Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कलंकी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिछ्याइँदै । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ८ शुक्रबार ०९:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी साउनदेखि मात्र नयाँ पाइपलाइनबाट आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ८ शुक्रबार ०९:३६:००

कलंकी, धुम्बाराही, कपन र मण्डिखाटार क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी

दैनिक रूपमा मेलम्चीको पानी चुहावट बढे पनि नयाँ पाइपलाइनबाट भने साउनदेखि मात्र पानी आउने भएको छ । हाल नयाँ पाइपलाइन विस्तार र परीक्षणको काम भइरहेकाले पुरानै वितरण प्रणालीबाट पानी वितरण भइरहेको हो ।

केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार नयाँ वितरण प्रणालीअन्तर्गत करिब ६ सय किलोमिटर पाइपलाइनमा मात्र परीक्षण भएको छ । चार सय किलोमिटर पाइपलाइनको परीक्षण बाँकी नै छ । पिआइडीका अनुसार मेलम्चीको पानी काठमाडौं आएपछि हाल १० किलोमिटर थप पाइपलाइनको परीक्षण भएको छ । 

‘असारसम्म नयाँ पाइपलाइनको विस्तार र परीक्षण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । असारसम्म परीक्षणको काम सकिए साउनदेखि नयाँ पाइपलाइनबाट पानी वितरण हुनेछ,’ पिआइडीका निर्देशक राजेन्द्र सापकोटाले भने, ‘चक्रपथभित्रकै ६ सय किलोमिटर पाइपलाइनको मात्र परीक्षण भएको छ । मेलम्चीको पानी आए पनि बल्ल १० किलोमिटर पाइपलाइन परीक्षण गरेका छौँ ।’ 

कलंकी, धुम्बाराही, कपन र मण्डिखाटार क्षेत्रमा पाइपलाइन बिछ्याइँदै

उनका अनुसार कलंकी, धुम्बाराही, कपन र मण्डिखाटार क्षेत्रमा पाइपलाइन बिछ्याउने काम नै भइरहेको छ । ‘जतिसक्दो छिटो नयाँ पाइपलाइनबाट पानी विरतणका लागि काम गरिरहेका छौँ । तर, लिकेजका समस्या, कहिले ढलको काम, कहिले केबललगायतका काम समन्वयविना हुँदा समस्या भइरहेको छ,’ सापकोटाले भने । 

०७८ चैतमा पानी आउनुअघि जम्मा सय किलोमिटर नयाँ वितरण लाइनमा ट्यांकरको पानी हालेर परीक्षण गरिएको थियो । करिब एक हजार एक सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको थियो । उनका अनुसार नयाँ प्रणालीमा जोडिएका एक लाख १० हजार घरधुरीलाई छिटै पानी पुर्‍याउन व्यवस्था हुनेछ ।

अनामनगर र ललितपुरका केही स्थानबाहेक अझै पनि सबै ठाउँमा पुरानै वितरण लाइनबाट पानी आइरहेको छ । जसकारण नयाँ प्रणालीबाट वितरण सुरु नगरेसम्म उपत्यकाका सबै ठाउँमा मेलम्चीको पानी नआउने केयुकेएलले जनाएको छ ।