१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ पौष २५ सोमबार ०८:३५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संघीय संसद्को पहिलो बैठक आज

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ पौष २५ सोमबार ०८:३५:००
  •  संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता तथा स्वतन्त्र सांसदले सम्बोधन गर्ने 
  • दलीय आधारमा मन्तव्य तथा सम्बोधनका लागि दुई घन्टा समय विभाजन
  •  राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर हुँदै 
  •  कोभिड प्रोटोकलअनुसार सिट व्यवस्थापन

संघीय संसद्को पहिलो बैठक आज बस्दै छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर अन्तिम परिणाम घोषणा भएपछि राष्ट्रपति भण्डारीले २५ पुस (आज)का लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी थिइन् । निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यले ७ पुसमा शपथ लिइसकेका छन् । 

पहिलो बैठकसँगै सोमबारबाट प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालको काम–कारबाही औपचारिक रूपमा सुरुवात हुँदै छ भने राष्ट्रिय सभाको अर्काे अधिवेशन प्रारम्भ हुँदै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।

संविधान निर्माणपछि व्यवस्थापिका संसद्बाट रूपान्तरित प्रतिनिधिसभाको उचारचढावपूर्ण पहिलो कार्यकाल सकिएर ४ मंसिरमा निर्वाचन भएको थियो । दुई सदनात्मक व्यवस्था भएको संघीय संसद्को अधिवेशन १ असोजमा राष्ट्रपति भण्डारीले अन्त्य गरेकी थिइन् । 

संसद् सचिवालयका महासचिव भरतराज गौतम भन्छन्‘ राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, नयाँ प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पढेर सुनाउनेछन् । पुरानै नियमावलीबाट सभा सञ्चालन गर्ने सर्वदलीय बैठकको निर्णयबमोजिम सचिवालयले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव पेस र स्वीकृत गर्ने कार्यसूची बनेको छ । जबराले संविधानको धारा १०४ अनुसार नयाँ नियमावली नबनाएसम्म यसै नियमावलीबाट कामकारबाही गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सर्वसम्मति भएकाले सभाले स्वीकृत गर्नेछ ।’

प्रतिनिधिसभामा कांग्रेसका ८९, एमालेका (स्वतन्त्र किरणकुमार साहसहित) ७९, माओवादी ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, जनमोर्चा र नेमकिपाका एक–एक, चारजना (प्रभु साह, अमरेशकुमार सिंह, योगेन्द्र मण्डल र लालवीर चौधरी) स्वतन्त्र सांसद रहेका छन् ।

राष्ट्रिय सभामा एमालेका १६, माओवादी १५, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा र जनमोर्चा एक–एक, स्वतन्त्र एक, मनोनीत तीनजना सदस्य रहेका छन् । 

सिट व्यवस्थापनमा कुन दल कता ? 
सचिवालयका तर्फबाट सत्ता पक्ष र प्रतिपक्षी छुट्याएर सिट व्यवस्थापन गरिएको सहायक प्रवक्ता धमलाले बताए । सरकारलाई समर्थन गर्ने दलहरूलाई पनि सत्तापक्षीय भनेर छुट्याइएको छ । ‘सत्ता पक्ष र प्रतिपक्षीतर्फ दलगत सदस्य रहने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने ।

सचिवालयले दलहरूलाई सत्ता पक्ष वा प्रतिपक्षमा रहने भनेर सोधेको थियो । दलहरूको जवाफअनुसार सत्ता र प्रतिपक्ष छुट्याइएको हो । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षी सिट रोजेको छ । नाउपाबाहेक प्रतिपक्षीमा कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा र स्वतन्त्र तीनजना सांसद रहेका छन् ।

 राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर
राष्ट्रिय सभाले नियमित कार्यसँगै यो अधिवेशनबाट मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रारम्भ गर्ने भएको छ । पहिलो बैठकको एजेन्डा तय गर्न आइतबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले यसै अधिवेशनबाट मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गर्ने निर्णय गरेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । ‘सचिवालयले आवश्यक तयारी र प्रक्रिया सम्पन्न गरेपछि प्रारम्भ हुनेछ,’ उनले भने । राष्ट्रिय सभा कार्यव्यवस्थाले पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची बनाएको छ । 

 कोभिड प्रोटोकलले असुविधा
सचिवालयले कोभिड प्रोटोकलअनुसार सिट व्यवस्थापन गर्दा केही दललाई असुविधा हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएको र सन्त्रास कायमै रहेकाले एउटा सिट खाली छाडेर अर्काे सिटमा बस्ने व्यवस्था मिलाइएको छ । एक सिट खाली राख्दा केही दलको नेतालाई पहिलो लाइनमा बस्न सुविधा नहुने स्थिति आएको हो । ‘त्यहाँ भएको सिट संख्याका आधारमा सबै दललाई व्यवस्था मिलाउँदा हामीले सकेसम्म सबै दलको नेता अगाडि बस्न मिल्ने गरी प्रयास गरेका हौँ । तर, केही दलका लागि सम्भव भएन । उहाँहरूको प्रबन्ध पछाडितिर रहँदै जाने व्यवस्था हुन्छ,’ सहायक प्रवक्ता धमलाले भने । 

यस्ता छन् प्रतिनिधिसभाका एजेन्डा
संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सञ्चालन गर्ने प्रतिनिधिसभाको पहिलो बैठकको एजेन्डा २२ पुसमा बसेको सर्वदलीय बैठकले तय गरेको थियो । सोहीअनुसार संसद् सचिवालयले बैठकको कार्यसूची बनाएको छ ।सचिवालयका महासचिव भरतराज गौतमका अनुसार राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, नयाँ प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू ज्येष्ठ सदस्य जबराले पढेर सुनाउनेछन् ।

पुरानै नियमावलीबाट सभा सञ्चालन गर्ने सर्वदलीय बैठकको निर्णयबमोजिम सचिवालयले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव पेस र स्वीकृत गर्ने कार्यसूची बनाएको छ । ज्येष्ठ सदस्य जबराले संविधानको धारा १०४ अनुसार नयाँ नियमावली नबनाएसम्म यसै नियमावलीबाट कामकारबाही गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सर्वसम्मति भएकाले सभाले स्वीकृत गर्नेछ । 

सचिवालयले ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची बनाएको छ । कांग्रेस र एमालेबाट दुई–दुईजना र अन्य दलबाट एक–एकजना मनोनीत गरी सात सदस्यीय अध्यक्षमण्डल बनाइने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । 

धमलाका अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनपछि संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता तथा स्वतन्त्र सांसदले सम्बोधन गर्नेछन् । दलीय आधारमा मन्तव्य तथा सम्बोधनका लागि दुई घन्टा समय तोकिएको छ । पहिलो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्रीबाट आएको पत्रको जानकारी दिने तथा विश्वासको मत लिने दिन औपचारिक रूपमा तोकिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिनका लागि आवश्यक प्रबन्ध गर्न महासचिव गौतमलाई पत्र लेखेका छन् । 

सर्वदलीय बैठकमा भएको सहमतिअनुसार पहिलो बैठकले विश्वासको मतका लागि २६ गते बिहान ११ बजे दोस्रो बैठक तोक्नेछ । अन्तिममा तीनजना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रतिनिधिसभाको कार्यसूची संसद् सचिवालयले बनाएको छ ।