मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १७ आइतबार ०७:३१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन् २०२२ मा अन्तर्राष्ट्रिय खेलकुद

Read Time : > 3 मिनेट
२०७९ पौष १७ आइतबार ०७:३१:००

खेलकुदमा मिठा–नमिठा यादहरू छाड्दै वर्ष २०२२ हामीबाट बिदा भएको छ । दोस्रोपटक एसियाली भूमिमा विश्वकप आयोजना हुँदा अर्जेन्टिनाले ३६ वर्षपछि ट्रफी चुम्न सफल भयो । विश्वकपको चर्चा सेलाउन नपाउँदै विश्व फुटबलकै ‘कालो मोती’ उपनाम दिइएका पेलेको निधन भयो । टेनिसमा इतिहास रचेका दुई खेलाडी रोजर फेडेरर र सेरेना विलियम्सले सन्न्यास लिए । इंग्ल्यान्डले टी–२० विश्वकप क्रिकेट जित्यो । २०२२ को अन्तर्राष्ट्रिय खेलकुद यस्तो रह्यो :

अर्जेन्टिना तेस्रोपटक विश्वकप विजेता
फुटबलकै बृहत् प्रतियोगिता फिफा विश्वकप गत वर्ष नै भयो । मध्यपूर्वी एसिया कतारमा पहिलोपटक आयोजना भएको विश्वकपमा सहभागी ३१ राष्ट्रलाई पाखा लगाउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि उचाल्यो । ९२ वर्षको विश्वकप इतिहासकै सनसनी र नाटकीय मानिएको फाइनलमा अर्जेन्टिनाले साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हरायो । अर्जेन्टिनाले विश्वकप जितेको यो तेस्रोपटक हो । 

फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि ‘ब्याक टु ब्याक’ उपाधि जित्नबाट २०१८ को विजेता फ्रान्स वञ्चित भयो । विश्वकपमा ब्राजिल र इटालीले मात्र ‘ब्याक टु ब्याक’ उपाधि जितेको रेकर्ड छ । वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीको कलात्मक खेल र गोलरक्षक मार्टिनेजको उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स यसपटक उपविजेतामै सीमित भयो । तर, फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले आफ्नो नाममा रेकर्ड राख्न सफल भए । सन् १९६६ पछि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी बने । 

फाइनलमा ह्याट्रिक गरेर पनि उपाधि जित्न नसक्ने खेलाडी पनि एम्बाप्पे बनेका छन् । विश्वकपमा एम्बाप्पेले सर्वाधिक आठ गोल गर्दै गोल्डेन बुट हात पारे । एम्बाप्पेलाई पछ्याएका मेसीले सात गोल गरे, जसमा चारपटक पेनाल्टीमा गोल गरेका थिए । विश्वकपमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान मेसीले नै आफ्नो नाममा राखे । त्यसैगरी, क्रिस्ट्रियानो रोनाल्डोले लगातार पाँच संस्करणमा गोल गर्ने कीर्तिमान आफ्नो नाममा राखे । यसपटकको विश्वकपमा अप्रत्याशित नतिजा धेरै निस्किए । विशेष गरी एसियाली तथा अफ्रिकन राष्ट्रले सनसनीपूर्ण नतिजा निकाले । जापानले स्पेन र जर्मनीमाथि २–१ को जित हात पार्‍यो । साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले स्तब्ध पार्‍यो । सेनेगलले फ्रान्सलाई १–० ले हरायो ।

दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले पन्छायो । विश्वकपमा पहिलोपटक तीन एसियन राष्ट्रले प्रिक्वार्टरफाइनल स्थान बनाए । मोरक्कोले कतारमा इतिहास रच्दै सेमिफाइनल स्थान पक्का बनायो । अफ्रिकन राष्ट्रबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बन्ने क्रममा मोरक्कोले नकआउट चरणमा क्रमशः स्पेन र पोर्चुगललाई हरायो । जर्मनी लगातार दुईपटक समूह चरणबाटै बाहिरियो । ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भयो ।  विश्वकप इतिहासमै महँगो आयोजना मानिएको कतारले दुई सय २० बिलियन डलर खर्च गरेको थियो । प्रतियोगितापूर्व आप्रवासीमाथि भएको व्यवहारको ठूलै विरोध भएको थियो । यद्यपि, कतारले ती सबै आलोचना बिर्साउने गरी सफलतापूर्वक विश्वकप आयोजना गर्‍यो ।

फेडेरर र सेरेनाको सन्न्यास
टेनिस समर्थकहरूले २०२२ लाई बिर्सन सक्नेछैनन् । गत वर्ष विश्व टेनिसमा तहल्का मच्चाएका दिग्गज खेलाडीहरूले सन्न्यास लिए । पुरुषतर्फ स्विट्जरल्यान्डका रोजर फेडेररले सन्न्यास लिए । उनी २० पटक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी हुन् । त्यसैगरी, महिलातर्फ अमेरिकाकी सेरेना विलियम्सले सन्न्यास लिइन् । महिलातर्फ सर्वाधिक २३ ग्रान्डस्लाम जित्ने कीर्तिमान उनकै नाममा छ । यी दुवै खेलाडी उत्कृष्ट फर्ममा रहँदा अन्य खेलाडीले उनीहरूलाई हराउन अति नै मिहिनेत गर्नुपरेको थियो । सेरेनाले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन नै करिअरको अन्तिम प्रतियोगिता हुने बताएकी थिइन् । 

फेडेररको बिदाइ निकै भावुक बनेको थियो । उनका समकालीन साथीहरू राफेल नाडाल र नोभाक जोकोभिकले फेडेररको अन्तिम प्रतियोगिता लेभर कपमा सहभागिता जनाएका थिए । पछिल्लो १५ वर्षमा टेनिस क्षेत्रमा यी तीनजना खेलाडीले ग्रान्डस्लाम र एटिपी मास्टर्स सिरिजमा कब्जा जमाए । संयोगले आफ्नो करिअरकै नम्बर एक प्रतिद्वन्द्वी नाडाललाई जोडी बनाएर फेडेररले प्रतिस्पर्धा गरेका थिए । २१ वर्षको करिअरमा फेडेररले १५ सयभन्दा बढी एकल खेल खेलेका थिए । फ्रान्सका जो वाइल्डफिल, स्पेनका जुआन मार्टिनडेल र एस्ली वार्टलीले पनि खेल क्षेत्रबाट सन्न्यास लिए । नाडालले कीर्तिमानी रूपमा २२औँ ग्रान्डस्लाम र जोकोभिकले २१औँ पटक ग्रान्डस्लाम गत वर्ष नै जिते । 

चर्चित हस्ती गुमाएको वर्ष

सन् २०२२ मा समर्थकहरूले फुटबल र क्रिकेट विश्वकपको मजा लिए । त्यहीँ नै उनीहरूले विश्व खेलकुदमा नाम कमाएका व्यक्तित्व पनि गुमाए । विश्व खेलकुदकै आदर्श खेलाडीका रूपमा लिइने ब्राजिलका पेले गत वर्ष नै संसारबाट बिदा भए । कीर्तिमानी रूपमा तीनपटक विश्वकप ब्राजिललाई दिलाएका पेले क्यान्सरबाट पीडित थिए । त्यसैगरी, क्रिकेटमा दुई विश्व च्याम्पियन खेलाडीको निधन भयो । टेस्ट क्रिकेटमा कीर्तिमान बलिङ गरेका सेन वार्न गत मार्चमा एक रिसोर्टमा मृत अवस्थामा भेटिएका थिए । टेस्ट खेलमा उनले सात सय आठ विकेट लिएका थिए । अस्ट्रेलियाका एन्ड्यु साइमोन्डको कार दुर्घटनामा निधन भयो । यसैगरी, क्रिकेटका अम्पायर असद राउफको ६६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । 

इंग्ल्यान्ड टी–२० विश्व च्याम्पियन
विश्व क्रिकेटमा लगातार एकदिवसीय र टी–२० विश्वकप जित्ने कीर्तिमान इंग्ल्यान्डले राख्यो । गत वर्ष अस्ट्रेलियामा आयोजना भएको आइसिसी टी–२० विश्वकपमा इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि हात पार्‍यो । पाकिस्तान तेस्रोपटक फाइनल पुग्दा दुईपटक उपविजेता बन्यो । टी–२० विश्वकपमा अफगानिस्तानले सनसनी नजिता निकाल्यो । दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा पाकिस्तान सेमिफाइनलमा पुग्यो । प्रतियोगितामा भारतका विराट कोहली सर्वाधिक रनकर्ता बने । उनले दुई सय ९६ रन बनाए । श्रीलंकाली वानिन्दु हसरांगाले सर्वाधिक १५ विकेट हात पारे । व्यक्तिगत रूपमा पाकिस्तानका बाबर अजामले एकै वर्ष सर्वाधिक रन बनाउने कीर्तिमान आप्mनो नाममा राखे । विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि गुजरातले जित्यो । गुजरातले फाइनलमा राजस्थान रोयल्समाथि सात विकेटको जित निकाल्यो ।

च्याम्पियन्स लिगमा म्याड्रिडको कीर्तिमान
गत वर्ष स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी रूपमा १३औँ पटक उपाधि उचाल्यो । म्याड्रिडले फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले हराउँदै उपाधि हात पारेको थियो । म्याड्रिडले १६औँ तथा लिभरपुलले नौपटक फाइनल खेलेका थिए । सन् २०१८ मा पनि लिभरपुल म्याड्रिडसँगै फाइनलमा पराजित भएको थियो । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्‍यो । रियल म्याड्रिडले बार्सिलोनालाई निराश पारी स्पेनिस ला लिगा हात पार्‍यो । रियललाई च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका खेलेका फ्रान्सका करिम बेन्जिमा वर्षको उत्कृष्ट फुटबलरका रूपमा ‘बालोन डिअर’ जित्न सफल रहे । इटालीको सिरिए लिगमा एसी मिलानले उपाधि जित्यो । जर्मनीमा बायर्न म्युनिखले लगातार ११ पटक बुन्डेस लिगाको उपाधि जित्ने रेकर्ड बनायो ।