१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ८ शुक्रबार १५:३३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चन्द भन्छन्- नेपाली क्रिकेट ध्वस्त पार्न ‘तत्व’ सक्रिय छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ८ शुक्रबार १५:३३:००

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ। शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो। 

प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले पाँच लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ। 

प्रतियोगिताको प्लेयर अफ दी सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउने क्यानले जनाएको छ।  इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउनेछन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिबारबाट सुरु हुनेछ। पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टी–२० को आयोजना गरिएकाले लिग पूर्ण रूपमा सफल हुने बताए। 

उनले दक्षिण एसियाका देशहरूले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको पनि बताए। उनले  व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु दिनु नहुने बताए। 

उनले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेकाले त्यसलाई सफल बन्न दिनु नहुने बताए। अध्यक्ष चन्दले दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो कुरा क्रिकेट संघ चलाउन छ भन्ने  कुरा आफूले अनुभव गरिरहेको बताए। 
 
नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहनेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइटबीच प्रतिपर्स्धा हुनेछ भने शनिबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।