मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियन भएको हेल्प नेपाल ।
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २ सोमबार ०८:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हेल्प नेपाल र पुलिस च्याम्पियन

पुलिसकी उषा भण्डारी र हेल्प नेपालका पाकिस्तानी खेलाडी मुवासर राजा प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २ सोमबार ०८:४६:००

हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको पुरुष फाइनलमा हेल्प नेपालले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि जितेको हो । च्याम्पियन हेल्प नेपालले चार लाख रुपैयाँ पाएको छ । आर्मीले दुई लाखमा चित्त बुझायो 

तीन पाकिस्तानी र तीन भारतीय सेनामा आबद्ध नेपाली खेलाडी सम्मिलित हेल्प नेपालले आर्मीलाई दबाबमा राख्दै लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक च्याम्पियन बन्यो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मीले हेल्प नेपालविरुद्ध बलियो चुनौती दिन सकेन । हेल्प नेपालले क्लब च्याम्पियनसिप, लिग र टाइगर कपमा आर्मीसँग व्यहोरेको हारको बदला लिएको छ । हेल्प नेपालले पहिलो सेट २५–२२ ले जित्यो । मानबहादुर तामाङ, हरि अधिकारी, राजेन्द्र विष्ट, हरिहजुर थापालगायतले उत्कृष्ट प्रदर्शन गरे पनि आर्मी दोस्रो सेटमा २६–२४ ले हार्न पुग्यो ।

लगातार दुई सेट गुमाएको आर्मी तेस्रो सेटमा फर्कने प्रयास गर्‍यो । पाकिस्तानी खेलाडीको प्रभावशाली प्रदर्शनपछि हेल्प नेपालले आर्मीलाई कुनै अवसर दिएन । तेस्रो सेट हेल्प नेपालले २५–२३ ले जित निकाल्दै उपाधिमाथि कब्जा जमायो । 

पुलिस एक दशकपछि च्याम्पियन
महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले साबिकको विजेता न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–२ को रोमाञ्चक सेटमा हरायो । पुलिस १० वर्षपछि एनभिए क्लब च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले चार लाख र उपविजेता न्यु डायमन्डले दुई लाख रुपैयाँमा प्राप्त गरेका छन् । पुलिसले अन्तिमपटक ०६९ मा उपाधि हात पारेको थियो । एपिएफ क्लबले तीनपटक ट्रफी उचालेको छ । एपिएफले दोस्रो, चौथो र पाँचौँ संस्करणको उपाधि हात पारेको थियो । यसैगरी, न्यु डायमन्डले तेस्रो र छैटौँ गरी दुईपटक जितेको छ । 

कभर्डहलमा दुई हजार दर्शकले महिलातर्फको फाइनल खेलमा मजा लिए । ललिता नाथको कप्तानीमा रहेको डायमन्डले पहिलो सेट २५–२२ ले जित्यो । कमला पुनको कप्तानीमा पुलिसले दोस्रो सेटमा २५–१७ को जित निकाल्यो । तेस्रो सेटमा डायमन्डले २६–२५ ले बाजी मा¥यो । राष्ट्रिय टोलीका सदस्य प्रतिभा माली र सलिना श्रेष्ठसँगै प्रगति नाथ, रिमा कुवँर चम्किएपछि न्यु डायमन्डले खेलमा फर्कने आशा जगाएको थियो । 

तर, कप्तान कमलासँगै उषा भण्डारी, कामना विष्ट, पुनम चन्दले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले चौथो सेट २५–१९ ले जित्दै २–२ को बराबरी गरेको थियो । पाँचौँ तथा निर्णायक सेटमा स्वाभाविक खेल खेल्दै पुलिस १५–११ ले विजयी भयो । 
यसैगरी, पुरुष तथा महिलातर्फ एपिएफले तेस्रो स्थान हात पारेको छ । महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्‍यो । पुरुष एपिएफले पुलिसलाई ३–१ को सेटमा हरायो । अब महिलातर्फ ६ टोली र पुरुषतर्फ आठ टोलीले वैशाखमा हुने लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

उषा र मुवासर सर्वाेत्कृष्ट खेलाडी 
भलिबल च्याम्पियनसिपको महिलातर्फ सर्वाेत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा घोषित भएका छन् । दुवैले २५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी, उत्कृष्ट सेटरमा महिलातर्फ पुलिसकी कमला पुन र पुरुषतर्फ आर्मीका हरिहजुर थापा भए । डिफेन्सतर्फ न्यु डायमन्डकी सलिना श्रेष्ठ र हेल्प नेपालका दीपक थापा घोषित भएका छन् ।

सर्भरतर्फ महिलामा आर्मीकी संगम महतो र पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा उत्कृष्ट बने । उत्कृष्ट ब्लकरमा महिलातर्फ एपिएफकी कविता भट्ट र पुरुषतर्फ नेपाल पुलिस क्लबका नवीन नगरकोटी रहे । बेस्ट स्पाइकरमा महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली र पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट रहे । उत्कृष्ट प्रशिक्षकमा महिलातर्फ नेपाल पुलिसका रुपेश विष्ट र पुरुषतर्फ हेल्प नेपालका उत्सव खड्का घोषित भए ।