Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ४ बुधबार २०:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विमान दुर्घटना : अध्ययन सकेर जाँच आयोगकाे टोली फिर्ता, फ्रान्सेली विज्ञहरू पोखरामा

Read Time : > 1 मिनेट
२०७९ माघ ४ बुधबार २०:२४:००

दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज दुर्घटनाको अध्ययनका लागि नेपाल सरकारले गठन गरेको विमान दुर्घटना जाँच आयोगको टोली आवश्यक अध्ययन र अनुसन्धान सकेर काठमाडौं फर्किएको छ।

मंगलबार आयोगका पाँचैजना सदस्य पोखरा आएका थिए। आयोगको टोलीले घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयसँग घटनाको बारेमा जानकारी लिने काम गरेको थियो। यसैगरी, टोलीले पोखरा विमानस्थलसँग समेत आवश्यक जानकारी एवं छलफल गरेको थियो।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार आयोगको टोली आफ्नो काम सकेर बुधबार काठमाडाैं फिर्ता भएको हो। 

 

 

टोलीले घटनास्थलको अवलोकन, स्थानीयबाट जानकारी साथै पोखरा विमानस्थलसँग आवश्यक जानकारी एवं कागजपत्र माग गरी आयोगका लागि आवश्यक अन्य काम सकेर गरेर काठमाडौं गएको गौतमले बताए। 

गत आइतबार काठमाडाैंबाट पोखराका लागि उडेको यतीको ९एन–एनसी, एटिआर–७२ ५०० विमान अवतरणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ र १५ को बीचमा पर्ने नयाँगाउँस्थित सीताराम कोलनीनजिकैको सेती खोँचमा खसेर दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु गरी ७२ जना सवार थिए। दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्ससमेत सोमबार फेला परिसकेको छ। 

फ्रान्सबाट आएको नौ सदस्य टोली पोखरामा 

सरकारले गठन गरेको आयोगको टोली आफ्नो काम सकेर काठमाडाैं जाँदै गर्दा दुर्घटनाको अध्ययनको लागि फ्रान्सबाट आएको टोली बुधबार पोखरा आइपुगेको छ।

फ्रान्सबाट आएको विज्ञसहितको नौजनाको टोलीले पोखरा आएर घटनास्थलको अवलोकनसँगै दुर्घटनाको अध्ययनको काम सुरु गरेको छ।

नेपालमा दुर्घटनामा परेको एटिआर जहाज यो पहिलो हाे। एटिआर जहाज बनाउँदै आएको कम्पनीले घटनाको अध्ययनका लागि विज्ञसहितको टोली नेपाल पठाएको हो।

टोलीले घटनास्थलको स्थलगत अवलोकनसँगै घटनाका प्रत्यदर्शी, स्थानीय, नेपाल नागरिक उड्डयन प्राधिकरण र यतीका प्रतिनिधि र अन्य सरोकारवालहरूसँग छलफल गरी दुर्घटनाको कारण पत्ता लगाउने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काका अनुसार फ्रान्सबाट आएको टोली बुधबार घटनास्थल पुगेर आवश्यक अध्ययन एवं स्थानीय र प्रत्यक्षदर्शीहरूसँग कुराकानी गरेको बताए। 

पोखरा विमानस्थलका प्रमुख गौतमले फ्रान्सबाट टोली आएको भन्ने आफूले सुनेको तर यसबारेमा औपचारिक रूपमा कुनै जानकारी भने नपाएको बताए। 

टोली आएर घटनास्थलको स्थलगत अध्ययन र अवलोकन गर्यो भन्ने मैले पनि थाहा पाएँ, टाेलीसँग हाम्रो सम्पर्क भने नभएको गौतमले बताए। टोलीले कार्यालयसँग आवश्यक कागजपत्र मागलगायत अन्य जानकारी आवश्यक परे त्यसका लागि सहयोग गरिने उनले बताए।   

२२ जनाको शव आफन्तले बुझे 

दुर्घटनामा परेका ७२ जनामध्ये ७१ जनाको शव भेटिएको छ। एकजनाको अवस्था भने अज्ञात छ। अवस्था अज्ञात रहेका एकजनाको खोजीकार्य जारी रहेको छ। बुधबार घटनास्थलमा उद्धार टोलीले खोजबिन गरेको थियो। 

भेटिएका ७१ शवमध्ये २२ जनाको पहिचान भएपछि सोमबार र मंगलबार गरी पोखरामा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि २२ जनाको शव आफन्तले बुझेर लगेकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक भरत खत्रीले जानकारी दिए। 

शवहरूको पोस्टमार्टमको काम सोमबार ४ः०० बजेदेखि सुरु भएको थियो। सोमबार तीन र मंगलबार १९ जनाको पोस्टमार्टम सकिएको थियो।

काठमाडौंमा लगिएका ४८ शवको परीक्षण सुरु

भेटिएका ७१ जनामध्ये ४८ जनाको शव मंगलबार काठमाडाैं लगिएको थियो। पहिचान हुन नसकेका, विदेशी नागरिक, चालक दलका सदस्यहरूको शव काठमाडाैं लगिएको हो। ती शवहरू पहिचानको लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा पठाइएको निर्देशक खत्रीले जानकारी दिए। शवहरू नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडाैं लगिएको थियो।
पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि डिएनलगायतका परीक्षण गर्नुपर्ने खत्रीले जानकारी दिए। 
काठमाडाैं लगिएका शवहरूको परीक्षणको कामसमेत बुधबार दिउँसोबाट सुरु भएको र आवश्यक परीक्षणपछि शवको पहिचान गरी आफन्तलाई बुझाइने खत्रीले बताए।