१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ माघ ३ मंगलबार ०९:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रशासनको अनुमतिविनै बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल ल्याइँदै

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ माघ ३ मंगलबार ०९:२३:००

गत वर्ष उनकै कारण तोडफोड र आगजनी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको थियो 

सुनसरीको बर्जु गाउँपालिकामा यसपटक पनि भारतीय कलाकार खेसरीलाल यादवलाई ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ । स्थानीय प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै गत वर्ष ४ माघमा बर्जु गाउँपालिका– ६ चिमडीमा आयोजना भएको बर्जु महोत्वसमा आगजानी र तोडफोड भएको थियो । विहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल नआएको भन्दै उत्तेजित दर्शकहरूले सवासीसाधन, साउन्ड सिस्टम र कुर्सीहरू तोडफोड र आगजनी गरेका थिए । जसरकारण करोडौं मूल्यबराबरको क्षति भएको थियो ।

सो घटना भएको ठिक एक वर्षपछि पुनः जिल्ला प्रशासनको अनुमतिविनै गाउँपालिकाको अनुमतिमा खेसरीलाललाई महोत्सवमा ल्याउन लागिएको छ । बर्जुताल खेलमैदानमा गत वर्षझैँ यसपालि पनि स्थानीय बर्जु सामुदायिक विकास केन्द्रले २२ पुसदेखि बर्जु रमाइलो मेला आयोजना गरिरहेको छ । स्थानीयताको प्रवद्र्धनका लागि धार्मिक सांस्कृति महोत्सव भनिए पनि मेलामा विभिन्न जुवाजन्य खेल खुलेआम भइरहेका छन् । 

यसपटक पनि भारतीय कलाकार खेसरीलालको नाममा पाँच सय र हजारका टिकट सयौँको संख्यामा बिक्री गरिएका छन् । गत वर्षको घाटा असुल्न आयोजक संस्थाले प्रशासनले अनुमति नदिए पनि पालिकालाई दबाब दिएर मेला सञ्चालन गरेको हो । खेसरीलाललाई पूर्ण सुरक्षासहित क्षतिपूर्तिसमेत दिने भन्दै मंगलबार कार्यक्रममा बोलाइएको छ ।

जिल्ला प्रशासन सुनसरीका सहायक सिडिओ जोरासिंह माझीले बर्जुमा मेला लगाउन र भारतीय कलाकार ल्याएर कार्यक्रम गर्न प्रशासनले अनुमति नदिएको बताए । ‘हामीसँग अनुमति लिन आएका थिए, तर सामान्य धार्मिक मेलाका लागि मात्र मौखिक अनुमति दिएका छौँ, विदेशी कलाकार ल्याउन अनुमति दिएका छैनौँ,’ उनले भने । 

बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले प्रशासनको समन्वयमा बर्जुमा मेला लगाउन पालिकाले अनुमति दिएको बताए । उनले दुर्घटना भवितव्य हुने भन्दै पोहोरको जस्तो घटना नदोहोरिने दाबी गरे । ‘पोहोर खेसरीलाल नआउँदा घटना भएको थियो, तर यसपालि हामीले प्रहरी प्रशासनसँग कुरा गरेर सुरक्षा व्यवस्था बलियो बनाएका छौँ, यसैले कुनै असुरक्षा हुँदैन,’ उनले भने ।

सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले प्रशासनले लिखित आदेश नदिए पनि गाउँघरमा हुने मेलापर्वमा स्थानीयको सुरक्षा गर्नु आफूहरूको दायित्व भएको बताए । उनले भारतीय कलाकार खेसरीलाल आउने भएकाले सुरक्षा सतर्कता उच्च बनाएको बताए ।‘प्रशासनले आदेश दियो भने मात्र हामीले मेला रोक्ने हो, नत्र हामीले शान्तिसुरक्षा हेर्नैपर्छ । अहिलेसम्म खेसरीलाललाई आउन नदिनु भनेर कुनै लिखित आदेश छैन,’ उनले भने । 

यसरी भएको थियो घटना
गत वर्ष ४ माघमा बर्जुमा स्थानीय तहले आफूखुसी आयोजना भएको मेला कोरोना संक्रमणको कारण देखाउँदै रोक्न प्रशासले एक साताअगाडि नै पत्राचार गरेको थियो । तर, आयोजकले निर्देशनको बेवास्ता गर्दै चर्चित भारतीय कलाकार खेसरीलाल भनिने शत्रुधन यादवलाई बोलाएर महोत्सवको समापन भव्य गराउन टिकट बिक्री गरेर हजारौँको संख्यामा दर्शक भेला गराएको थियो ।

बर्जु महोत्सवमा भाग लिन ३ माघ बिहान साढे ८ बजे जोगबनी नाकाबाट विराटनगर आइपुगेका खेसरीलाललाई प्रहरी प्रशासनले विराटनगरमै रोकेको थियो । पाँचवटा आफ्नै भारतीय स्कारपियो गाडी र वाद्ययन्त्र, सहयोगी कलाकार लिएर आइपुगेका खेसरीलाल प्रशासनको आग्रहपछि दिनभरि विराटनगरको एयरपोर्टस्थित होटेल एसियाटिकमा बसेका थिए । उनका सहयोगीहरू भने चारवटा गाडीमा वाद्ययन्त्र लिएर महोत्सवमा पुगेका थिए । त्यसपछि खेसरीलाल नआएको भन्दै दर्शकहरू उत्तेजित भएर तोडफोड र आगजनीमा उत्रिएका थिए । उनीहरूले महोत्सवस्थलमा रहेको भारतीय नम्बर प्लेटका स्कारपियोसहित एक नेपाली नम्बर प्लेटको मोटरसाइकल र एउटा सिटी सफारीमा आगजनी र स्टेजमा तोडफोड गरेका थिए ।

सो घटनामा दुई करोडभन्दा बढीको क्षति भएको थियो । सो घटनापछि आयोजक नै मुख्य दोषी भएको भन्दै खेसारीलालले एक करोड ५० लाख क्षतिपूर्ति भराउन आयोजकविरुद्ध उजुरी दिएका थिए । साउन्ड सिस्टम व्यवसायीहरूले एक करोड आठ लाख क्षतिपूर्ति माग गरेका थिए ।