मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ २ सोमबार १७:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिलो राष्ट्रिय कृषि जैविक विविधता वर्ष मनाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ माघ २ सोमबार १७:०४:००

सरकारले पहिलोपटक कृषि जैविक विविधता वर्षको रूपमा मनाउने भएको छ। प्रत्येक वर्षको माघ १ गतेबाट साताव्यापी राष्ट्रिय कृषि जैविक विविधता दिवसको रूपमा मनाइने भएको हो।

आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत सरकारले यस वर्षलाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने घोषणा गरेबमोजिम ‘जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता’ नाराका साथ विभिन्न कार्यक्रमहरू गरी यो वर्ष दिवस मनाउन लागिएको हो।

साताभरिमा विविध क्रियाकलापहरू आयोजना गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘उपयोगमार्फत संरक्षण’को मूल मन्त्रलाई व्यवहारमा लागू गर्न कृषि जैविक विविधता र विभिन्न समुदायको मौलिक खाद्य संस्कृति र खाद्य परिकारबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने क्रियाकलापहरू सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय वासस्थान विनाश, मिचाहा प्रजातिको प्रवेश, भू–उपयोगमा परिवर्तन, जलवायु परिवर्तनलगायतका कारण कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्रतर बढ्दै गएको र जैविक विविधताको दृष्टिले नेपाल धनी भए पनि कृषि जैविक विविधता ह्रास हुने क्रम बढ्दो रहेको हुँदा यस दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको एक अनुमानअनुसार नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र बालीका रैथाने जातहरू ४० प्रतिशत मासिइसकेका छन्। नेपालमा कृषि जैविक विविधताको महत्व र यसको संरक्षण र दिगो उपयोगको आवश्यकतालाई दृष्टिगत गरी विभिन्न संवैधानिक र नीतिगत व्यवस्थाहरू गरिएका छन्।

यसैगरी, कृषि जैविक विविधताको महत्वलाई दृष्टिगत गरी यसको संरक्षण गर्ने दिशामा तीनै तहका सरकारहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। रैथाने कृषि जैविक विविधताको परस्थानीय संरक्षणका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय जिन बैंकको पनि स्थापना भएको छ। यसको अलावा स्थानीयस्तरमा क्रियाशील सामुदायिक बिउ बैंक तथा कृषक समूह-सहकारी तथा स्थानीय उपभोक्ताहरूको संस्थाहरूमार्फत पनि कृषि जैविक विविधता संरक्षणलक्षित विभिन्न कार्यहरू हुँदै आएको छ।

संघीय ससर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहहरूबाट कार्यान्वयन हुने गरी कृषि जैविक विविधता संरक्षण कार्यक्रम नामक अलग्गै कार्यक्रमसमेत कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।