१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. शेखर कोइराला
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ११ सोमबार ०७:२४:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेसले गठबन्धनमा धेरै जोड गर्‍यो, दुर्भाग्यवश प्रचण्डजीले तोडेर जानुभयो 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ११ सोमबार ०७:२४:००

अन्तर्वार्ता

कांग्रेसको हातबाट सरकारको नेतृत्व फुत्कियो । पहिलो पार्टी प्रतिपक्षमा बस्ने अवस्था आयो । सरकार गठनमा आएको फेरबदललाई कसरी हेर्नुभएको छ ?
मैले त चुनावअघि नै पटकपटक भन्दै आएको हो, निर्वाचनपछि गठबन्धन गरौँ भनेर । हाम्रो सिद्धान्त, विचार कम्युुनिस्टसँग नमिल्ने भएकाले त्यसो भनेको थिएँ । तर, गठबन्धन गरेर जाँदा सिट पनि धेरै ल्याउने र कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भन्ने अधिकांश साथीको धारणाअनुसार नै पार्टीले निर्णय गरेपछि हामी पनि मानेर हिँड्यौँ । दुर्भाग्यवश आज प्रचण्डजीले कांग्रेसलाई धोका दिएर गठबन्धन तोडेर जानुभयो । प्रचण्डजीलाई केको हतारो थियो, भोलि इतिहासमा लेखिएला । अब कांग्रेसले यसलाई मानसपटलमा राखेर आफूलाई मजबुद बनाएर आफ्नै खुट्टामा उभिनुको विकल्प छैन । कसैको बैसाखी टेकेर, कसैको सहारा लिएर गठबन्धन गरेर निर्वाचनमा जानुहुँदैन । 

यसलाई प्रचण्डको धोका मात्रै मान्ने कि कांग्रेस नेतृत्वको असफलता पनि ?
प्रचण्डजी र शेरबहादुरजीबीच के छलफल भयो, हामीलाई थाहा हुने कुरा भएन । पार्टीमा पनि यसबारे छलफल भएको थिएन । कांग्रेस कार्यसम्पादन समिति बैठकमा पहिलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेका थियौँ । यसमा कांग्रेसका वरिष्ठ साथीहरू बसेर छलफल पनि गर्नुभयो होला । सभापतिजीले पनि छलफलका लागि जिम्मा दिनुभयो होला । उहाँहरूले के गर्नुभयो अहिले नै थाहा हुने कुरा भएन, केही दिनमा बाहिर आउला । पार्टीको केन्द्रीय समितिमा पनि यसबारे छलफल हुनेछ । यसमा हामीहरूको पनि कमजोरी नभएको होइन, तर प्रचण्डजीले गलत गर्नुभयो । त्यसमा कुनै दुईमत छैन ।

कसरी भत्कियो गठबन्धन नेतृत्वमा सरकार बन्ने सम्भावना ?
कांग्रेसका सबै साथीले भेट्न जाँदा प्रचण्डजीले पहिला प्रधानमन्त्री म नै लिन्छु भनिरहनुभएको थियो । त्यसलाई हाम्रा साथीहरूले सिरियस्ली लिएनन् कि भन्ने प्रश्न ममा छ । म संवाद गर्ने टिममा नभएकाले मलाई यसबारे जानकारी छैन । उहाँले पहिलेदेखि नै प्रधानमन्त्री पहिला म नै लिन्छु भनिरहनुभएको थियो । उहाँहरूबीचमा त्यस्तो केही सहमति थियो–थिएन मलाई थाहा भएन । राजनीतिमा लिखित हुँदैमा त्यसले अर्थ राख्दैन । राजनीति नैतिकता, संस्कार र विश्वासमा हुने कुरा हो । विश्वास नै गुमाइसकेपछि के लाग्यो र ? पार्टीभित्रको पनि कमजोरी छ, हामीले नसक्नु पनि त कमजोरी हो । हामीले त कार्यसम्पादन समिति बैठक बसेर कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । नेतृत्वलाई मात्रै पनि दोष दिने कुरा छैन । नेतृत्वबाहेकका त्यो टिममा रहेका साथीहरू पनि यसको जिम्मेवार हुनुपर्छ । उहाँहरूले पनि त गर्न सक्नुभएन । 

पहिलो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नहुने पार्टीभित्रको दबाबले अन्ततः सबै गुमाएको भन्ने सत्य हो ? 
यो पाँच वर्षमा हामीले सेरेमोनियल राष्ट्रपति भन्यौँ, तर संवैधानिक राष्ट्रपति अर्थात् संविधानभित्रको राष्ट्रपति हो । तर, कतिपय अवस्थामा राष्ट्रपतिले संविधानविपरीतका कामहरू गर्नुभयो । त्यसैले अहिले राष्ट्रपतिको पद महत्वपूर्ण छ भन्ने स्विकारेका छौँ । सभामुख पनि त्यत्तिकै महत्वपूर्ण छ । प्रधानमन्त्री त कार्यकारी पद हो । कांग्रेसका अधिकांश साथीको भनाइ प्रधानमन्त्री र राष्ट्रपति लिनुपर्छ भन्ने नै थियो । तर, हामीले माओवादीलाई राष्ट्रपति लिनुहोस्, प्रधानमन्त्री हामीलाई छाड्नुहोस् भनेको भए पनि प्रचण्डजीले नमान्ने अवस्था थियो । त्यो तपाईंहरूले पनि देख्नुभयो । उहाँले प्रधानमन्त्री नै खोज्नुभएको थियो । कांग्रेसले प्रधानमन्त्री माओवादीलाई छाडेर गठबन्धन जोगाउन सक्थ्यो कि भन्ने कुरा पनि नचलेको होइन । तर, मूर्तरूपमा काम हुन सकेन । तर, यो जे भएको छ, ठीक भएको छ । जे हुँदै छ ठीक हुँदै छ भन्ने गीताको श्लोकजस्तो भएको छ । कांग्रेस कमजोर छैन, संगठनलाई बलियो बनाइयो भने पाँच वर्ष भनेको राजनीतिमा कुनै ठूलो अवधि होइन । 

नेतृत्वको राजीनामा र विशेष महाधिवेशनको आवाज पनि उठ्न थालेको छ, यसको समीक्षा हुन्छ ? के गर्नुहुन्छ ?
समीक्षा गर्छौँ । आवाज नउठाउने भन्ने हुँदैन । यसमा हामीले गम्भीर ढंगले समीक्षा गर्न किन जरुरी छ भने हामीले सिद्धान्त नमिल्ने पार्टीहरूसँग पनि गठबन्धन गर्दै जाने र सिट छाड्दै जाने हो भने कांग्रेस संगठन र वैचारिक रूपमा पनि कमजोर हुन्छ । राजीनामा र विशेष महाधिवेशनको विषयमा म अहिले केही पनि बोल्दिनँ ।

अब प्रतिपक्षमा पुगेको कांग्रेसको राजनीति के हुन्छ ?

कांग्रेस संसद्मा पहिलो पार्टी छ । हामी गलत कुराविरुद्ध संसद् र सडकमा आवाज उठाउँछौँ ।

पहिलो पार्टीले त जनमतको आधारमा पनि सरकारको नेतृत्व गर्नुपर्ने थियो । गठबन्धन नमिलेको अवस्थामा एमालेसँगै मिलेर भए पनि सरकार बनाउने प्रयत्न गर्नुपर्थेन र ?
यो विषयमा पनि कुरा त भएको होला । हामीले पनि एमालेका साथीहरू र शीर्ष नेताहरूसँग छलफल गरेका हाँै । गठबन्धनलाई नै धेरै जोड गर्नु हाम्रो कमजोरी भयो । गठबन्धनमै जोड गर्नु स्वाभाविक पनि हो, तर केही कुरा प्रचण्डजीले स्वीकार गर्नुभएन । गठबन्धनमा तलमाथि भए पनि तोडेरै अर्को पार्टीसँग सरकार बनाउन लाग्नुहुन्छ भनेर हाम्रा साथीहरूले सोच्नुभएको थिएन होला । तर, मलाई भने असम्भव लागेको थिएन । यो हुन सक्छ भन्नेमा मेरो ध्यान गएको थियो । नेतृत्वसँग यस विषयमा मैले कुराकानी पनि गरेको हो । 

गठबन्धन भत्किँदा कांग्रेसलाई राजनीतिक रूपमा के हानि र के फाइदा भयो ? 
साथीहरूलाई लागिरहेको होला– सरकार नबन्दा हामीले सबै कुरा गुमायौँ । साथीहरूलाई प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, संवैधानिक निकायका पदाधिकारी, मुख्यमन्त्री गुमायौँ भन्ने लागेको होला । तर, पाँच वर्षअघिको कांग्रेसलाई हेरौँ न, केही पनि थिएन, तर कांग्रेस त बाँचेकै थियो त । हाम्रो संगठन बाँचेको थियो, सिद्धान्त थियो । राष्ट्रियता, प्रजातन्त्र, समाजवादका सवाललाई हामीले जनतामा लिएर जान सक्नुपर्छ । त्यसबाहेक पनि दण्डहीनता बढेको छ । सुशासन, भ्रष्टाचारका कुरालाई हामीले जनतामा लिएर जानुपर्छ । यसरी जान सक्याँै भने पाँच वर्ष भनेको राजनीतिक पार्टीका लागि धेरै होइन । साथीहरू आत्तिहाल्नुपर्ने अवस्था पनि छैन । सरकारको गुण र दोषका आधारमा निरन्तर सदन र सरकारमा खबरदारी गर्‍यौँ र जनतालाई बुझ्न सक्यौँ भने कांग्रेस मर्दैन । सधैँ कांग्रेसको भविष्य छ । कांग्रेस पहिला पनि धेरैपटक प्रतिपक्षमा बसेको छ । तर, संगठन बलियो बनाएर जितेकै थियौँ, बाँचेकै थियौँ ।