माघ पहिलो सातासम्म ह्वात्तै चिसो नबढेको र माथिमाथि डाँडामा समेत हिउँ नझरेको भोटेले बताए । 

हिमाली जिल्ला संखुवासभामा जलवायु परिवर्तनको असर देखिन थालेको छ । पछिल्लो समयमा विस्तारै मौसममा आएको परिवर्तनसँगै जलवायु परिवर्तनको असर देखिन थालेको हो । विगतका वर्षहरुमा मंसिर र पुसको महिनामा जिल्लाका उच्च हिमाली र पहाडी डाँडापाखा, खेतबारी हिउँले सेताम्य हुने गरेपनि यो वर्ष हिउँ नै नझरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए ।

विभिन्न गैरसरकारी संस्थामा लामो समय जलवायु सम्बन्धीनै काम गरेका भोटे भोटखोलाको उच्च हिमाली भूभागमा करिब १० वर्षदेखि हिउँ पर्न छोडेको बताए । उनले ०६८ साल यता हिमालमा प्रशस्त हिउँ देखिन छोडेको बताउदै त्योभन्दा पहिले कात्तिकदेखि हिमपात र चिसोले भोटखोलामा बस्नै नसकेर सपरिवार गाउँ नै न्यानोको खोजी गर्दै औल झर्ने गरेको बताए । 

 पुस १६ गते हिउँ अलि–अलि पर्न खोजेपनि त्यसपछि फेरी घाम लागेकाले हिउँ नपरेको अध्यक्ष भोटेले बताए । जलवायु परिवर्तनको नै कारणले हिमालमा हिउँ नपरेको अध्यक्ष भोटेको भनाइ छ ।हिमालमा हिउँ नपरेपछि गाउँमा सहनै नसक्ने गरि चिसो नभएपछि भोटखोलाबासीहरु पछिल्लो समय औल झर्न छोडेको पालिका अध्यक्ष भोटेको अनुभव छ । उनी भन्छन‘,पहिले–पहिले न्यानोको खोजी गर्दै भोटखोलाबासीहरु औल अर्थात कोबेली सदरमुकाम खाँदबारी आसपास, धरान, विराटनगर र भारतको दार्जिलिङसम्म पुग्ने गर्दथे । अहिले गाउँमा नै बस्न थालेका छन् ।’

  भोटखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुर्पु च्याबा भोटे यो वर्ष किमाथांकामा हिउँ नपरेको बताए । उनले हिउँ नपर्दा कम उत्पादन हुने भएकाले भोकमरीको चिन्ता बढेको बताए । हिउँ परेपछि बाटो रोकिने डरले गाउँमानै सदरमुकामबाट चामाल लगायत खाद्यान्नको बन्दोबस्त गरेर पु¥याएको छु तर अहिलेसम्म हिउँ परेन, आवातजावात खुल्ला नै नरहेको सदरमुकाम खाँदबारी भेटिएका वडाध्यक्ष भोटेले बताए ।

विगतमा हिमपातको कारण खाँदबारी किमाथांकाको आवातजावात नै बन्द हुने गरेको थियो । ‘लेकमा हिउँ परे मात्रै हिउँदे बाली गहुँ, जौँ र आलु सप्रिन्छ । अहिले त अलैंची समेत सुकाउरो लाग्ने अवस्थामा पुगेको छ । आकासे पानी र हिमपातको भरमा तरकारीहरु फष्टाउँछन् । तर अहिले हिउँ नपरेकोले चिन्ता बढेको छ ।’–वडाध्यक्ष भोटेले भने–‘किमाथांका नाकामा चीनले बन्द गरेपछि खाद्यान्न लगायतको सबै भर खाँदबारी पर्नु परेको छ ।’कोभिडको कारण देखाउँदै ०७७ माघ ५ गतेदेखि चीनले किमाथांका नाका आवातजावात पूर्ण रुपमा रोक लगाएको छ । 
    
विगतमा चाँदीझैँ टल्कने डाँडापाखा र हिमालहरु यतिबेलासम्म उराठ लाग्दाछन् । सदरमुकाम खाँदबारीबाट नै देखिने विश्वको पाँचौ अग्लो मकालु हिमाल (८४६३ मिटर), गणेश हिमाल, कञ्चनजंघा हिमालमा समेत यो वर्ष हिउँ परेको देखिदैन् । यो वर्ष माघ साता बित्नलाग्दा समेत खाँदबारी आसपासका क्षेत्रमासमेत खासै चिसो बढेको छैन ।