मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १ आइतबार ०९:२९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी र हेल्प नेपाल उपाधिका लागि भिड्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १ आइतबार ०९:२९:००

पुरुषतर्फ त्रिभुवन आर्मी र हेल्प नेपाल तथा महिलातर्फ नेपाल पुलिस र न्यु डायमन्ड स्पोर्टस् क्लब उपाधिका लागि  प्रतिस्पर्धा गर्दै 

त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल सातौँ संस्करणको एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । साबिकको विजेता आर्मीले पहिलो सेमिफाइनलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मी सहज जित निकाल्न सफल भयो । मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, हरि अधिकारी, धनबहादुर भट्ट क्षेत्री, हरिहजुर थापालगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मीले प्रतिस्पर्धात्मक पहिलो सेट २५–२३ ले जितेको थियो । बाँकी दुई सेटमा समेत आर्मीले स्वाभाविक खेल खेल्दै २५–१६ र २५– १७ ले जित निकाल्यो । आर्मीले सेमिफाइनलमा गण्डकी प्रदेशलाई हराएको थियो । 

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले जित निकाल्यो । लगातार दोस्रोपटक फाइनल पुग्ने क्रममा हेल्प नेपालले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । हेल्प नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो । दोस्रो सेटमा पुनरागमन गर्दै पुलिसले २६–२४ ले जित्यो । तेस्रो सेटमा पुनः हेल्प नेपालले प्रभावशाली प्रदर्शन गर्दै २५–१७ को सहज जित निकाल्यो । चौथो सेटमा पुलिसले २५–२० को जित निकाल्दै २–२ को बराबरी गर्न सफल भयो । निर्णायक सेटमा हेल्प नेपाल १५–८ ले विजयी भएको छ ।

महिलातर्फ पुलिस र न्यु डायमन्ड भिड्दै

प्रतियोगिताको महिलातर्फको उपाधि भिडन्तमा विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फको पहिलो सेमिफाइनलमा पुलिसले अर्काे विभागीय टोली एपिएफलाई ३–२ को सेटमा पराजित गर्‍यो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा पुलिसले बाजी मारेको थियो । उषा भण्डारी, कमला पुनलगायत खेलाडी चम्किएपछि पुलिसले पहिलो सेट २५–१५ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा एपिएफले दबदबा कायम राख्दै जित निकाल्न सफल भयो । सरस्वती चौधरी, निरुता थगुन्नालगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा दोस्रो र तेस्रो सेटमा एपिएफले क्रमशः २५–१७ र २५–२१ को जित निकाल्दै २–१ को अग्रता बनायो । चौथो सेट र पाँचौँ सेटमा पुनरागमन गर्दै पुलिसले क्रमशः २५–२१ र १५–७ ले जितेको थियो । 

महिलातर्फको दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । साबिक विजेता न्यु डायमन्डले पहिलो सेट गुमाएर पनि बाँकी सेटमा पुनरागमन जित निकाल्न सफल भएको थियो । पहिलो सेट आर्मीले २५–१७ ले जितेको थियो । कृपा अधिकारीको कप्तानीमा बाँकी सेटमा आर्मी प्रभावशाली देखिएन । राष्ट्रिय टोलीका ओपन स्पाइकर प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठको साथ पाएको न्यु डायमन्ड बाँकी सेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो । सेटर प्रगति नाथले आफूलाई प्रमाणित गर्दा दोस्रो सेटमा न्यु डायमन्डले २५–१९ ले जित्यो । बाँकी दुई सेटमा समेत न्यु डायमन्डले स्वाभाविक खेल खेल्दै २५–१६ र २५–१८ ले जित निकाल्यो ।