मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ललितपुरको पुल्चोकमा पाइप फुटेर सडकमा बगेको मेलम्चीको पानी । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२०७९ पौष ८ शुक्रबार ०६:०७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मेलम्चीको पानी साढे तीन सय ठाउँमा चुहावट

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ पौष ८ शुक्रबार ०६:०७:००

एउटै सडक क्षेत्रमा १० भन्दा धेरै ठाउँमा चुहावट, ९० स्थानमा मर्मत भइसकेको केयुकेएलको दाबी

काठमाडौंका न्युरोड, सोह्रखुट्टे, नरदेवी, पकनाजोल, लाजिम्पाट, लैनचौर, रत्नपार्क, अनामनगर, बानेश्वर, थापागाउँ, सिंहदरबार तथा ललितपुरका सातदोबाटो, लगनखेल, कुमारीपाटी, एकान्तकुना, पुल्चोक, जाउलाखेललगायत सडकखण्डमा चुहावट भएको छ । केयुकेएलले हाल खुमलटार, मीनभवन, अनामनगर, बाँसबारी, महाँकालचौर, महाराजगन्ज र बालाजुको पानीपोखरीबाट पानी वितरण गरिरहेको छ । कीर्तिपुरको पानीपोखरीबाहेक अन्य ठाउँबाट वितरण भएको हो । केयुकेएलका अनुसार बल्खु चोकमा मर्मतको काम भइरहेकाले कीर्तिपुर ट्यांकीबाट खानेपानी वितरण हुन अझै केही दिन लाग्नेछ । 

पुरानै वितरण प्रणालीबाट घरका धारामा छाडिएको मेलम्चीको पानी १३ दिनमा साढे तीन सय ठाउँमा चुहावट भएको छ । ठाउँ–ठाउँमा भएको चुहावटले उपत्यकाका कैयौँ सडक तथा फुटपाथ जलमग्न भएका छन् । वर्षाबाट आयोजनामा क्षति हुन नदिन जेठको अन्तिम सातादेखि मुहानमै बन्द गरिएको मेलम्चीको पानी २३ मंसिरदेखि पुरानै प्राणालीबाट उपत्यकाका धारामा छाड्न सुरु गरिएकामा पाइप तथा जडान फुटेर चुहावट भएको हो । २९ मंसिरदेखि पूरै क्षमतामा १७ करोड लिटर नै आउन थालेपछि क्षति झन् बढेको छ । एउटै सडक क्षेत्रमा १० भन्दा धेरै ठाउँमा चुहावट भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले साढे तीन सयजति ठाउँमा चुहावट भएकोमा ९० ठाउँमा मर्मत भइसकेको जनाएको छ । ‘अहिले समस्या बढ्नु स्वाभाविक हो । हाम्रो पुरानो वितरण प्रणालीमै पानी थपिँदा भोलुम बढ्यो । पाइपमा पनि प्रेसर बढ्यो । यी कारणले गर्दा केही ठाउँमा पानी लिक त भइहाल्छ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘चुहावट देखिएसँगै हामीले अनुगमन गरिरहेका छौँ । करिब ९० ठाउँको चुहावट मर्मत गरिसकेका छौँ ।’ राईले चुहावट भएको देखिएमा शाखा कार्यालयमा जानकारी गराई सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । 

सुरुवाती दिनमा दैनिक तालिकाविना नै पानी वितरण गरिरहेको केयुकेएलले हाल दैनिक रूपमा पानी वितरण हुने तालिका पनि सार्वजनिक गरेको छ । हाल मेलम्चीको पानी तीन दिनको अन्तरमा वितरण भइरहेको छ । 

साउनदेखि मात्र नयाँ पाइपलाइनबाट पानी 
दैनिक रूपमा मेलम्चीको पानी चुहावट बढे पनि नयाँ पाइपलाइनबाट भने साउनदेखि मात्र पानी आउने भएको छ । हाल नयाँ पाइपलाइन विस्तार र परीक्षणको काम भइरहेकाले पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको हो । केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार नयाँ वितरण प्रणालीअन्तर्गत करिब ६ सय किलोमिटर पाइपलाइनमा मात्र परीक्षण भएको छ । चार सय किलोमिटर पाइपलाइनको परीक्षण बाँकी नै छ । पिआइडीका अनुसार मेलम्चीको पानी काठमाडौं आएपछि हाल १० किलोमिटर थप पाइपलाइनको परीक्षण भएको छ । 

‘असारसम्म नयाँ पाइपलाइनको विस्तार र परीक्षण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । असारसम्म परीक्षणको काम सकिए साउनदेखि नयाँ पाइपलाइनबाट पानी वितरण हुनेछ,’ पिआइडीका निर्देशक राजेन्द्र सापकोटाले भने, ‘चक्रपथभित्रकै ६ सय किलोमिटर पाइपलाइनको मात्र परीक्षण भएको छ । मेलम्चीको पानी आए पनि बल्ल १० किलोमिटर पाइपलाइन परीक्षण गरेका छौँ ।’ 

उनका अनुसार कलंकी, धुम्बाराही, कपन र मण्डिखाटार क्षेत्रमा पाइपलाइन बिछ्याउने काम नै भइरहेको छ । ‘जतिसक्दो छिटो नयाँ पाइपलाइनबाट पानी विरतणका लागि काम गरिरहेका छौँ । तर, लिकेजका समस्या, कहिले ढलको काम, कहिले केबललगायतका काम समन्वयविना हुँदा समस्या भइरहेको छ,’ सापकोटाले भने । 

०७८ चैतमा पानी आउनुअघि जम्मा सय किलोमिटर नयाँ वितरण लाइनमा ट्यांकरको पानी हालेर परीक्षण गरिएको थियो । करिब एक हजार एक सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको थियो । उनका अनुसार नयाँ प्रणालीमा जोडिएका एक लाख १० हजार घरधुरीलाई छिटै पानी पुर्‍याउन व्यवस्था हुनेछ । अनामनगर र ललितपुरका केही स्थानबाहेक अझै पनि सबै ठाउँमा पुरानै वितरण लाइनबाट पानी आइरहेको छ । जसकारण नयाँ प्रणालीबाट वितरण सुरु नगरेसम्म उपत्यकाका सबै ठाउँमा मेलम्चीको पानी नआउने केयुकेएलले जनाएको छ ।