१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १३ बुधबार ०८:०४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग : अन्तिम बलमा छक्कासँगै लुम्बिनीको रोमाञ्चक जित

इनिङ्सको अन्तिम बलमा पाँच रन चाहिएको अवस्थामा स्याड्लीले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाउन सफल भए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १३ बुधबार ०८:०४:००

लुम्बिनी अल स्टार्सले सोमबार नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितसँगै लुम्बिनी ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लगातार तेस्रो खेलमा हार सामना गरेको पोखरा पुछारमा रह्यो । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन जोड्यो । 

 अन्तिम ओभरमा आठ रन आवश्यक
लक्ष्य पछ्याएको इनिङ्सको अन्तिम ओभरमा लुम्बिनीलाई आठ रनको आवश्यकता थियो । क्रिजमा अनिल शाक र स्याड्ली भान थिए । पोखराबाट अन्तिम ओभर प्रतिश जिसीले बलिङ गरेका थिए । १९.१ ओभरमा प्रतिशले अनिल शाहलाई अमिर हम्जाबाट क्याचआउट गराए । त्यसपछि लगातार दुई बलमा लुम्बिनीले रन लिन सकेनन् । इनिङ्सको १९.४ ओभरमा किशोर महतोले एक रन लिँदै स्याड्ली भानलाई स्ट्राइक दिए । स्याड्ली भानले १९.२ ओभरमा दुई रन लिए । इनिङ्सको अन्तिम बलमा पाँच रन चाहिएको अवस्थामा स्याड्लीले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाउन सफल भए । म्यान अफ दी म्याच स्याड्ली भानले ११ बलमा चार छक्का प्रहार गरी सर्वाधिक ३१ रनको योगदान दिए । 

 लुम्बिनीको कमजोर सुरुवात
सहज लक्ष्य पछ्याएको लुम्बिनीको सुरुवात गतिलो भएन । इनिङ्सको १.३ ओभरमा लुम्बिनीले लाहिरू मिलान्थलाई एक रनमा गुमाएको थियो । त्यसपछि ओपनर उन्मुक्त चन्द र कुशल भुर्तेलबीच दोस्रो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो । क्रिजमा सेट हुन लागेका ब्याट्सम्यान कुशललाई विपिन खत्रीले एलबिडब्लूको धरापमा राखे । कुशलले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरी ३९ रनको योगदान दिए । मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा लुम्बिनीले आवश्यक रन पूरा गर्न संघर्ष गर्‍यो । ओपनर चन्दलाई गुमाउँदा लुम्बिनी ७५–५ को स्थितिमा पुग्यो । उनले ३४ बलमा एक चौकाको सहयोगमा २२ रनको योगदान दिए । 

 पुछारका ब्याट्सम्यानले सम्हाले 
एक समय कमजोर अवस्थामा पुगेको लुम्बिनीलाई छैटौँ, सातौँ र आठौँ क्रमका ब्याट्सम्यानले सम्हाले । उनीहरूकै उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले लगातार तेस्रो खेलमा जित निकाल्न सफल भयो । अनिल शाह र गुलसन झाले छैटौँ विकेटका लागि १६ रनको साझेदारी गरे । गुलसनले ११ बलमा समान एक छक्का प्रहार गरी १० रन बनाए । इनिङ्सको अन्तिम ओभरमा विकेट गुमाएका अनिलले १८ बलमा समान एक चौका र छक्का प्रहार गरी १९ रनको योगदान दिएका थिए । अनिल र स्याड्लीबीच सातौँ विकेटका लागि ३५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । बलिङका क्रममा पोखराका लागि विपिन र कुशल मल्लले समान दुई विकेट लिए । 

 कुशलको अर्धशतक
पोखराको कमजोर ब्याटिङ इनिङ्समा केवल दुई ब्याट्सम्यानले मात्र उत्कृष्ट प्रदर्शन गर्न सफल भए । श्रीलंकाली खेलाडी उपल थरंगा र नेपालका कुशलबीच तेस्रो विकेटका लागि ९६ रनको महत्वपूर्ण साझेदारी हुँदा पोखराले लुम्बिनीसमक्ष चुनौतीपूर्ण योगफल खडा गरेको हो ।

पोखराले ओपनरद्वय अमिर हज्मा (४) र आसिफ शेख (६) लाई गुमाउँदा स्कोरबोर्डमा २० रन मात्र चढाएको थियो । त्यसपछि उपल र कुशलले इनिङ्स सम्हाले । उपललाई इनिङ्सको १७.४ ओभरमा किशोरले आउट पारे । उपलले ५१ बलमा दुई चौका र एक छक्का प्रहार गरी ४२ रनको योगदान दिए । 

उपल आउट भएलगत्तै कुशलले पनि आफ्नो विकेट गुमाए । स्याड्ली भानले कुशलको विकेट लिएका हुन् । कुशलले ३१ बलमा समान पाँच चौका र छक्का प्रहार गरी ६१ रनको योगदान दिए । पोखराका आठ ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । तीनजना ब्याट्सम्यान डकआउट भएका थिए । बलिङका क्रममा स्याड्ली भानले २७ रन खर्चेर तीन विकेट लिए । किशोर र गुलसनले समान दुई विकेट हात पारे ।

 काठमाडौं ५३ रनले विजयी
प्रतियोगिताअन्तर्गत आठौँ खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ५३ रनले हराएको छ । जितसँगै काठमाडौं चार अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । तेस्रो खेलमा पहिलो हारको सामना गरेको जनकपुर चार अंकका साथ तेस्रो स्थानमा झर्‍यो । रनरेटमा काठमाडौं जनकपुरभन्दा माथि रहेको छ । काठमाडौंले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर दुई सय आठ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा जनकपुरले २० ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन मात्र जोड्यो । 

एलेक्स ब्ल्याकले विस्फोटक ब्याटिङ गर्दा काठमाडौंले जनकपुरलाई दुई सयमाथिको लक्ष्य दिएको हो । एक्लेक्सले ४३ बलमा सात छक्का र चार चौकाको सहयोगमा ८३ रनको योगदान दिए । यसैगरी, विरन्दिप सिंहले ३४ बलमा सात चौका र एक छक्का प्रहार गरी ४९ रन बनाए । सातौँ क्रममा ओमाजीले १५ बलमा चार छक्का र एक चौका प्रहार गरी ४३ रन जोडे ।