अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नारायणगढको क्याम्पा चौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ।
डिजिफ्लाई ब्राण्डिङ एजेन्सीले एस्ट्रल युथ सोसाइटी चोकबजारको सहकार्यमा पुस १६ र १७ गते अर्थात डिसेम्बर ३१ र जनवरी १ तारिखमा दुईदिने ‘चितवन म्युजिक फेस्ट’ को आयोजना गर्न लागिएको हो।
आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। डिजिफ्लाई ब्राण्डिङ एजेन्सका सिईओ प्रसुन श्रेष्ठका अनुसार फेस्टमा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिसँगै फुड स्टलहरु पनि रहने छन्।
फुडका लागि १७ वटा स्टल आयोजकले निशुल्क उपलब्ध गराएको छ। यस्तै गेम स्टल, फेस पेन्टिङ स्टल पनि रहनेछन्। यस कार्यक्रममा सहभागि हुन पाँच सयको रेगुलर र एक हजारको भिआईपी टिकटको व्यवस्था गरिएको श्रेष्ठले बताए।
ऐजेन्सका संस्थापक अध्यक्ष निशान्त केडियाका अनुसार सबै वर्गका स्रोता र दर्शकलाई मध्यनजर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनको लागि फेस्ट आयोजना गरिएको हो। कार्यक्रम पुस दिउँसो ३ बजे सुरु भएर सांस्कृतिक कार्यक्रम सहित ९ः३० बजे सम्म चल्ने छ।
फेस्ट सम्पन्न गर्न रु.६५ लाख हाराहारीमा खर्च हुने एस्ट्रल युथ सोसाइटीका अध्यक्ष प्रकाश भुजेलले जानकारी दिए। दुई दिनको अवधिमा दश हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने आयोजकको अनुमान छ। कार्यक्रममा सविन राई, नवीन के भट्टराई, कबवेब ब्याण्ड, कालीप्रसाद बास्कोटा, दि एलिमेन्ट्सको प्रस्तुति रहनेछ।
पहिलो दिन शनिबार नबिन के भट्टराई, कालीप्रसाद बास्कोटा र दि इलिमेन्ट्सको प्रस्तुति रहनेछ। दोस्रो दिन सविन राई, कबवेब ब्याण्ड र कट्टवले दर्शक झुमाउनेछन्।
यस्तै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने भुजेलले बताए। पत्रकार सम्मेलनमा उपस्थित भएका बास्कोटाले चितवनका धेरै कार्यक्रममा सहभागी भएपनि यो कार्यक्रम नौलो भएको भन्दै उपस्थितिका लागि चितवन वासीलाई अनुरोध गरेका थिए।