१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ पौष ७ बिहीबार १८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाँदबारीका अवैध संरचनामाथि चल्यो डोजर 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ पौष ७ बिहीबार १८:०३:००

संखुवासभाको सदरमुकाम खाँदबारीमा बनाइएका अवैध संरचना भत्काउन थालिएको छ।

बिहीबार बिहानैदेखि सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिका–१ स्थित बसपार्क वरपर अनधिकृत घरटहराहरू डोजर लगाएर भत्काउन थालिएको हो। 

खाँदबारी १ नम्बर वडा कार्यालयले यसअघि नै ७ दिने सूचना निकालेर वडाभित्रका अनधिकृत र अवैध संरचनाहरू हटाउने अनुरोध गरे पनि हटेर गरेकाले बलपूर्वक डोजर लगाएर भत्काउन थालिएको १ नम्बर वडाध्यक्ष तथा कार्यबाहक मेयर निरन्जन श्रेष्ठले बताए। 

उनले पटक–पटकको सूचना बेवास्ता गर्ने गरेकाले बल प्रयोग गरी संरचनाहरू हटाउने काम सुरु गरिएको बताए। सार्वजनिक जग्गाको संरक्षण गर्ने र अनधिकृत संरचनाहरू बनाउने क्रम ह्वात्तै बढेपछि आफैँ अगाडि बढेर भत्काउनुपरेको श्रेष्ठको भनाइ छ। 

बसपार्क र टुँडिखेल बजारसमेत नजिकै रहेको सो क्षेत्रमा खाँदबारीको नै व्यस्त क्षेत्र हो। यहाँ अनधिकृत रूपमा गाडी काउन्टर र घरहरू बनाउने क्रम बढ्दै गएपछि सार्वजनिक जग्गा खुम्चिँदै गएको थियो। 

श्रेष्ठ आफैँ मैदानमा खटिएर डोजर चलाउन थालेपछि धेरैले प्रशंसा गरेका छन्। काठमाडौंमा अनधिकृत संरचनाहरू भत्काउन थालेपछि बालेन्द्र साहको हाई–हाई भएपछि ढिलै भए पनि श्रेष्ठ पनि मैदानमा उत्रिएका छन्।

खाँदबारी नगरपालिकाले सरकारी जग्गाहरूको संरक्षण गर्नुपर्नेमा बुद्धिजीवीहरूले सुझाब दिएका छन्। स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरी समृद्ध नगरपालिका बनाउने काममा अग्रसर हुनुपर्ने उनीहरूको भनाइ छ। 

खाँदबारी नगरपालिकाभित्रका धेरै सार्वजनिक जग्गा जमिन मिचिएको पटक–पटक आवाज उठ्ने गरेको छ। धारा, कुवा र सार्वजनिक चौतारो र धर्मशालाहरू मिचेर मानिसहरूले घरघडेरी बिक्री वितरण र बनाउने गरेको आवाज उठ्ने गरेको छ। 

तस्बिर : नवीन गुरुङ/ नयाँ पत्रिका