मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस वाशिङ्टन
२०७९ पौष ३० शनिबार १३:३९:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनविरुद्धको गठबन्धनलाई बलियो बनाउँदै अमेरिका र जापान

Read Time : > 1 मिनेट
रासस, वाशिङ्टन
२०७९ पौष ३० शनिबार १३:३९:००

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले ह्वाइट हाउसमा अमेरिकी  राष्ट्रपति बाइडेनसँग भेट गरेका छन् । सो अवसरमा दुई देशबीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ ।

दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेका जापानको एनएचके वर्ल्डले उल्लेख गरेको छ । स्थानीय समयअनुसार शुक्रबार ह्वाइट हाउसमा भएको भेटमा प्रधानमन्त्री किशिदा र राष्ट्रपति बाइडेनबीच दुई घन्टा लामो कुराकानी भएको थियो । सो वार्तामा किशिदाले जापानले आफ्नो सुरक्षा रणनीतिमा उल्लेखनीय परिवर्तन गरेको बताएका थिए। सो  परिवर्तित  नीतिहरूमा उल्लेख्यरूपमा रक्षा बजेटमा वृद्धि र काउन्टर स्ट्राइकको योजनालगायतका विविध विषय समावेश छन् ।

क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न जापानी प्रधानमन्त्रीले जापानको सुरक्षा रणनीतिमा जोड दिएकाले सुरक्षा वातावरण पहिलेभन्दा धेरै गम्भीर र जटिल भएको  उल्लेख गरेका एनएचके वर्ल्डले उल्लेख गरेको छ ।

राष्ट्रपति बाइडेन र जापानी प्रधानमन्त्रीले  ताइवान स्ट्रेटमा द्वन्द्वबाट बच्न आफ्नो प्रतिबद्धता दोहोर्याएका बैठकपछि व्हाइट हाउसबाट जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

‘हामी ताइवानमा हाम्रा आधारभूत अडानहरू अपरिवर्तित रहने कुरामा जोड दिन्छौं । साथै  अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र समृद्धिको अपरिहार्य तत्त्वको रूपमा ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने महत्त्वलाई दोहोर्याउँदछौं,’ ह्वाइट हाउसले भनेको छ ।
  
अगस्टको शुरुमा अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले चीनलाई आक्रोशित पार्दै ताइवानको भ्रमण गरेपछि ताइवान वरपरको स्थितिमा सुरक्षा संवेदनशीलता बढेको थियो । यसैगरी पछिल्ला महिनाहरूमा फ्रान्स, जापान र अन्य पश्चिमी देशहरूले पनि यस टापुमा आफ्ना प्रतिनिधिमण्डलहरू पठाएर  सुरक्षा संवेदनशीलतालाई थप पेचिलो बनाएका थिए।

ह्वाइट हाउसको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय रक्षा रणनीति र रक्षा निर्माण कार्यक्रमको पनि प्रशंसा गरेका छन् ।

यसैबीच कोभिड– १९ महामारीलगायतका  विषयमा पर्याप्त र पारदर्शी तथ्यांक उपलब्ध गराएर विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई मद्दत गर्न पनि अमेरिका र जापानका नेतद्वयले चीनलाई विशेष आग्रह गरेका छन् ।  विज्ञप्तिमा भनिएको छ, ‘हामी चीनलाई कोभिड– १९ को फैलावटसम्बन्धी पर्याप्त पारदर्शी एपिडेमियोलोजिकल र भाइरल जीनोमिक अनुक्रम डेटा सार्वजनिक गर्न पनि आह्वान गर्दछौं । जसले विश्वभरका जनस्वास्थ्य अधिकारीहरूलाई महामारिको फैलावट कम गर्न र कुनै पनि सम्भावित नयाँ भेरियन्टहरू पहिचान गर्न सहयोग पुर्याउने छ ।’