१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७९ माघ २ सोमबार ११:१५:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नुवाकोटमा गोरुजुधाइको रौनक (फोटोफिचर)

Read Time : > 1 मिनेट
२०७९ माघ २ सोमबार ११:१५:००

हरेक वर्षझैँ नुवाकोटमा गोरु जुधाएर माघेसंक्रान्तिमा रमाइलो गर्ने परम्पराले यो वर्ष पनि निरन्तरता पाएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका– २ तारुका र विदुर नगरपालिका– १० बेत्रावतीमा आइतबार माघेसंक्रान्तिको अवसरमा गोरु जुधाइएको हो ।

तारुकामा यो वर्ष जुधाउनका लागि २८ हल गोरु दर्ता भएको थियाे ।  जुधाउने गोरुको संख्या धेरै भएपछि माघेसंक्रान्तिको दिन माघ १ गते मात्र जुधाइने गरेकोमा आयोजकले २ गते पनि गोरुजुधाइ कार्यक्रम राखेका छन् । गोरु जुधाउने किसानको संख्या धेरै भएकाले दुईदिने कार्यक्रम राखिएको माघेसंक्रान्ति गोरुजुधाइ महोत्सव संरक्षण संस्थाका अध्यक्ष मदन श्रेष्ठले बताए ।

माघ १ गते १९ हल गोरु जुधाउने तयारी भए पनि समय अभावले १७ हल मात्र गोरु जुधाइएको र बाँकी गोरु सोमबार जुधाइने आयोजकले जनाएको छ । किसानले तारकेश्वर गाउँपालिकाको विभिन्न वडा र धादिङ जिल्लाका किसानले समेत मेलामा गोरु जुधाउन ल्याएका थिए ।

तारुकामा सयौँ वर्षअघिदेखि गोरु जुधाउन थालिएको भए पनि ०६२ सालबाट भने तारुकाको कटहरबोट पाटोमा एकीकृत गरी जुधाउन थालेपछि यहाँ गोरुजुधाइले एउटा विशेष पर्वको रूपमा लिँदै आएको छ । यो वर्ष पनि उल्लेख्य संख्यामा दर्शक गोरुजुधाई हेर्न पुगेका छन् ।

यस्तै, नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा पनि गोरुजुधाइ मेला गरिएको छ । बेत्रावतीमा नाै हल गोरु जुधाइएको छ । तस्बिरमा तारुकाको गोरुजुधाइ मेलाको रौनक प्रस्तुत गरिएको छ ।