१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २ सोमबार १०:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल पावरको ५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २ सोमबार १०:५५:००

बुटवल पावर कम्पनीको ३०औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गर्ने जनाएको छ ।

बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय कायम हुनेछ । कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्रहरू नियमित सञ्चालन भइरहेका छन् ।

साथै, सहायक तथा सम्बद्ध कम्पनीहरूमार्फत सञ्चालित चार मेगावाटको खुदी जलविद्युत् केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् केन्द्रको सञ्चालन हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत्को स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा गएको छ । लमजुङको ३० मेगावाटको न्यादी जलविद्युत् ०७९ वैशाखदेखि सञ्चालनमा आएको छ । ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत्को स्थानीय वित्तीय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्ने तयारी भइरहेको छ । 

तीन चिनियाँ लगानीकर्तासँगको संयुक्त लगानीमा निर्माणको चरणमा रहेका एक सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना, एक सय ३९.२ मेगावाटको तल्लो मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना र तीन सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अर्धजलाशययुक्त अवधारणामा (कुल जम्मा ६ सय एक मेगावाट) अगाडि बढाउने क्रममा छन् ।

मनाङ–मर्स्याङ्दी आयोजनाको निर्माण कार्य चालू आवमै सुरु हुने जनाएको छ । त्यस्तै, ७.९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा रहेको छ । एक सय ६० मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजना र सात मेगावाटको झिमरुक सौर्य आयोजना पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन् ।