मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ पौष १२ मंगलबार १२:४६:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेसमा सरकार बनाउन जसपा वा जनमतको साथ खोज्दै कांग्रेस

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ पौष १२ मंगलबार १२:४६:००

केन्द्रमा सातदलीय नयाँ समीकरण बनेसँगै नेपाली कांग्रेस संघदेखि प्रदेशसम्मै सरकार निर्माणको प्रक्रियाबाट बाहिरिएको छ। यद्यपि, मधेस प्रदेशमा केही अंकगणितीय सम्भावना बाँकी देखेको कांग्रेसले सरकार निर्माणका लागि जसपा वा जनमतमध्ये कुनै एक पार्टीको साथ खोजेको छ। त्यसका लागि कांग्रेसले सहयोग गर्ने दललाई मुख्यमन्त्रीको अफर दिएको बुझिएको छ।

मधेस प्रदेश सरकार निर्माणमा निर्णायक मानिएको जनमत पार्टीलाई मुख्यमन्त्री दिएर कांग्रेसले प्रदेश सरकार निर्माणको प्रस्ताव गरेको बताइएको छ। नयाँ सातदलीय गठबन्धनमा सहभागी भएकाे जनमतले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आएको छ। तर, नयाँ गठबन्धनमा जसपा सहभागी भएपछि जनमतले प्रदेश सरकारको नेतृत्व पाउने सम्भावना नरहेको आकलनसहित कांग्रेसले प्रदेशमा गठबन्धन फुटाउन जनमतलाई मुख्यमन्त्रीको अफर गरेको कांग्रेसका एक नेताले बताए।

जनमत पार्टीका प्रवक्ता तथा केन्द्रीय सदस्य बिपी साहले पनि यो विषयको पुष्टि गरेका छन्। कांग्रेसबाट मुख्यमन्त्रीको अफर आएको स्विकार्दै उनले भने, ‘यो विषयमा पार्टीले कुनै निर्णय गरेको छैन। मधेसमा हामीले मुख्यमन्त्री दाबी गरेका छौँ। तर, यस विषयमा अहिलेसम्म गठबन्धनभित्र छलफल भएको छैन। त्यसकारण अहिले नै मुख्यमन्त्री पाउँछौँ कि पाउँदैनौँ भन्ने यकिन छैन। गठबन्धनमा सहभागी भएपछि दलीय सहमतिले नै प्रदेश सरकार गठबन्धनको बाटो खुल्छ।’

स्रोतका अनुसार जनमतले संघमा कम्तीमा दुई मन्त्री र एक राज्यमन्त्री, मधेसमा मुख्यमन्त्री वा दुई मन्त्री र दुई राज्यमन्त्री तथा लुम्बिनी प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्री माग गरेको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तारूढ गठबन्धन दलका घटकहरू जनमतको सबै माग पूरा गर्ने पक्षमा नदेखिएको नेकपा एमालेका एक नेताले बताए। ‘मधेस प्रदेशमा जसपालाई मुख्यमन्त्री दिने लगभग निश्चित छ। यस्तोमा जनमतलाई दिँदा जसपा गठबन्धनबाट अलग भएको खण्डमा मधेसमा हाम्रो गठबन्धनको सरकार नै बन्दैन,’ उनले भने।

यस्तोमा जनमत पार्टी सातदलीय गठबन्धनबाट बाहिर भए कांग्रेस मधेसमा सरकार बनाउने दाउमा छ। कांग्रेसका मधेस प्रदेशका सभापति कृष्णा यादवले भने, ‘सत्तारूढ गठबन्धनमा अझै सबै कुरा मिलेको छैन। यस्तोमा गठबन्धनबाट जसपा वा जनमतमध्ये कुनै दल अलग भएपछि कांग्रेस सरकार निर्माणका लागि पहल गर्छ।’ मधेसमा सत्तारूढ गठबन्धन दलको सरकार नबनेसम्म कांग्रेस सरकार बनाउन प्रयासरत रहने सभापति यादवले बताए। 

यता, जनमत पार्टीले कांग्रेसको अफर स्वीकार गरे प्रदेशमा सरकार बनाउन जनमतलाई तीन सिट अपुग हुन्छ। सरकार गठनका लागि मधेसमा ५४ सिट आवश्यक हुन्छ। तर, कांग्रेससँग आफ्नो २२ सहित जनमत १३, लोसपा नाै, एकीकृत समाजवादी सात गरी ५१ सिट मात्रै पुग्छ। जनमतको सट्टा १६ सिट भएको जसपा गठबन्धनबाट अलग भए कांग्रेसलाई मधेसमा सरकार गठन थप सहज हुनेछ।

तर, जनमत सातदलीय गठबन्धनबाट बाहिर भएको खण्डमा भने एमालेसहितको गठबन्धनले स्वतन्त्र सांसदहरूको सहयोगमा सरकार बनाउने सम्भावना भने कायमै रहन्छ। अहिले प्रदेश सभामा जनमतसहितको सातदलीय गठबन्धनको ६२ सिट पुग्छ। जनमत गठबन्धनबाट आउट भए एमालेसहितको गठबन्धनसँग ४९ सिट मात्रै हुन्छ। यस्तोमा एक सिट रहेको नेपाल संघीय समाजवादी र पाँच स्वतन्त्र उम्मेदवारको समर्थन आवश्यक पर्नेछ।