मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार ०९:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ प्रकारका बिमा योजना ल्याउन प्राधिकरणको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार ०९:१२:००

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले नयाँ प्रकारका बिमा योजना ल्याए मात्र बिमा बजार बढ्ने बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक–अर्काको बिमालेखको नक्कल नगरी नयाँ–नयाँ बिमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरूलाई निर्देशन दिएका हुन् । 

‘बिमा अभिकर्ता बिमाबारे राम्रोसँग बुझेको, बिमा व्यवसायका बारेमा जानकारी भएको, बिमा कम्पनीबारे थाहा भएको हुनुपर्छ । बिमा अभिकर्ता बिमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरूले ध्यान दिनुपर्छ, बिमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरूले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ,’ उनले भने । 

हालै भएको विमान दुर्घटनाको बिमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले ठूला जलविद्युत्लगायत संरचनाहरूको बिमा गराउन कम्पनीहरूबाट पनि प्रयास हुनुपर्नेमा जोड दिए ।त्यस्तै, कम्पनीहरूले आफूले आर्जन गरेको रकमको २ प्रतिशत कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च गर्न उनले निर्देशन दिए । पाँच वर्षभित्र बिमा व्यवसाय दोब्बरले वृद्धि गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा ऐनमा व्यवस्था भएबमोजिम एक बिमक, एक बिमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बिमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए । प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बिमा कम्पनीले बिमा अभिकर्तालाई कामबाट अलग गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बिमा अभिकर्ताले बिमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफँैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट पारे ।