मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष १६ शनिबार १८:४४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तौलअगावै बेच्न ल्याइयाे सयौँ ट्याक्टर धान, 'नक्कली किसान'लाई कडाइ 

Read Time : > 1 मिनेट
२०७९ पौष १६ शनिबार १८:४४:००

सिराहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले खरिद गर्ने धान तौल सुरु हुन तीन दिन पहिलेदेखि नै किसानले सयौँ ट्याक्टर धान ल्याएर लाइनमा लगाएरका छन्। 

प्राथमिक धान खरिद समितिको गत २८ मंसिरको निर्णयअनुसार १७ पुसदेखि किसानबाट धान खरिद गर्ने निर्णय गरिएपछि शाखा उत्तरपट्टि इलाका प्रशासन कार्यालय जाने भित्री सडकमा धान लोड गरिएका सयौँ ट्याक्टरको लाइन लागेको छ। 

जिल्लाका विभिन्न ठाउँबाट ट्याक्टरमा धान लोड गरेर आएका किसानहरू आफ्नो धान अगाडि नै तौल गराउन शुक्रबारदेखि नै ट्याक्टरको लाइनसँगै बसेका छन्। सिराहाको बरियारपट्टी ५ कजराबाट शुक्रबार दिउँसो नै ट्याक्टरमा धान लोड गरेर आएका जिबछ यादवले भने, ‘तौल सुरु भएपछि पालो आउन चार/ पाँच दिन लाग्ने भएकाले तीन दिनअगाडि नै आएको हुँ।’ 

खरिद समितिको निर्णयअनुसार शाखाको प्रांगणमा खोलिएको धान खरिद केन्द्रमा धान बेच्न सिराहा, सप्तरीका किसानहरू आउने शाखा प्रमुख रबनकुमार यादवले जानकारी दिए। 

शाखा प्रमुख यादवका अनुसार १७ पुस आइतबार बिहानदेखि केन्द्रले सोना मन्सुली र जिरा मसिनो कतर्नी धानको तौल गरी खरिद गर्दै छ।  

शाखाले यो पल्ट १५ हजार क्विन्टल सोना मन्सुली र पाँच हजार क्विन्टल जिरा मसिनो कतर्नी धान खरिद गर्ने कोटा प्राप्त भएको उनले बताए। ‘खरिद समितिको निर्णयअनुसार सोना मन्सुली प्रतिक्विन्टल तीन हजार एक सय २८ र जिरा मसिनो कतर्नी प्रतिक्विन्टल तीन हजार आठ सय रुपैयाँको दरले खरिद गर्दै छौँ,’ उनले भने।

गत आर्थिक वर्ष २०७८-०७९ मा सिराहा, सप्तरी र उदयपुरका किसानबाट १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरिएको शाखाले जनाएको छ। शाखाका अनुसार त्यसअघि  आ.व. २०७७-०७८ मा २२ हजार पाँच सय ७१ क्विन्टल ४५ किलो सोना मन्सुली धान खरिद गरिएको थियो। 

नक्कली किसानलाई कडाइ 

स्थानीय बजारमा प्रति क्विन्टल दुई हजार चार सय रुपैयाँसम्म बिक्री हुने सोना मन्सुली धान खाद्यले सात रुपैयाँ बढी मूल्यमा खरिद गर्ने भएपछि व्यापारी, गल्ला चलाइरहेका नक्कली किसान रोक्न शाखाले धान बेच्न आउने किसानका लागि सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस, जग्गाधनी दर्ता प्रमाण पुर्जा र नागरिकताको प्रमाणपत्र अनिवार्य गरेको छ। 

‘सरकारले दिएको सुविधा वास्तविक किसानले पाऊन् भन्ने उद्देश्यले वास्तविक किसानलाई मात्र सिफारिस गर्न खाद्य र कृषि ज्ञान केन्द्रले छुट्टाछुट्टै रूपमा सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेका छौँ,’  शाखा प्रमुख यादवले भने, ‘आवश्यक प्रमाण पुर्याएर आएका एक किसानबाट एकपटक वा पटक-पटक गरी ५० क्विन्टलसम्म धान खरिद गरिनेछ।’ 

त्यसअघि एक किसानबाट एक सय क्विन्टलसम्म धान खरिद गरिएको भए पनि सरकारी मूल्यबाट बढी किसानले लाभ उठाउन भन्ने उद्देश्यले खरिद समितिले ५० क्विन्टल कायम गरेको उनले बताए।