मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २८ बिहीबार ०६:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीको महिला टोली सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २८ बिहीबार ०६:४६:००

त्रिभुवन आर्मी क्लबको महिला टोली सातौँ एनभिए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । राखेपको कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि सोझो ३–० को सेटमा जित निकाल्दै अन्तिम चारको स्थान पक्का गरेको हो । सेमिफाइनल पुग्ने आर्मी तेस्रो टोली बनेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी सम्मिलित आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सहज जित निकाल्यो । 

आर्मी समूह ‘बी’बाट लगातार दुई जित निकाल्दै एक खेलअघि नै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको दुई खेलबाट ६ अंक छ । अर्काे विभागीय टोली एपिएफ क्लबको एक खेलबाट तीन अंक रह्यो । लगातार दोस्रो हारपछि गण्डकी अन्तिम चारमा पुग्ने सम्भावना कमजोर बनेको छ । गण्डकी र कृष्ण सेकेन्डरी एकेडेमीले अंक जोड्न सकेका छैनन् । 

आर्मीले एपिएफसँग खेल्नेछ । एपिएफले आर्मी र कृष्ण सेकेन्डरी स्कुलसँग बाँकी खेल खेल्नेछ । महिलातर्फ अर्काे खेलमा एभरेस्ट भलिबल क्लब बुटवलले नयाँबजार सामाजिक युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ । समूह ‘ए’को प्रतिस्पर्धामा एभरेस्टले नयाँ बजारमाथि २५–१२, २५–१२ र २५–१४ को जित निकाल्यो । जितसँगै एभरेस्टले तीन खेलमा तीन अंक जोडेर तेस्रो स्थानमा छ । नयाँबजार अंकविहीन रह्यो । समूह ‘ए’बाट साबिक विजेता न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । न्यु डायमन्ड र पुलिसबीचको विजेता समूह विजेता बन्नेछ ।

पुलिस र हेल्प नेपाल क्वार्टरफाइनलमा 
पुरुषतर्फ नेपाल पुलिस क्लब, ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, हेल्प नेपाल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जित निकालेका छन् । गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस समूह ‘सी’को विजेता बनेको छ । सुरुवाती दुई सेट २५–२३ र २५–२१ ले जितेको पुलिस तेस्रो सेटमा २४–२६ ले पछि पर्‍यो । चौथो सेटमा २५–१५ को जित निकाल्दै पुलिसले ९ अंकसहित अन्तिम आठमा स्थान बनाएको हो ।