१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
महेश दत्त भट्ट काठमाडाैं
२०७९ माघ ४ बुधबार १९:३६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

सपना समृद्धिको आचरण भ्रष्टाचारको

Read Time : > 4 मिनेट
महेश दत्त भट्ट, काठमाडाैं
२०७९ माघ ४ बुधबार १९:३६:००

पृथ्वीनारायण शाहका उक्तिहरू देशको सुशासनको स्थिति र भ्रष्टाचारको विषय केलाउँदा अहिले पनि अत्यन्तै सान्दर्भिक लाग्छन्। घुस लिने र दिने व्यक्ति देशका ठूला शत्रु हुन्। यो अभिव्यक्ति सबैभन्दा बढी स्मरणयोग्य छ। मुलुक आजको जीर्ण र दिशाविहीनतामा पुग्नुमा भ्रष्टाचार मूल कारण रहेको छ।

सार्वजनिक प्रशासन तथा सेवालगायत जुनसुकै काममा ऐन–नियमविपरीत चल्नु पनि भ्रष्टाचार नै हो। भ्रष्टाचारबाट समाज पहिले पनि आक्रान्त रहेको पृथ्वीनारायण शाहको उपदेशले पनि संकेत गर्छ। तर, उनले भ्रष्टाचार कति कडा रोग हो भन्ने कुराको पहिचान उतिवेलै गरेका थिए। उनको दूरदर्शिता मननीय छ। ‘न्याय निसाफ बिगार्ने भनेका घुस लिन्या र घुस दिन्या हुन्, यिनी दुईको धनजिउ गरिलिया पनि पाप छैन, यी मुलुकका ठूला शत्रु हुन्।’ यो उक्तिले उनले विषयको गहनता स्पष्ट रूपमा बुझेको प्रतीत हुन्छ। अहिले नेपालमा भ्रष्टाचारको रोग ‘क्रोनिक’ भइसकेको छ, थप संक्रामक बन्दै गएको छ। नैतिकतामा आएको ह्रास, व्यक्तिवादी स्वार्थ, उपभोगवादी चिन्तन, सदाचारको अभाव, निष्प्रभावी प्रशासन, सार्वजनिक पद, प्रतिष्ठाको दुरुपयोगलगायतले भ्रष्टाचार मौलाएको विदितै छ। 

भ्रष्टाचार सम्बन्धमा कौटिल्यले उहिल्यै भनेका छन्– बरु आकाशमा उडिरहेको चराको दिशा अनुमान गर्न सहज छ। तर, भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने, अवैध पुँजी पलायन गर्ने भ्रष्टहरूको सम्पत्ति अनुमान गर्न कठिन छ। पछिल्लो समय भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न ऐन–नियम निर्माण भए पनि डेलिभरी गर्ने सवालमा चुक्दा यो विकराल बन्दै गएको छ। भ्रष्टाचारसम्बन्धी एउटा चिनियाँ सिद्धान्त छ– एकजनालाई सशक्त कारबाही गर्यो भने १० हजार मानिस तर्सिन्छन्। 

भ्रष्टाचार नियन्त्रण गर्न या त सबैमा राष्ट्रभक्ति, देशप्रतिको इमानदारी हुुनुपर्छ। होइन भने राज्यका कानुनी अंगबाट मनोवैज्ञानिक त्रास सिर्जना हुनुपर्छ। तब मात्र भ्रष्टाचार नियन्त्रण हुन सक्छ। भ्रष्टाचारी सम्बन्धमा एउटा अर्को सिद्धान्त पनि छ– भ्रष्टाचार गर्दा अथवा आर्थिक अनियमितता गर्दा हुने फाइदा र खतराको मूल्यांकन गर्दा जुन बढी फाइदाजनक हुन्छ, त्यही पक्ष हाबी बन्छ। नेपालका सन्दर्भमा भ्रष्टाचार गर्दा राजनीतिक संरक्षणको प्रवृत्ति हाबी भएकाले कम खतरा हुने महसुस गर्दा भ्रष्टाचारले बढी प्रश्रय पाएको देखिन्छ। भ्रष्टाचार गर्दा हुने खतराको प्रतिशत १० गुणा बढी भयो भने भ्रष्टाचार नियन्त्रण भई देश समृद्धिको बाटोमा लाग्नेछ। 

भ्रष्टाचार माथिबाट तलतिर फैलिने विकृति हो। यो माथिबाट तल सर्दै जान्छ। यसलाई भर्याङको पाइला सफा गरे जसरी सफा गर्नुपर्छ । भर्याङको माथिल्लो पाइलाबाट सफा गर्यो भने सबै पाइला सफा हुँदै जान्छन्। माथिल्लो ओहदाधारीको संरक्षणमा नै भ्रष्टाचार झाँगिन्छ। त्यसैले नियन्त्रणको सुरुवात पनि माथिल्लो ओहदाबाटै अभियानका रूपमा गर्नुपर्छ। 

देशको उन्नति, प्रगतिको बाधक राजनीतिक अस्थिरता भए पनि प्रमुख बाधक भ्रष्टाचार र कुशासन नै हो। ट्रान्सपेरेन्सी इन्टरनेसनलको सन् २०२१ को रिपोर्टले नेपाल बढी भ्रष्टाचार हुने मुलुकका रूपमा चिनिएको बताउँछ। एक सय ८० राष्ट्रमा नेपाल ११७औँ स्थानमा छ। सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा क्रमशः डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड छन् भने सबैभन्दा भ्रष्टाचार बढी हुने मुलुकमा दक्षिणी सुडान रहेको छ। भ्रष्टाचार कम हुने मुलुकको प्रतिव्यक्ति आय (५३ हजार ७४५ युएस डलर), कुल गार्हस्थ उत्पादन र मानव विकास सूचकांक सबै नै उच्च देखिन्छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने दक्षिणी सुडानको प्रतिव्यक्ति आय (२४६ युएस डलर), कुल गार्हस्थ उत्पादन र मानव विकास सूचकांक एकदमै न्यून देखिन्छ। नेपालको प्रतिव्यक्ति आय (एक हजार २९३ युएस डलर) र मानव विकास सूचकांक मध्यम रहेको छ। 

यो तथ्यांकीय विश्लेषणले पनि देश समृद्ध नहुनु, जनता रोग, शोक र भोकबाट ग्रसित हुनुको मूल कारण भ्रष्टाचार भएको मान्न सकिन्छ। देशको समृद्धिको परिकल्पना तब मात्र सम्भव छ, जब भ्रष्टाचार कम हुनेछ। भाषण कलाले देशको कायाकल्प हुन सक्दैन। भ्रष्टाचारलाई महारोग मान्ने देशभक्त युगपुरुष ‘ली क्वान यू’हरू जन्मिनुपर्छ। तब नै भ्रष्टाचार नियन्त्रण गरेर देशलाई उदाहरणीय बनाउन सकिन्छ। 

 

लेखक : महेशदत्त भट्ट

भ्रष्टाचारसम्बन्धी विश्वव्यापी मान्यता छ– भ्रष्टाचार माथिबाट तलतिर फैलिने विकृति हो। यो माथिबाट तल सर्दै जान्छ। यसलाई भर्याङको पाइला सफाइ गरे जसरी सफाइ गर्नुपर्छ। भर्याङको माथिल्लो पाइलाबाट सफा गर्यो भने सबै पाइला सफा हुँदै जान्छन्। माथिल्लो ओहदाधारीको संरक्षणमा नै भ्रष्टाचार झाँगिन्छ। त्यसैले नियन्त्रणको सुरुवात पनि माथिल्लो ओहदाबाटै अभियानका रूपमा गर्नुपर्छ। 

‘स्मल फिस फ्राई’ अर्थात् सानो माछा पक्रिएर मात्र भ्रष्टाचार नियन्त्रण हुन सक्दैन। ‘बिग फिस फ्राई’ अर्थात् माथिल्लो ओहदाधारी ठूला भ्रष्टाचारीलाई नै कारबाहीको डन्डा चलाउँदा मात्र भ्रष्टाचार नियन्त्रण हुन सक्छ। भ्रष्टाचारसम्बन्धी थुप्रै स्थापित कथनले पनि यही भन्छ। साना माछालाई छुट दिनुपर्छ कदापि भन्न खोजेको होइन, तर ठूला माछा पहिले फ्राई हुनुपर्छ। 

यदि भ्रष्टाचार नियन्त्रण भएन, राजनीतिमा शुद्धीकरणको सन्देश आमनागरिकमा प्रवाह गर्न सकिएन भने लोकतन्त्रविरोधी तत्व पुनः सलबलाउनेछन्। निरंकुशतावादी शक्तिहरू हाबी हुनेछन्। लोकतन्त्रविरोधी लहर चल्नेछ। 

हाम्रो देशमा भन्सार नै संसार हो भन्ने कथन अझै पनि विस्थापित हुन सकेको छैन। खोजी–खोजी भन्सार अथवा सबैभन्दा बढी भ्रष्टाचार गर्न सकिने कार्यालयमा जाने रोग स्थापित छ। भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार प्राप्त संस्थाहरू ‘पेटी करप्सन’ अथवा उपभोक्ता समितिमा हुने साना–साना अनियमिततालाई मात्र ढुकिरहेका हुन्छन्। ‘ग्रान्ड करप्सन’ अर्थात् योजनाबद्ध रूपमा हुने ठूला भ्रष्टाचारका काण्डमा हात नै हाल्दैनन्। ३३ किलो सुनकाण्ड गुपचुप, वाइडबडी प्रकरण गुपचुप, बालुवाटार जग्गा प्रकरण गुपचुप, सेक्युरिटी प्रेसकाण्ड गुपचुप। रक्षक नै भक्षक हुँदा देश आर्थिक रूपमा टाट पल्टेको छ। 

विकास निर्माणका योजनादेखि सरकारी कार्यालयसम्म र समान्य बजारदेखि ठुल्ठूला व्यापारिक संस्थाहरूसम्म भ्रष्टाचारले दुर्गन्धित छन्। नेपालको आर्थिक दुरावस्था हुँदा स्विस बैंकमा अवैध धन राखिएका प्रमाण बाहिर आउँदै छन्। 

भ्रष्टाचारमुक्त समाजका लागि सार्वजनिक, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि क्षेत्र पनि स्वस्थ र प्रभावकारी हुन जरुरी छ। भ्रष्टाचार नियन्त्रणका लागि कुनै एउटा क्षेत्र वा निकायबाट सम्भव छैन। यसका लागि सबै–सबै क्षेत्रबाट सहयोग आवश्यक छ। यसमा नागरिकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन्। तर, मुख्य दायित्व भने राज्यको नै हो। पछिल्लो समय राजनीतिक व्यवस्था परिवर्तनसँगै सिंहदरबारको योजना छनोट, बजेट विनियोजन, योजना निर्माण र अनुगमनजस्ता महत्वपूर्ण अधिकार पालिकामा सरेका छन्। स्रोतसँगै भ्रष्टाचारको प्रवृत्ति पनि अन्य तहका सरकारसम्म सरेका छन्। 

धैरेजसो मुलुकले भ्रष्टाचार रोकथामका लागि केही महत्वपूर्ण प्रक्रिया अपनाएका छन्। जस्तै : दण्डहीनताको अन्त्य, वृत्ति व्यवस्थापन र प्रशासकीय सुधार, नागरिक सशक्तीकरण, पारदर्शितासँगै सूचनामा पहुँच आदि। 

भ्रष्टाचारलाई मानिसको धनप्रतिको मोह, कामकारबाहीमा अपारदर्शिता, कमजोर अनुगमन र मूल्यांकन पद्धति, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण, तडकभडकपूर्ण सामाजिक रीतिरिवाज, जनचेतनाको अभाव आदिले मलजल गरेको छ। 

भ्रष्टाचार नियन्त्रणमा नागरिकको दायित्व 
भ्रष्टाचार नियन्त्रणका लागि उपयुक्त नीति–निर्माण र कार्यान्वयनमा जोड दिनैपर्छ। भ्रष्टाचार नियन्त्रणमा दबाब समूहहरूले सिर्जनात्मक वातावरण तयार गर्नुपर्छ। नागरिकस्तरमा जनचेतना फैलाउँदै सेवाक्षेत्रमा हुने भ्रष्टाचारलाई न्यूनीकरण गर्न आशंकित व्यक्तिउपर सामाजिक बहिष्कारको नीति थालनी गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रणका निमित्त अधिकारप्राप्त संस्थाहरूलाई सो सम्बन्धमा सूचना सम्प्रेषण र दबाब दिई भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु प्रत्येक आमनागरिकको दायित्व हुन आउँछ। मैले मात्र गरेर के हुन्छ भन्ने भावनाबाट एक कदम माथि उठेर अरूले गर्लान्–नगर्लान् आफूले नागरिकको हैसियतले यो कार्यमा अगाडि बढ्नुपर्छ। 

विधिको शासन, सदाचार पद्धतिको विकास, प्रशासनिक निर्णय तथा कार्यान्वयनमा सुधार, काम–कारबाहीमा पारदर्शिता र जवाफदेहिता सुशासनका न्यूनतम आधार हुन्। यस सम्बन्धमा नागरिहरू सशक्त भए, दबाब समूह गठन गरेर सामाजिक बहिष्कार नीति अवलम्बन गर्न सके र भुइँ तहका नागरिकसम्म चेतना भयो भने अपराधीले दण्ड पाउँछ र भ्रष्टाचारको समूल नष्ट हुन्छ। सुुशासन, गरिबी निवारण र भ्रष्टाचार नियन्त्रण एकसाथ लैजानु आवश्यक छ। भ्रष्टाचार न्यूनीकरण भयो भने मात्र देशको विकास हुन्छ र सबै जनताले समान किसिमको सेवा र अवसर पाउँछन्। लोकतन्त्रको अनुभूति हुन्छ। यदि भ्रष्टाचार नियन्त्रण भएन, देश आर्थिक रूपमा टाट पल्टन लाग्यो, नागरिकहरूमा खिन्नताको बीजारोपण हुँदै गयो, शासन र राजनीतिमा शुद्धीकरण भएको सन्देश आमनागरिकमा प्रवाह गर्न सकिएन भने पुनः लोकतन्त्रविरोधी तत्वहरू सलबलाउनेछन्। निरंकुश शक्ति हाबी हुनेछन्। लोकतन्त्रविरोधी लहर चल्नेछ। 
(भट्ट नेपाल तरुण दल बैतडीका जिल्ला उपाध्यक्ष हुन्)