मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस काठमाडौं
२०७९ पौष २४ आइतबार १३:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ पौष २४ आइतबार १३:४६:००

केही दिन अघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको स्टोरेजसम्बन्धी समस्या समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ।

नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्। उनका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको समाधानका लागि प्राविधिक टोली झिकाइएको हो। सो टोली सोमबारसम्म नेपाल आइपुग्ने बताइएको छ।

सापकोटाले केही दिनअघि समस्या देखिएपछि यसको समाधान खोज्ने काम जारी रहेको र सुरुको तुलनामा केही सुधार भएको जानकारी दिइन्। नेपालमा ०७८ मंसिर १५ देखि सुरु भएको विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको थियो। त्यसैले यस प्रणालीमा सुधारका लागि पनि सोही टोलीलाई झिकाइएको हो।

विभागको ‘सिस्टम’मा समस्या आई राहदानी छपाइ तथा वितरण कार्यमा समस्या देखिएपछि प्रवक्ता तथा निर्देशक सापकोटाले सूचना जारी गर्दै समाधानको पहल भइरहेको जानकारी दिएकी थिइन्। उक्त सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन भनिएको छ।

त्यस्तै विभागले अर्को एक सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा ‘अप्वाइन्टमेन्ट’का लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र लाइफ ‘इनरोलमेन्ट’ सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको थियो।