मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस चितवन
२०७९ पौष ११ सोमबार १३:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेरुजु फर्स्याेट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

Read Time : < 1 मिनेट
रासस, चितवन
२०७९ पौष ११ सोमबार १३:२७:००

चितवनको कालिका नगरपालिकाले बेरुजु फर्स्याेट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ। बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरूप तलब रोक्का गर्न थालिएको हो। 

नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कात्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो। यो संख्या मंसिरमा २५ पुगेको छ। १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोकिएको छ। सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको उनले बताए।

विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए। नगरपालिकाभित्र विगतदेखि हालसम्मको रु. १६ करोडभन्दा बढी बेरुजु रहेको छ। सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा बेरुजु रहेको रेग्मीले जानकारी दिए। 

नगरपालिकाले विद्यालयमा हरेक महिना तलब पठाउने गर्दछ। सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको उनी बताउँछन्। यससँगै नगरपालिकाले प्रधानाध्यापक र लेखा प्रमुखका लागि दुईदिने लेखासम्बन्धी तालिमसमेत दिएको छ।

प्रमुख रेग्मीले भने, ‘अब बेरुजु हुन दिँदैनौँ। पहिलेको पनि उठाउँछौँ।’ तलब रोकिएपछि शिक्षकका संघ–संगठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ। उनले थपे, ‘हामी कोहीप्रति पूर्वाग्रही छैनौँ। बेरुजु शून्य बनाउने हाम्रो अभियान हो।’ कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएकोसमेत पाइएको छ।