१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लाउरा ही
२०७९ पौष २६ मंगलबार ०८:४८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कस्तो होला सन् २०२३ मा चीनको अर्थतन्त्र ?

संक्रमण विस्तारका कारण सन् २०२३ का सुरुवाती केही महिना चीनको अर्थतन्त्रका लागि उतारचढावपूर्ण हुनेछ

Read Time : > 2 मिनेट
लाउरा ही
२०७९ पौष २६ मंगलबार ०८:४८:००

चीन तीन वर्ष लामो कोभिड आइसोलेसनबाट निस्किएर विश्वसँग पुनः घुलमिल हुन खोज्दै छ । लामो समयदेखि व्यवसायहरूको दम घोटिरहेको कठोर शून्य–कोभिड रणनीतिबाट हालैको बहिर्गमनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा ऊर्जाको प्रसार गर्ने अपेक्षा गरिएको छ । कोभिड लकडाउन तथा सीमा नियन्त्रणले चीनलाई बाँकी विश्वबाट विच्छेद बनाउँदै आपूर्ति शृंखला अवरुद्ध पारेको थियो भने व्यापार तथा लगानीको प्रवाहलाई क्षति पुर्‍याइरहेको थियो ।

 विश्व अर्थतन्त्रले ऊर्जा अभाव, वृद्धि सुस्ती तथा उच्च मुद्रास्फीतिलगायत चुनौती सामना गरिरहेको समयमा चीन खुल्दा त्यसले विश्वलाई अत्यावश्यक एवं सामयिक प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ । यद्यपि, अर्थशास्त्रीहरूका अनुसार शून्य कोभिड नीतिबाट बहिर्गमन चीनका लागि अनिश्चित र पीडादायी हुने सम्भावना छ । संक्रमण विस्तारका कारण सन् २०२३ का केही महिना अर्थतन्त्रका लागि उतारचढावपूर्ण हुनेछ । चीनको सम्पत्ति (घरजग्गा क्षेत्र) बजारमा आएको ऐतिहासिक गिरावट एवं सम्भावित विश्वव्यापी मन्दी नयाँ वर्षको थप टाउको दुखाइ हुन सक्छ ।

‘कोभिड प्रसारको सामना गर्ने चीनको तयारी एकदमै कमजोर रहेकाले अर्थतन्त्रले छोटो अवधिमा प्रगतिको सट्टा समस्याको सामना गर्ने सम्भावना छ,’ बोस्टनस्थित लगानी कम्पनी लुमिस सेल्स एन्ड कम्पनीका विज्ञ बो झुआङ भन्छन् । अभूतपूर्व आर्थिक नोक्सानी र चौतर्फी निराशाका बाबजुद चीन करिब तीन वर्ष भाइरसप्रति शून्य सहनशलीताको विधिमा अड्यो । यही कारण उसले सन् २०२२ मा वृद्धिमा तीव्र गिरावट, व्यवसायहरूको मुनाफामा कमीका साथै कीर्तिमानी स्तरको युवा बेरोजगारी साक्षात्कार गर्‍यो । 

बढ्दो सार्वजनिक अशान्ति तथा वित्तीय दबाबमाझ चीन सरकार शून्य–कोभिड नीति परित्याग गर्दै गत महिना अचानक मार्ग परिवर्तन गर्न बाध्य भयो । प्रतिबन्ध खोल्दा धेरैलाई राहत भए पनि शून्य नीतिमा आकस्मिक परिवर्तनले नागरिकहरू सुरक्षाकवचविहीन भएका छन् । ‘प्रतिबन्धहरू एकैपटक खोल्दा प्रारम्भिक चरणमा संक्रमणको छाल आउन सक्छ, त्यसले स्वास्थ्य सेवा प्रणालीलाई अस्तव्यस्त बनाउनुका साथै उपभोग तथा उत्पादनलाई पनि कमजोर बनाउन सक्छ,’ झुआङ भन्छन् ।

चीनको जिडिपीको करिब २० प्रतिशत हिस्सा ओगटेको र करिब १८ करोड रोजगारीमा योगदान रहेको व्यापार क्षेत्रको प्रदर्शन विश्वव्यापी आर्थिक मन्दीका कारण कमजोर देखिन थालेको छ । गत महिना चीनको निर्यात एक वर्षअघिको सोही समयको तुलनामा ८.७ प्रतिशत संकुचित थियो ।

अहिले नै संक्रमणको तीव्र प्रसारले धेरै मानिस घरभित्र धकेलिइसकेका छन् भने पसल र रेस्टुरेन्टहरू रित्ता देखिन्छन् ।कामदारहरूमा संक्रमण फैलिँदा कलकारखाना तथा कम्पनीहरू पनि बन्द गर्न वा उत्पादन कटौती गर्न बाध्य छन् । ‘कोभिडसँगै बाँच्नु धेरैले सोचेभन्दा गाह्रो हुनेछ,’ क्यापिटल इकोनोमिक्सका विश्लेषक भन्छन् । 

दोस्रो त्रैमासिकमा सामान्य अवस्थामा फर्किनुअघि सन् २०२३ को पहिलो त्रैमास चीनको अर्थतन्त्र ०.८ प्रतिशतले संकुचित हुने विज्ञहरूको अनुमान छ । विज्ञहरूले आफ्ना पछिल्ला प्रतिवेदनमा चीनको अर्थतन्त्रमा मार्चपछि सुधार आउने उल्लेख गरेका छन् । हालैको अनुसन्धान प्रतिवेदनमा एचएसबिसीका अर्थशास्त्रीहरूले पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ०.५ प्रतिशत खुम्चिए पनि यो वर्ष समग्रमा पाँच प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेका छन् ।

सम्पत्ति बजार :  शून्य कोभिड नीतिबाट चीनको परावर्तन कमजोर अर्थतन्त्र एक मात्र कारक होइन । घरजग्गा क्षेत्रमा आइपरेको संकटले पनि यो कठोर नीतिबाट फिर्तीलाई बाध्यकारी बनाएको हो । चीनको जिडिपीमा ३० प्रतिशत योगदान रहेको सम्पत्ति क्षेत्रलाई ठिक ठाउँमा ल्याउनु नीति–निर्माताहरूका निमित्त चुनौतीपूर्ण हुनेछ । 

थुप्रै हाई प्रोफाइल डेभलपर्सहरू आफ्नो ऋण दायित्व चुकाउन विफल भएपछि सन् २०२१ को उत्तरार्धबाट सुरु भएको यो संकटले मुलुकभर पहिले नै बिक्री भइसककेका घरहरूको निर्माणमा ढिलाइ वा अवरुद्ध गरेको छ । खरिद गरिएका आवास समयमै नपाउने तर ऋणको किस्ता भने तिरिरहनुपर्ने भएपछि घर तथा आवासका खरिदकर्ताहरू प्रदर्शनमा समेत उत्रिए ।

उनीहरूले निर्माण सम्पन्न नभएका आवासका लागि लिइएका ऋण तिर्न अस्वीकार गरेका थिए । क्रेडिट क्रन्च (तरलता अभाव)लाई न्यून गर्न गत महिना १६ बुँदे योजना अनावरण गर्दै बेइजिङले यो क्षेत्रलाई बचाउन शृंखलाबद्ध प्रयास गरे पनि तथ्यांकहरूले अझै पनि उदास चित्र प्रस्तुत गर्छन् । सन् २०२२ को पहिलो ११ महिनामा सम्पत्ति बिक्री २६ प्रतिशतभन्दा बढीले कमी आएको छ भने यो क्षेत्रको लगानीमा ९.८ प्रतिशतले गिरावट आएको छ ।

गत वर्षको अन्त्यताका आयोजित मुख्य नीति बैठकमा चीनका शीर्ष नेताहरूले सन् २०२३ मा अर्थतन्त्रमा सुधार ल्याउने वाचा गरेका थिए । उनीहरूले सम्पत्ति क्षेत्रको वित्तीय अवस्था सुधार गर्ने र बजारको मनोबल उकास्ने नयाँ उपाय ल्याउने बताएका छन् । ‘अहिलेसम्म घोषणा गरिएका उपाय पुनरुत्थानका लागि पर्याप्त छैनन्, तर नीति–निर्माताले थप सहयोग ल्याउन लागेको संकेत गरेका छन्,’ क्यापिटल इकोनोमिक्सका विश्लेषकले भने । 

विश्वव्यापी मन्दीको त्रास : सन् २०२३ मा चीनको आर्थिक परिदृश्यलाई आकार दिनमा विश्वव्यापी मन्दीको मुख्य हात हुनेछ । सन् २०२२ को सुरुवाती समय चीनको व्यापार क्षेत्र उत्साहपूर्ण रह्यो । कमोडिटी बजारमा मूल्यको उछाल र चीनको मुद्राको अवमूल्यनका कारण निर्यात व्यापार क्षेत्रले वृद्धिको साक्षात्कार गरेको थियो । तर, चीनको जिडिपीको करिब २० प्रतिशत हिस्सा ओगटेको र करिब १८ करोड रोजगारीमा योगदान रहेको व्यापार क्षेत्रको प्रदर्शन विश्वव्यापी आर्थिक मन्दीका कारण कमजोर देखिन सुरु गरेको छ । गत महिना चीनको निर्यात एक वर्षअघिको सोही समयको तुलनामा ८.७ प्रतिशत संकुचित थियो । यो सन् २०२० को फेब्रुअरीयताको सबैभन्दा खराब प्रदर्शन हो । 

बढ्दो मुद्रास्फीतिको सामना गर्न विश्वभरका नीति–निर्माताले निरन्तर ब्याजका दरमा वृद्धि गरिरहँदा मुलुकहरूले मन्दी साक्षात्कार गर्न थालेका छन् । क्यापिटल इकोनोमिक्सका विश्लेषक चीनकोे निर्यातमा देखिएको महामारी–युगको उछाल उल्टिसकेको बताउँछन् । मन्दीको अर्थ आगामी केही त्रैमास चीनको व्यापार थप खस्किनेछ भन्ने नै हो ।
(ही सिएनएनकी पत्रकार हुन्) – सिएनएनबाट