मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष २६ मंगलबार ११:५०:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश बुझेका जम्कट्टेल बागमती प्रदेश हाँक्दै

Read Time : > 1 मिनेट
२०७९ पौष २६ मंगलबार ११:५०:००

बागमती प्रदेशको दोस्रो कार्यकालको पहिलो र समग्रमा चौथो मुख्यमन्त्रीका रूपमा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका छन् । 

हिजो महामन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट सपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । 

उनी यसअघि ०७४ मा बनेको पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । ४२ महिना मन्त्री भएका उनी नेकपा विभाजनपछि सरकारबाट बाहिरिएका थिए ।

डोरमणि पौडेललाई विस्थापित गर्दै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको तीनमहिने कार्यकालमा सरकार बाहिर रहेका उनी एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री भएसँगै सरकारमा फर्किएका थिए । 

त्यसक्रममा उनले १५ महिना आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी निभाएका थिए । 

पहिलो कार्यकालको अधिकांश समय सरकारमा रहेका उनले प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । 

त्यसका साथै बागमती प्रदेशको सरकार, यहाँको भूगोल, अहिलेसम्म बनेका सरकारले गरेका राम्रा र नराम्रा सबैखाले कामको जानकारी रहेकाले उनको नेतृत्वमा बागमती सरकारले उल्लेख्य काम गर्न सक्ने धेरैको विश्वास छ । 

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो अनुभवलाई प्रदेशको विकासमा प्रयोग गर्ने बताएका जम्कट्टेलले पदधार ग्रहण गरेसँगै मन्त्रालयको संख्या घटाउने निर्णय गरे । 

वित्तीय संघीयता र प्रादेशिक संरचनाका जानकारसमेत रहेका मुख्यमन्त्री जम्कट्टेल आगामी दिनमा प्रदेशलाई कसरी अगाडि बढाउनेछन् त्यो भने हेर्न बाँकी नै छ । तर, पहिलो निर्णयबाट उनले प्रदेशको खर्च कटौती र मितव्ययीतालाई अंगीकार गर्ने आशा गर्न सकिन्छ । 

यसका साथै, सदनलाई बिजनेस दिने तथा संघीय सरकारसँग रहेको मतभेद हटाउने जिम्मेवारी पनि अब उनको काँधमा आएको छ ।

को हुन् जम्कट्टेल ?
०३० साल भदौमा धादिङको साबिकको किराञ्चोक गाविस– ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इन्चार्ज हुन् । 

आदर्श मावि गजुरीबाट एसएलसी पास गरेका जम्कट्टेलले बिए बिएलसम्मको अध्ययन गरेका छन् । 

०४४ सालमा अखिल छैटौँ हुँदै विद्यार्थी राजनीति सुरु गरेका उनी ०४८ मा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्यसहित केन्द्रीय कोषाध्यक्षसम्म बने । 

उनले ०४७ सालमा ललितपुरको काभ्रे आइरन उद्योगमा मजदुरका रूपमा काम गरेका थिए । सोही समयबाट उनी मजदुर संगठनमा संगठित भएका हुन् । 

मजदुरको क्षेत्रमा लागू भएको सामाजिक सुरक्षा, श्रम ऐन र न्यूनतम वेतन लागू हुनुमा उनीसहितका मजदुरहरूको भूमिका छ । 

०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्रनिकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जम्कट्टेलले ०६३ सालमा अन्तरिम विधायकका रूपमा संसदीय यात्राको सुरुवात गरेका थिए ।

०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट तत्कालीन एमाले नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै उनी राष्ट्रिय राजनीतिमा उदाएका थिए । 

उनी २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनै पाण्डेसँग पराजित भएका थिए । ०७४ मा भने जम्कट्टेलले वामगठबन्धनका उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रेर कांग्रेसका प्रभातकिरण सुवेदीलाई पराजित गरेका थिए । 

गत ४ मंसिरमा सम्पन्न प्रदेश सभाको दोस्रो निर्वाचनमा जम्कट्टेल कांग्रेस र माओवादीसहितको तत्कालीन सत्तागठबन्धनको साझा उम्मेदवारको रूपमा पुनः धादिङ १ को प्रदेश २ बाट विजयी भए । यसअघि पनि उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।